पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर सरकार कल्याणकारी बन्नुपर्छः कांग्रेस नेता महर – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर सरकार कल्याणकारी बन्नुपर्छः कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिई कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् ।

उपभोक्ता मञ्चले बढ्दो महंगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिनायता अस्वाभाविक मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए ।

सरकारले आइतबार रातिदेखि लागू हुने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गरिनुपर्ने उनको माग छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्नेमा उनले जोड दिए ।

‘सरकारको काम व्यापार गरेर नाफा खानेमात्र होइन । समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो । पेट्रोलियम पदार्थमा लगाइएको करमात्रै खारेज गर्न सके अकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ’, नेता महरले भने ।

सरकार कूटनीतिक माध्यमबाट पनि नेपालमा पेट्रोलियम पदार्थको सहज व्यवस्थापनमा लाग्नुपर्ने महरको भनाइ छ । अप्ठ्यारो परिस्थितिमा नै जनतालाई राज्य र सरकार भएको महसुस हुनुपर्ने उनी बताउँछन् ।

विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटक–पटक मूल्य वृद्धि गर्नुमात्रै समस्याको समाधान नहुने उनको भनाइ छ । यो समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्नेमा महरले जोड दिए ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० रुपैयाँ पुगेको छ । निगमले गएको वैशाख ३१ गतेमात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर