‘चार दल इमानदार भएनन्, जसका विरुद्ध गठबन्धन थियो उसैसँग घाँटी जोडे’ – Nepal Press
नेपाल टक

‘चार दल इमानदार भएनन्, जसका विरुद्ध गठबन्धन थियो उसैसँग घाँटी जोडे’

चित्रबहादुर केसी भन्छन्- संघीयता भालुको कम्पट भइसक्यो, विश्व बैंकको ऋणमा चलाएर हुन्छ ?

कैलाली । स्थानीय तह निर्वाचनअन्तर्गत अब थोरै पालिकाको नतिजा आउँन बाँकी छ । सत्तारुढ दलका नेताले चुनावी परिणामप्रति सन्तुष्टि जनाउँदै प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पनि गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिन थालिसकेका छन् ।

एमालेविरुद्ध गठबन्धनमा मध्ये नेपाली कांग्रेस उत्साहित देखिएको छ। माओवादी सन्तुष्ट छ भने सोचेजस्तो परिणाम नआउँदा नेकपा एस निरास छ । राष्ट्रिय जनमोर्चाले गठबन्धन उपलब्धिमूलक रहेको बताए पनि धेरै ठाउँमा इमान्दारिता नभएको गुनासो गरेको छ ।

कमजोर देखिएको राष्ट्रिय जनमोर्चाले प्रतिगमनविरुद्धको लडाइँमा गठबन्धनलाई साथ दिएको बताएको छ । यो गठबन्धन प्रदेशसभा र प्रतिनिधि सभा सम्म पुर्‍याउनु पर्ने आवश्यकता देख्छन् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि । तर, गठबन्धनमा रहेका दलहरूबाटै साझा उम्मेदवारहरूलाई हराउने काम भएको उनको टिप्पणी छ ।

प्रस्तुत छ स्थानीय तह निर्वाचनपछिको अवस्था, गठबन्धनको आगामी रणनीति र राष्ट्रिय जनमोर्चाको भूमिकाबारे अध्यक्ष केसीसँग गरिएको कुराकानी नेपाल टकमा :-

– स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रममै छ । यो परिणामलाई तपाईंहरूले कसरी लिनुभएको छ ?

तुलनात्मक रूपमा गठबन्धनले प्रगति गरेको छ । तर, गठबन्धनमा समेत रहेका दलहरूले धेरै ठाउँमा इमान्दारिता देखाएनन् । गठबन्धन गरेर गइसकेपछि निर्णय भएका कुराहरूलाई कार्यान्वयन गर्न पनि उनीहरूले आनाकानी गरे ।

जसका विरुद्ध लड्नलाई गठबन्धन बनेको हो । उसैसँग कतिपय ठाउँमा चुनावी तालमेल गरे । गठबन्धन भित्रका कतिपय दलहरूले त्यस्तो गरे ।

– कुन दलले त्यस्तो गरे त ?

कांग्रेस, माओवादीले गरे । प्रतिगमनका विरुद्धमा गठबन्धन गर्ने अनि जित्ने भएपछि त्यो प्रतिगमनसँग पनि गठबन्धन गर्ने यस्तो काम कांग्रेसले पनि गर्‍यो । माओवादीले पनि गर्‍यो । समाजवादीले पनि गर्‍यो ।

जित्नको लागि जसका विरुद्धमा गठबन्धन गरिएको थियो त्यसको प्रवाह भएन । त्यसैसँग तालमेल गरे । त्यो कुरा कडाइका साथ राष्ट्रिय जनमोर्चाले पालना गर्‍यो । अरू चार दलले गरेनन् ।

– गठबन्धनमा राष्ट्रिय जनमोर्चा मात्रै इमानदार अरू बेइमान भन्न खोज्नु भएको ?

बेइमानभन्दा पनि कमजोरी गरे । मूलरूपमा गठबन्धन सफल भयो । तर, कतिपय ठाउँमा जित्नका लागि जसका विरुद्ध गठबन्धन भएको थियो त्योसँग पनि सामेल भए । त्यो कमजोरी भयो ।

– कतिपय पालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई साझा उम्मेदवार मान्न पनि तयार देखिएन नि ?

त्यही त बदमासी हो नि । भदौमा खोलेको पार्टीले पाउनी । हामीलाई दिन तयार नहुनी । त्यो त बदमासी हो नि । होचो अग्लो मिलाउनलाई गठबन्धन भएको हो । असम्भव भएको ठाउँमा राष्ट्रिय जनमोर्चाले माग गर्ने कुरा भएन । २०७४ सालको चुनावको आधारमा जहाँ सम्भावना थियो त्यहाँ हो गठबन्धन गर्न खोजेको ।

एउटा सिंहदरबार चलाउन कठिन भइरहेको छ अनि सात-सात वटा प्रदेश विश्व बैंकबाट ऋण लिएर चलाएर हुन्छ ? आठ-आठ ठाउँमा संसद, आठ-आठ ठाउँमा सरकार, आठ-आठ ठाउँमा संयन्त्र चलाउन सक्नु हुन्छ ? देश जोगाउने हो भने संघीयता खारेज गर्नुपर्छ ।

– के सहमति गर्दा ७५३ स्थानीय तहमै तपाइको दललाई पनि समान हैसियत दिन्छन् जस्तो लागेको थियो र ?

हामीले यति वर्षदेखि देख्दै आइरहेका छौँ । पछि कमजोरी देखाउँछन् भन्ने त हामीलाई लागेकै थियो नि । त्यो जान्दा जान्दै पनि गरेका हौं ।
मूलरूपमा हाम्रो लागि प्रतिगमन प्रधान कुरा हो । पटकपटक संसद नै भत्काउने काम भएको थियो । त्यसलाई चल्न नदिने काम भएको थियो । त्यो प्रवृत्तिलाई रोक्नलाई हो गठबन्धन गरेको । त्यो रोकिएको छ एक हदसम्म । २०७२ को संविधान जोगियो । संसद पुनर्स्थापना भयो । पटकपटक चल्न नदिए पनि पाँच दलीय गठबन्धनको कारणले संसद् ९ महिना पछि बिनासर्त चल्न सुरू गर्‍यो । गठबन्धन उपलब्धिमूलक भएन भन्ने त भएन । तर, जुन रूपले गठबन्धनका दलहरूबीच सहमति भएको थियो गठबन्धनका पार्टीहरूले इमानदारितापूर्वक कार्यान्वयन गरेनन् ।

तुलनात्मक रूपमा गठबन्धनले प्रगति गरेको छ । तर, गठबन्धनमा समेत रहेका दलहरूले धेरै ठाउँमा इमान्दारिता देखाएनन् । गठबन्धन गरेर गइसकेपछि निर्णय भएका कुराहरूलाई कार्यान्वयन गर्न पनि उनीहरूले आनाकानी गरे ।

– आगामी संसदीय निर्वाचनमा फेरि यही तालमेल गर्नुहुन्छ कि समीकरण फेरिन सक्छ ?

प्रतिगमनले हार खाएको छैन । अहिले ठाउँ-ठाउँमा पार्टी नै नभएका व्यक्तिहरू विजयी भएको परिणाम आइरहेको छ । गठबन्धनमा रहेका दलहरूबीच भएको कमी कमजोरीको समीक्षा होला, आलोचना होला, विरोध पनि होला यी सबै कुराको समीक्षा पछि गठबन्धन अझै बलियो भन्छ भन्ने अपेक्षा छ ।

अर्को कुरा आगामी निर्वाचनमा गठबन्धन हुने कि नहुने भन्ने छ । आगामी चुनावहरूमा पनि गठबन्धनको आवश्यकता छ भन्ने लाग्छ मलाई ।

– तपाईं गठबन्धनको आवश्यकता देख्नुहुन्छ , गठबन्धनका दलहरूले तालमेल गर्दा तपाईहरूको दलको आवश्यकता देख्दैनन् । संसदीय निर्वाचनमा पनि त्यस्तै हुने त होइन ?

त्यो त गर्छन् । त्यो नगरेको भए यत्रा वर्ष भयो काठमाडौँमा ठूला दलले मेयर बनाएको, खै त फोहोर फालेको । त्यही भएर त दलहरूप्रति ठूलो घृणा पैदा भएर आइरहेको छ नि ।

– धनगढी, काठमाडौं र धरानको जनमतले कतै नागरिकले स्थानीय तहमा निर्दलीय व्यवस्था खोजिरहेको संकेत गर्दैन ?

दलीय व्यवस्था ठीक छैन भन्ने कुरा त जोर जुलुमले आइरहेको छ । गणतन्त्र चहिँदैन भन्ने कुरा पनि संगठित रूपमा आइरहेको छ । त्यही भएर त समस्या भइरहेको छ नि । दलहरूको कमजोरीका कारण उनीहरूले फाइदा उठाइरहेका छन् नि ।

– दलहरूको कमजोरी भन्नुहुन्छ तपाईंहरू पनि तिनै दलहरूसँग साठगाँठ गरेर हिँडिरहनु हुन्छ । अनि अरूको मात्र कमजोरी देख्न सुहाउँछ त ?

उनीहरूले कमजोरी गर्छन् अनि उनीहरूसँग हिँड्न हुँदैन भनेर एक्लै प्रतिगमन हराउन सक्नु पर्‍यो नि । त्यसकारणले गठबन्धन जोसँग गरे पनि उनीहरूको गल्ती कमजोरीको आलोचना गर्नुपर्छ । अर्का कुरा दलहरूले गल्ती कमजोरी गर्छन् उनीहरूसँग छुवाछुत बन्द गर्नुपर्छ भन्ने संकिर्ण विचार भयो । उनीहरूको गल्ती कमजोरी देखाउने र जनतालाई सचेत गराउने गरेका छौँ । तर, अहिले गणतन्त्रन र दलीय व्यवस्थाको विकल्प छैन भन्ने कुरा बुझ्नुपर्छ । दलीय व्यवस्था र गणतन्त्र बचाउन हामीले गठबन्धन गरेका हौँ । गठबन्धनमा भएका दलहरूको गल्ती कमजोरीको विरोध गर्ने हो । विरोधले एकतालाई अझै मजबुत बनाउँदै लैजान्छ ।

– गठबन्धनमा रहेका अन्य दलहरूको के कस्ता कमजोरी पाउनु भयो त ? के त्यसको विरोध गर्न सक्नु भयो ?

जित्नको लागि जसका विरुद्धमा गठबन्धन गरिएको हो तीसँगै पनि साठगाँठ गरे नि त ठाउँ ठाउँमा । त्यही भयो नि गल्ती, कमजोरी ।
जित्नु प्रधान कुरा होइन । प्रधान कुरा त गणतन्त्र, संविधान, दलीय व्यवस्था कमजोर बनाउन लागि रहेकाहरूलाई कमजोर बनाउनु हो नि । तीसँगै जित्नको लागि घाँटी जोड्ने कुरा त कमजोरी भयो नि ।

– तपाईंले पटक पटक गणतन्त्र खतरामा छ भन्नुहुन्छ । गणतन्त्र खतरामा पर्दा त स्वतः संघीयता पनि खतरामा पर्छ । संघीयता खतरामा पर्ने कुरा त तपाइहरूको लागि उपलब्धि होला नि ?

संघीयता त नेपाली जनतालाई भालुको कम्पट भइसकेको छ । संघीयता खत्तम पार्नको लागि गणतन्त्र खत्तम पार्नुपर्छ भन्ने कुरा त गलत हो नि । गणतन्त्र जोगाउनु पर्छ । संघीयता खारेज गर्नुपर्छ । स्वयम् गणतन्त्र पक्षधरहरूलाई संघीयता भालुको कम्पट भइरहेको छ । त्यसकारणले संघीयता खारेज हुनुपर्छ । गणतन्त्र सुरक्षित हुनुपर्छ । दलीय व्यवस्थाको विकल्प छैन । दलहरूले सत्ता र शक्तिमा गएपछि जुन गलत आचरण देखाइरहेका छन् त्यो हटाउनुपर्छ ।

जनताको समस्याभन्दा दलको, नेताको, व्यक्तिको समस्या प्रधान भएकोले गणतन्त्र अप्ठेरोमा परेको छ । दलीय व्यवस्था अप्ठेरोमा परेको छ । अब गणतन्त्र राखेर संघीयता खारेज गर्नुपर्छ । संघीयता जोगाउने नाममा गणतन्त्र खतरामा पार्न पाइँदैन ।

– एकातर्फ संघीयता खारेजको कुरा अर्कातर्फ संघीयता पक्षकै दलहरूसँग मिलेमतो । यो त दोहोरो चरित्र भएन ?

जम्मै कुरा मिले त छुट्टा छुट्टै पार्टी नै हुँदै न नि । जोसँग भिन्न भिन्न विचार छन् तीसँग कार्यगत एकता हुन्छ । गठबन्धन हुन्छ । त्यसकारणले कोही एमसीसी बोकेर हिँड्ने छन् । कोही संघीयता बोकेर हिँड्ने छन् । मूलरूपमा प्रतिगमनको विरुद्धमा जो-जो छन् उनीहरूसँग गरिएको सहकार्य हो । भिन्न-भिन्न मत राखेर पनि त सहकार्य गर्न सकिन्छ नि ।

– तपाईंलाई अझै आशा छ संघीयता खारेज हुन्छ भन्ने ?

संघीयता खारेज नगर्नुको त उपाय नै छैन । संघीयता खारेज नगरे मुलुक कसरी बचाउनु हुन्छ ? यो पैसाले पुग्छ ? एउटा सिंहदरबार चलाउन कठिन भइरहेको छ अनि सात-सात वटा प्रदेश विश्व बैंकबाट ऋण लिएर चलाएर हुन्छ ? आठ-आठ ठाउँमा संसद, आठ-आठ ठाउँमा सरकार, आठ-आठ ठाउँमा संयन्त्र चलाउन सक्नु हुन्छ ? देश जोगाउने हो भने संघीयता खारेज गर्नुपर्छ ।

– प्रदेशसभामा लड्नु हुन्छ त ! संघीयता गलत पनि भनिरहने अनि त्यसको फाइदा पनि उठाइरहने योजना हो ?

फाइदा लिएको हो र ? तपाईं त संघीय प्रणाली भएको देशैमा किन बस्नु भएको भन्नुहुन्छ जस्तो लाग्यो । बस्नु परो त । पञ्चालयकालमा पञ्चायतलाई उपयोग नगरी तपाईंले फाल्न सक्नुहुन्थ्यो । राणाकै राज्यमा बसे, राणाको विरोध गरेर राणा फाले त । त्यो हो के कुरा ।

त्यसकारण संघीय प्रणाली नेपालको आवश्यकता होइन । प्रदेश खारेज गर्नुको विकल्प छैन । संघीयता बोक्नेहरूलाई पनि यो भारी बोक्न सकिन्न भन्ने भइसकेको छ । समय लाग्छ । जनताले बुझ्छन् । यो खारेज हुनुपर्छ । हुन्छ पनि ।


प्रतिक्रिया

2 thoughts on “‘चार दल इमानदार भएनन्, जसका विरुद्ध गठबन्धन थियो उसैसँग घाँटी जोडे’

  1. काँग्रेसले दिएकाे २/४ हजारमा र्याल काढेर, काँग्रेसकाे टाङ्मुनि छिरेर दरवारकाे निर्देशन मान्ने यस्ता पनि कम्युनिष्ट ? याे पनि भारतकाे दलाल हाे।एमाले सिध्याउन सकिन्छ कि भनेर गठबन्धन नामकाे ग्याङ्मा घुसेकाे छ । दिउस ओलिलाई गाली गर्ने अनि वेलुका देउवाकहाँ पैसामाग्न जाने यस्ता दलाललाई कम्युनिष्ट मान्नेले अब साेच्ने बेला भएन र ?

  2. चित्र बहादुर केसी र मोहन विक्रम सिहं कम्युनिष्ट चरित्र नभएका पद लोलुप हुन अनि के (एमालेमा रहेका ५० लाख मत प्रतिगामी मत हो ) विचारविहिन सामन्ती हुन दुवैजना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर