स्वतन्त्र हर्क साम्पाङलाई धरानको मेयर बनाउने पाँच फ्याक्टर – Nepal Press
टिप्पणी

स्वतन्त्र हर्क साम्पाङलाई धरानको मेयर बनाउने पाँच फ्याक्टर

इटहरी । स्थानीय तह निर्वाचनमा धेरै स्थानमा गठबन्धनका उम्मेदवारले एमालेलाई र एमालेले गठबन्धनका उम्मेदवारलाई हराए । तर, धरानका स्वतन्त्र मेयर उमेदवार हर्क साम्पाङले भने गठबन्धन र एमालेलाई एकैपटक हराए । यस्तो नतिजा उनले सहजै ल्याएका भने होइनन् । यसका खास पाँच फ्याक्टर छन् ।

१. सडकसत्ताका कमाण्डर

यत्ति भन्न कुनै सिद्धान्तको आवश्यकता छैन कि, सत्ता मूलतः दुईवटा हुन्छ । एक- राज्यसत्ता, दुई- सडकसत्ता । धरानमा सडकसत्ताको रिक्तता थियो । नेकपा एमालेले बहुमत १३ वडा अध्यक्षसहित उपमेयर पाएको थियो । कांग्रेसले मेयरसहित ६ वडा जितेको थियो । माओवादीले एक वडासहित सत्ताधारी गठबन्धनको सहयात्री भएको थियो । जसपादेखि नेकपा एस सत्ताधारी भइहाले । सबै मुख्य दल सत्ताधारी भएपछि सडकका आममान्छेका मुद्दा बोक्ने राजनीतिक दल भएनन् ।

उनीहरुको मुद्दामा स्थानीय नेतृत्वभन्दा राष्ट्रिय राजनीतिको असर भयो । उदाहरणको लागि– हर्क साम्पाङले भन्दा धेरै एमसीसीकोविरोध माओवादी, नेकपा एस र जसपाले गरेका थिए, धरानमा । तर, संघीय संसदमा सबैले मिलिभगतमा पारित गरेपछि भने हर्क साम्पाङ एक्ला भए । धरानमा खानेपानीको व्यापक समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृतिदेखि नदी दोहोन जस्ता कुरामा साम्पाङको सडक आन्दोलन बलियो भयो । उनी त्यसको कमाण्डर भएर सडकसत्ता हाँके । उनले झण्डै दशकदेखि गरेको निरन्तर सडक संघर्षले उनलाई मेयर बनायो ।

उनको परिचय मूलभूत रुपमा सामाजिक मुद्धा बोक्ने धराने भुँइमान्छेका नेताको रुपमा बन्यो । उनले चुनावताका सार्वजनिक गरेको २७ बुँदे घोषणापत्रको हेडलाइनमै त्यहीं कुराको झल्को छ । उनले लेखेका छन्, ‘आजसम्म जनताको दुःख र पीडाको आवाज बोलेर हिँडे । अब मलाई जनताको आँसु पुच्छ्ने र घाउमा मल्हम लगाउने ठाउँमा पुर्याइदिन मेरो सादर अनुरोध !’

दुई अर्ब १६ करोड हाराहारीको एसियाली विकास बैंकको ऋणबाट चलेको धराने खानेपानी परियोजनाबाट पनि धाराले पानी होइन, हावा दिएको मुद्दा त उनले प्रमुख नै बनाए । उनले आफ्ना २७ बुँदे घोषणापत्रको एक नम्बर बुँदा नै पानीको बनाए ।

‘सुशासनयुक्त धरान, भ्रष्टाचारमुक्त धरान’ भन्दै उनले पानीको मुद्दाबारेमा लेखेका छन्, ‘खानेपानीको तत्काल सुधार ,आफैं लागेर फनफनी घुमीघुमी उत्पादन, सञ्चय र वितरणमा व्यापक सुधार, पक्षपात र कालाबजारीको तत्काल अन्त्य, वैज्ञानिक बिल प्रणाली, अनाहकमा हजारौं रुपैयाँ बिल लाउने चलनको अन्त्य, खानेपानीको दीर्घकालीन आपूर्ति , सप्तकोशीबाटा स्रोत थप्ने, सरकार, जनता र दातृ संस्थाहरु मिलेर, जितेर गएको एक हप्ता देखी ताकेता र प्रकृया सुरु ।’

यी र यस्तै धराने आममान्छेको मनदेखि किचनसम्मको कुरा बोकी हिँड्ने एक जब्बर सामाजिक अभियानकर्मीको छवि बनाएर साम्पाङले सडक सत्ता चलाए । साम्पाङको सडकसत्ता एकलौटी बनाउन दलहरुको राज्यसत्ता मोहले व्यापक सहयोग गर्यो ।

उनी सडकमा सानो समूहमा हिँडे । सामाजिक सञ्जालमा भने उनको व्यापक माहोल थियो । उदाहरणको लागि– उनको अभियानको पेज छ, जसको नाम हर्क साम्पाङ अ रिभोलुसन छ । त्यसका फलोअर्स मात्रै १ लाख ३ हजारभन्दा बढी छन् । त्यहीं जमात उनको देखिने शक्तिशाली भर्चुअल संगठन जस्तै बन्यो । त्यसमा धरान र धरानबाहिर हुने धरानेहरुको संख्या व्यापक छ ।

आफ्नो सानो सडक उपस्थिति र व्यापक सामाजिक संजालको उपस्थितिलाई मतपत्रसम्म तान्न साम्पाङ सफल भए । र, बने उनी ४ हजार ७५२ मतान्तरले धरानको प्रथम स्वतन्त्र मेयर । उनले २० हजार ८२१ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी किशोर राईले १६ हजार ६९ मत ल्याए । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीको भने १२ हजार ८२५ मत आयो ।

२. दलहरुको अन्तरघातले निम्त्याएको सुन्दर विकल्प

धरानमा योपटकको चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै मेयरका उमेदवार मन नपराउने एक तप्का थियो । चुनावअगाडि अनुमान गरिएको त्यो तप्का चुनावी मतपत्रमा समेत व्यक्त भयो । नेपाली कांग्रेसका गठबन्धनका मेयर उमेदवार किशोर राई मन नपाराउनेहरु विकल्पको खोजीमा थिए । यस्तै मञ्जु भण्डारीलाई मेयर नचाहने एमालेहरु पनि विकल्पको खोजीमा थिए । दुवै पक्षले हर्क साम्पाङलाई भोट हाले ।

कांग्रेसलाई एमाले मेयरभन्दा स्वतन्त्र मेयर आओस् भन्ने भयो । एमालेलाई कांग्रेस मेयरभन्दा स्वतन्त्र आओस् भन्ने भयो । त्यसै कारण धरानमा वडा अध्यक्षमा राम्रो मत ल्याएर जितेका एमाले र कांग्रेस उम्मेदवारहरुको मतपत्रमा पनि मेयरमा साम्पाङलाई मत हालेको पाइएको छ । यसले स्वतन्त्र मतदाताको मात्रै नभएर धरानमा आफ्नो पार्टीको उम्मेदवारको अनुहार मन नपराउनेको विकल्पसमेत साम्पाङ नै भएको देखाएको छ ।

३. उपचुनावको नयाँ अभिमत

२०७६ सालमा धरानमा उपनिर्वाचन भयो । एमालेको ‘लालकिल्ला’ भनिएको धरानमा एकाएक नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जिते । राईले ‘नेकपासत्ता’ हुँदा र एमाले–माओवादी एकै पार्टी हुँदा जितेका थिए । तिलकले २०७४ को चुनावमा भन्दा १० हजारभन्दा बढी मत ल्याएर एमाले सत्ता पल्टाए ।

२०७४ मा १६ हजार २०२ मत ल्याएका तिलकको २०७६ को उपनिर्वाचनमा २६ हजार ७०१ मत आयो । त्यहीं चुनावमा हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको मत ५४० मात्रै आयो । जब धरानमा तिलक राई आए, जनताले दिएको पपुलर मत उनको कार्यकालले जोगाउन सकेन ।

साम्पाङ अभियानकर्मीलाई खोला दोहोनको विरोध गर्दा कुटपिट गर्नेदेखि सखुवा काठ कटाइले नेपाली कांग्रेसको साख गिर्यो । साख मात्रै गिरेन, जनमत पनि गिर्यो । त्यसको प्रत्यक्ष फाइदा साम्पाङलाई भयो । यदी धरान उपमहानगरपालीकाका एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन नभएर उनको पूर्ण कार्यकाल चलेको भए जनताले योपटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउने विकल्प हुन्थ्यो । तर, नेपाली कांग्रेसको सत्तासमेत हेरेका धरानेले स्वतन्त्र उम्मेदवार साम्पाङलाई जिताए ।

रोचक कुरा, २०७४ सालमा चुनाव हारेका तिलक राईले २०७६ को उपचुनावमा जिते । २०७६ को उपचुनावमा हारेका साम्पाङले २०७९ को चुनावमा जिते ।

४. लौरोको ‘राष्ट्रिय ब्राण्ड’

खानेपानीको मुद्दा एक नम्बर बनाएका धराने चुनावमा साम्पाङले चाहेको चुनाव चिह्न पनि धारा नै थियो । त्यसले उनको सामाजिक अभियानमा पानीको बिम्ब बोक्ने थियो । उनले पाएनन् त्यो चिह्न, पाए लौरो ।

त्यहीं लौरोले उनलाई मेयर बनायो । काठमाडौंको लोकप्रिय स्वतन्त्र उम्मेदवार बालेनको चुनाव चिह्न भएकोले चर्चा पाएको थियो । लौरोले धेरै स्थानमा त उम्मेदवारहरु नहुँदा पनि मत पायो । धरान जस्तो सचेत युवाहरु भएको सहरमा त्यसको केही अंश फाइदा हर्क साम्पाङलाई भयो । साम्पाङको स्थानीय सामाजिक ब्राण्डमा लौरोको राष्ट्रिय ब्रान्ड जोडिएपछि उनको चुनावी जित थप सहज भयो ।

५. ‘नो भोट’ पुस्ताको बलियो विकल्प

नेपालमा राजनीतिलाई ‘बाल’ नदिने पुस्ता पनि छ । उसले आफ्नो आवाज दलका चर्चा हल्लाहरुमा पाउँदैन । उनको अनुहार दलका उम्मेदवारहरुमा पाउँदैन । उसका मुद्दा दलका घोषणापत्रहरुमा पाउँदैन । त्यो पुस्ताले चाहेको ‘नो भोट’ हो ।

सर्वोच्च अदालते ‘नो भोट’को प्रावधान राख्न न्यायाधीशहरु कल्याण श्रेष्ठ र प्रकाश वस्तीको इजलासबाट २०७० पुस २१ गते निर्देशनात्मक आदेश दिएकै हो । सरकारलाई भनेकै हो । तर सरकारले मानेन । अहिलेको बाठो युवा पुस्ताले ‘नो भोट’को औपचारिक विकल्प त भेटेन । तर, हर्क साम्पाङको विकल्प भेट्यो । अनि त्यसैमा मत दर्ज गर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर