भक्तपुर तलेजु १४ महिनादेखि बन्द, पुरातत्व भन्छ- हामीले गरेको होइन – Nepal Press

भक्तपुर तलेजु १४ महिनादेखि बन्द, पुरातत्व भन्छ- हामीले गरेको होइन

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र भएपछि २०७७ चैतमा बन्द गरिएको भक्तपुर तलेजु अहिलेसम्म सर्वसाधारणको लागि खुला गरिएको छैन । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकार तथा स्थानीय प्रशासनले लगाएका सम्पूर्ण निषेधाज्ञा तथा बन्देज हटाइसकिएको छ ।

गएको वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचनअन्तर्गत मतदानसमेत सम्पन्न भइसकेको छ । तर, १४ महिनाअघि बन्द गरिएको भक्तपुर तलेजु अहिलेसम्म खुलेको छैन । जसले गर्दा सर्वसाधारण तलेजुभित्र जान पाएका छैनन् । भक्तपुर भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत भक्तपुर तलेजुमा प्रवेश पाएका छैनन् ।

भक्तपुर नगरपालिकालाई एकहजार पाँच सय रुपैयाँ वा १५ अमेरिकी डलर शुल्क तिरेका बाह्य पर्यटकहरु पनि भक्तपुर तलेजु प्रवेश गर्न बञ्चित छन् । भक्तपुर नगरलाई प्रवेश शुल्क तिर्दा पनि तलेजुभित्र जान नपाउँदा उनीहरु आक्रोशित भएर फर्कने गरेका छन् । तलेजु जान खोज्नेहरुलाई नेपाली सेनाका जवानहरुले रोक्दै आएका छन् । नेपाली सेनाले भक्तपुर तलेजुको सुरक्षा पहरा दिँदै आएको छ । सुरक्षा पहरामा बस्ने सैनिक अधिकारीहरुले नै सर्वसाधारण तथा पर्यटकहरुलाई तलेजुको मुख्य प्रवेशद्वार स्वर्णद्वारबाटै फर्काउँदै आएका छन् ।

स्वर्णद्वारामा पहरा बस्ने सैनिक अधिकारी र सर्वसाधारण तथा पर्यटकहरुबीच दिनहुँ सवालजवाफ हुने गरेको छ । सर्वसाधारण तथा पर्यटकहरु काठमाडौँ र ललितपुर दरबार क्षेत्र तथा त्यहाँका तलेजु एवं संग्रहालय क्षेत्र खुलिसकेकाले भक्तपुर तलेजुभित्र पनि जान पाउनुपर्ने तर्क दिन्छन् भने पहरा बसेका सैनिक अधिकारीहरु आफूहरुलाई तलेजुभित्र सर्वसाधारण तथा पर्यटकहरुहरुलाई प्रवेश दिने निर्देशन नभएको जिकिर गर्छन् ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले अधिकांश पर्यटकहरुले भक्तपुर तलेजुमा प्रवेश नदिएको भन्दै रिस पोख्ने गरेको बताए । आन्तरिक पर्यटकहरुले समेत भक्तपुर तलेजु नखुलेको भन्दै समितिमा गुनासो गर्ने गरेको उनको भनाइ छ ।

‘समिति सरोकारवाला निकाय होइन । तर पनि हामी आन्तरिक र बाह्य पर्यटकहरुको गुनासो सुन्न बाध्य छौं’, अध्यक्ष भेलेले भने, ‘सरोकारवाला निकायलाई यसबारे ध्यानाकर्षण गराउँदा स्पष्ट जवाफ आउँदैन ।’

देशभरका मठमन्दिर तथा सिनेमा हल, स्कुल तथा कलेजसमेत खुलिसक्दा पनि भक्तपुर तलेजु अहिलेसम्म किन बन्द ? पुरातत्व विभागअन्तर्गत भक्तपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुख अरुणा नकर्मी भन्छिन्,  ‘भक्तपुर तलेजु हामीले बन्द गरेकाे होइन ।’

तलेजुका नाइके तथा पुजारीहरुले निर्णय नदिँदा सर्वसाधारणलाई खुला गर्न ढिलाइ भएको उनको भनाइ छ । भक्तपुर तलेजु पुरातत्व विभागअन्तर्गत पर्दछ । भक्तपुर दरबार क्षेत्रमा रहेको विभागअन्तर्गतकै राष्ट्रिय कला संग्रहालयसमेत सर्वसाधारणका लागि खुलिसकेको महिनौं भइसक्यो । नकर्मी थप्छिन्, ‘चुनावअघिसम्म तलेजुभित्र मर्मतसम्भार तथा जीर्णोद्धारको कार्य भइरहेको थियो । त्यसबेला सुरक्षाका दृष्टिले बन्दलाई निरन्तरता दिइयो । तर, बन्द हामीले गरेका होइनौं ।’

उनले बन्दको सुरुवात जसले गरेको हो त्यसैले खोल्ने काम गर्नुपर्ने जानकारी दिइन् । तर, बन्दको चौतर्फी गुनासो आएकाले आफूहरुले तलेजुका नाइके तथा पुजारीहरुसँग छलफल गरेर भक्तपुर तलेजु सर्वसाधारणको लागि खुला गर्न अनुरोध गरिसकेको प्रमुख नकर्मीले बताइन् ।

भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले सरोकारवाला निकायबीच समन्वयको अभाव हुँदा तलेजुमा सर्वसाधारणलाई प्रवेश दिन ढिलाइ भएको स्वीकार गरे ।

‘हामीहरु भक्तपुर तलेजु खोल्नेबारे टुंगोमा पुगिसकेका छौं’, उनले भने, ‘यसबारे जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकालाई जानकारी गराउँदैछौं । अब चाँडै खुल्छ ।’

२०७७ चैतमा भक्तपुर नपाका प्रमुखको अध्यक्षताको नगरस्तरीय सीसीएमसीको बैठकले भक्तपुर तलेजुमा सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । सो समितिले दसैँलगायतका महत्वपूर्ण चाडपर्वमा हुने बलिपूजामा समेत प्रतिबन्ध लगाएको थियो । तर उक्त समितिले हालसम्म आफ्नो पूर्ववत निर्णय नसच्याउँदा तलेजुका नाइके तथा पुजारीहरु अन्योलमा रहँदै आएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *