डेब्यूमै चम्केकी हिरान्मइको बिबिएल खेल्ने सपना – Nepal Press

डेब्यूमै चम्केकी हिरान्मइको बिबिएल खेल्ने सपना

काठमाडौं । हरेक नेपाली खेलाडीले खेल करिअर सुरु गरे देखिनै एउटा सपना बोकेको हुन्छ, चन्द्र सूर्य अंकित राष्ट्रिय टिमको जर्सी लगाएर आफ्नो देशको लागि प्रतिनिधित्व गर्ने । कत्तिको त्यो सपना पुरा हुन्छ त कत्तिको अधुरै रहन्छ ।

जसले आफ्नो त्यो सपना पूरा गर्न सक्यो त्यो भाग्यमानी कहलिन्छ । तर, भाग्य मात्रै भएर कोहि पनि त्यो हैसियतमा पुग्दैन । त्यहाँसम्म पुग्न कडा मेहनत र लगनशीलता पनि त्यत्तिकै आवश्यक हुन्छ ।

यस्तै, कडा मेहनत र लगनशीलताका कारण १५ वर्षीया किशोरीले खेल करिअर सुरु गरेको दुई वर्षमै सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरेकी छिन्। राष्ट्रिय टिमको जर्सीबाट उनको सुरुवाती प्रदर्शनको प्रशंसा भइरहेको छ ।

झापाकी हिरान्मई रायले करिब दुई वर्ष अघि मात्रै क्रिकेट खेल्न सुरु गरेकी हुन् । छोटो समयमा उनले घरेलु मैदानमा आयोजित युगान्डाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामार्फत सिनियर अन्तर्राष्ट्रिय महिला क्रिकेटमा डेब्यू गरिन् । उनले डेब्यू खेल र प्रतियोगितालाई स्मरणीय पनि बनाएकी छिन् ।

पहिलो पटक घरेलु मैदानमा शृङ्खला खेलेको नेपाली महिला टीमले लगातार तीन खेल हार्दै पाहुना टिमलाई उपाधि सुम्पिसकेको अवस्थामा चौथो खेलमा डेब्यू गरेकी रायको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले सान्त्वना जित निकालेको थियो । उनी डेब्यू खेलमै प्लेयर अफ द म्याच भइन् ।

खेलको १३औँ ओभरमा उनलाई बलिङ गर्न पठाइएको थियो । आफ्नो पहिलो ओभरको अन्तिम बलमा उनले युगान्डाका लागि सबै भन्दा धेरै रन बनाएर खेलिरहेकी जानेत बाबाजीलाई बोल्ड गराएकी थिइन् । त्यसपछि तेस्रो ओभरमा उनले युगान्डाकी कप्तान कोन्की अवेकोलाई बोल्ड गराउँदै डेब्यू खेलमै दुई विकेट लिएकी थिइन् । तीन ओभर बलिङ गरेकी रायले ११ रन मात्र खर्चेकी थिइन् ।

यस्तै, शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा पनि उनले एक विकेट लिइन्। उक्त खेलमा रायले ४ ओभरमा १७ रन खर्चिइन् ।

सम्झन लायक डेब्यू गरेकी राय सानो सपना बोकेर राष्ट्रिय टिमसम्म पुगेकी छैनन् । उनको सपना अस्ट्रेलियाको बिग बास जस्तै विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरु खेल्नेछ ।

‘मैले कडा मेहनत गरेकी थिएँ । यत्ति चाँडै राष्ट्रिय टिममै पर्छु भनेर चाहिँ सोचेकी थिइनँ । मेरो सपना अझै धेरै राम्रो खेलेर विग बास जस्तै विभिन्न अन्तर्राष्ट्रिय फेन्चाइज लिग हरू खेल्न जाने छ’, उनले खेल पछि आयोजित पत्रकार सम्मेलनमा भनिन्।

झापाको प्याट्रिओटिक क्रिकेट एकेडेमीबाट क्रिकेट खेल्न सिकेकी रायका गुरु पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर लाक्पा लामा हुन्। रायले अनुभवी सिनियर खेलाडी हरूसँग खेल्न पाउँदा असाध्यै रमाइलो लागेको प्रतिक्रिया दिइन् ।

‘आफ्नो वेस्ट दिन्छु भनेर खेलेकी थिएँ । पहिलो विकेट लिँदा आफूदेखि गर्व महसुस भएको थियो । अझ सिनियर दिदी हरूसँग खेल्न पाउँदा असाध्यै रमाइलो लागेको छ’, उनले भनिन् ।

राय २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकप छनोटका लागि नेपालबाट अन्तिम १८ जनाको टिममा उनलाई पनि समावेश गरिएको छ। क्रिकेटप्रति उनको यति धेरै लगाव छ की पढाइसमेत माया मारेर यू–१९ को बन्द शिविरमा बसिरहेकी छिन् ।

‘म पढ्दै छु, अहिले एसईई दिनुपर्ने थियो तर, यू–१९ को प्रशिक्षण भएकाले छाडेर आए । अहिले समय यस्तै भयो मिलेन तर पढाई छाड्दिन अर्को पटक परीक्षा दिन्छु’ रायले थपिन् ।

रायले गत फागुनमा त्रिवि क्रिकेट मैदानमा सम्पन्न ललितपुर महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गदै पहिलो घरेलु राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेकी थिइन् ।

यस्तै, गत चैत्र ६ गतेदेखि धनगढीमा आयोजना भएको यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पनि उनले राम्रो प्रदर्शन गरेकी थिइन् । त्यही प्रदर्शनले उनलाई बन्द शिविरमा ठाउँ दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *