ईपीएल आयोजना गर्न दिन आग्रह – Nepal Press

ईपीएल आयोजना गर्न दिन आग्रह

काठमाडौं । नेपाल टी-२० बाहेक अन्य कुनै पनि फ्रेन्चाइज प्रतियोगिता मान्यता नदिने निर्णय लागू नगर्न एभरेष्ट प्रिमियर लिग (ईपीएल) ले नेपाल क्रिकेट संघ (क्यान) लाई आग्रह गरेको छ ।

यसअघि क्यानले आधिकारिक प्रतियोगिताको रुपमा नेपाल टी-२० घोषणा गरेसँगै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एक देशमा एक मात्र फ्रेन्चाइज लिग हुने भन्दै यसबाहेकका कुनै पनि फ्रेन्चाइज लिगले मान्यता नपाउने बताएका थिए ।

जसका कारण पाँचौ संस्करणका लागि मिति पर्खिरहेको इपिएलसँगै अन्य कुनै पनि फ्रेन्चाइजले मान्यता नपाउने भएका थिए ।

यसै सन्दर्भमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपीएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

‘क्यानले गरेको घोषणाबाट इपिएल र यससँग सम्बन्धित सबै सरोकारवाला पूर्ण रुपमा निराश र स्तब्ध छौं । इपिएलले क्यान निलम्बित हुँदा वा कोभिड-१९ का कारण सम्पूर्ण कार्य ठप्प हुँदाको कठिन समयमा पनि नेपाली क्रिकेटलाई सहयोग गरेको थियो,’ इपीएल आयोजकले भनेको छ ।

‘तर, घरेलु लगानीमा सञ्चालित इपीएललाई क्यानले मान्यता नदिने निर्णयले नेपाली कर्पोरेट क्षेत्रलाई निकै गलत र गम्भीर सन्देश पुर्याएको छ । यदि क्यानले हालै जारी गरेको निर्णय कार्यान्वयन गर्ने हो भने इपीएल र यसका ६ टिमले आगामी दिनमा क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिस्कार गर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *