पाल्पामा एमालेको एकल बहुमत- गठबन्धनले कांग्रेसलाई घाटा, नेकपा एस नील – Nepal Press

पाल्पामा एमालेको एकल बहुमत- गठबन्धनले कांग्रेसलाई घाटा, नेकपा एस नील

एमालेले कुल मत पनि बढायो

रुपन्देही । पाल्पामा नेकपा एमालेले एकल बहुमतको जिल्ला समन्वय समिति बनाउन पाउने भएको छ ।

१० पालिका रहेको पाल्पामा एमालेले ६ पालिकामा जित निकालेको हो । ६ पालिकाको प्रमुख उपप्रमुख गरी ११ जनाले जितेका छन् । एमालेविरुद्ध सत्तारुढ ५ दलको गठबन्धन वडा तहसम्मै भएको थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले जितेका पालिकाको संख्या जोगाउँदै ६ वटाको नेतृत्व आफ्नो कब्जामा राखेर जिल्ला समन्वय पक्का गरेको हो ।

सत्तासाझेदार दलहरुले गठबन्धन गरेर जिल्लाका १० मध्ये नेपाली कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पदको भागवण्डा गरेका थिए ।

रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, बगनासकाली, माथागढी र निस्दी गाउँपालिकाको प्रमुखमा कांग्रेस, तिनाउ र रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्र र पूर्वखोला र रम्भा गाउँपालिकामा एकीकृत समाजवादीबाट प्रमुख पदको उम्मेदवार थिए । तर बगनासकाली, माथागढी, निस्दी, तिनाउ र रम्भामा एमालेले जितेको छ ।

पूर्वखोला र निस्दी गाउँपालिकामा त एमालेले सत्ता गठबन्धनलाई क्लिन स्वीप नै गरेको छ । पाल्पामा एमालेका पुराना नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा गएको र सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएकाले गठबन्धनका उम्मेदारले एमाले हराउन सक्ने आंकलन गरिएको थियो । दलहरुले एमालेलाई रोक्न ०७४ को नतिजा र वर्तमान संगठनात्मक अवस्था हेरेरै भागबण्डा गरेको थिए ।

गठबन्धनबाट एकीकृत समाजवादीले मीनप्रसाद गिरीलाई अध्यक्ष उठाएको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिन स्वीप गरेको छ ।

गठबन्धनका गिरीले एक हजार २५७ मत पाउँदा झण्डै पाँच गुणा बढी मतसहित एमालेका नुनबहादुर थापाले जिते । अध्यक्ष दोहोरिएका थापाले गठबन्धनका उम्मेदवारविरुद्ध ६ हजार ३९ मत ल्याए । उपाध्यक्षमा पनि एमालेका भागिरथी शर्माले फराकिलो अन्तरले जितिन् ।

शर्माले पाँच हजार ८९४ मत ल्याएर जित्दा कांग्रेसका विष्णुकुमारी आचार्यले दुई हजार २५० मत मात्रै ल्याइन् । थापा र शर्माले २०७४ मा जित्दा ल्याएको भन्दा धेरै मत ल्याए । मतान्तर बढ्दा पूर्वखोला गाउँपालिकाका ६ वटै वडामा एमालेका उम्मेदवार मात्रै विजयी भए ।

पूर्वखोला पछि निस्दी गाउँपालिकामा पनि एमालेले गठबन्धनलाई क्लिन स्वीप गरेको छ । यो पालिकामा भने गठबन्धनबाट कांग्रेसका गोविन्दप्रसाद अर्याल उम्मेदवार थिए । तर अर्यालले तीन हजार ४६६ मत पाउँदा एमालेका मुक्तबहादुर सारुले ६ हजार ६५२ मत ल्याएर अध्यक्ष जिते ।
२०७४ मा पनि एमालेबाट मुक्तबहादुर नै उम्मेदवार थिए । त्यसबेला कांग्रेसका शालिकराम पाण्डेले दुई हजार ९२३ मत पाउँदा उनले पाँच हजार ३२० मत ल्याएर जितेका थिए । यसपटक गठबन्धन हुँदा पनि कांग्रेसले एमालेलाई रोक्न सकेन ।

उपाध्यक्षमा त माओवादी केन्द्रका रामप्रसाद खत्रीभन्दा एमालेकी तीरनकुमारी श्रेष्ठले झण्डै आठ गुणा बढी मत ल्याएर जितिन् । गठबन्धनका उम्मेदवार खत्रीले ८३० मत पाउँदा एमालेकी श्रेष्ठले ६ हजार ६३८ मत ल्याइन् । यो पालिकामा पनि गठबन्धनका कोही उम्मेदवारले जित्न सकेन ।

त्यसैगरी अन्य पालिकामा पनि एमालेले यसपटक मत बढाएको छ । २०७४ मा कांग्रेसले जितेको माथागढी गाउँपालिकामा यसपटक एमालेका यमबहादुर चिदीले जितेका छन् । गठबन्धनले २०७४ मा अध्यक्ष जितेका सन्तोषकुमार थापालाई नै उम्मेदवार बनाएको थियो । तर कांग्रेसका थापाले पाँच हजार ५५४ मत ल्याउँदा एमालेका चिदीले ६ हजार १०९ मत ल्याएर नतिजा आफ्नो पक्षमा पारे ।

२०७४ मा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रदा थापाले एमालेका विमलप्रसाद काफ्ले भन्दा दुई हजार बढी मत ल्याएर अध्यक्ष जितेका थिए । त्यसबेला थापाले ६,७९९ मतसहित अध्यक्ष जित्दा एमालेका काफ्लेले तीन हजार ८०६ मत ल्याएका थिए । यसपटक भने गठबन्धन हुँदा पनि एमालेले यो पालिका जित्यो ।

तिनाउ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका नेता राजेश श्रेष्ठलाई हराउँदै पनि एमालेले जितेको छ । माओवादी केन्द्रका राजेशले चार हजार ४६६ मत पाउँदा एमालेका प्रेम श्रेष्ठले पाँच हजार ९० मत ल्याएर जितेका हुन् । यसअघि पनि यहाँ एमालेले जितेको थियो ।

२०७४ मा कांग्रेसले जितेको रामपुर नगरपालिकामा निवर्तमान मेयर रमणबहादुर थापा विजय भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उनी उम्मेदार बनेका थिए ।

२०७४ मा कांग्रेसले जितेको अर्को गाउँपालिका बगनासकालीमा पनि एमालेकै सरस्वती दर्लामीले जितेकी छन् । यसअघि एमालेले नै जितेको रम्भा गाउँपालिकामा पनि एमालेले जितेको छ । रम्भा गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी ५,५८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई १,०४४ मतान्तरले पराजित गरेका हुन् । पराजित दुर्गाप्रसाद अधिकारीले ४,५४२ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०की उम्मेदवार राधाकुमारी श्रेष्ठ ५,७१९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५,०५८ मत ल्याएका छन् । तर यसअघि एमालेले जितेको तानसेन नगरपालिका एमालेले गुमाएको छ । रैनादेवी छहरा गाउँपालिकामा कांग्रेससँग र रिब्दीकोट गाउँपालिका माओवादी केन्द्रसँग एमाले पराजित भएको छ । २०७४ मा रैनादेवीमा कांग्रेस र रिब्दीकोटमा एमालेले जितेको थियो ।

१० पालिकाका २० पदमा ११ र ८१ वडामध्ये ४१ वटामा एमालेले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर