४ सय पालिका जित्ने कांग्रेसको लक्ष्यमा अन्तर्घातको धक्का, अन्तर्घातीको ओखती के ? – Nepal Press
स्थानीय निर्वाचन

४ सय पालिका जित्ने कांग्रेसको लक्ष्यमा अन्तर्घातको धक्का, अन्तर्घातीको ओखती के ?

काठमाडौं । गठबन्धनको बलमा पहिलो दल बन्न सफल भएपनि नेपाली कांग्रेसका शीर्ष नेताहरुले सन्तोषको श्वास फेरेका छैनन् । किनकी समग्र परिणाममा जित हासिल भएपनि विगतका परिणाम जोगाउन नसकेका र अन्तर्घातको तथ्यले कांग्रेस नेताहरूलाई झस्काएको छ ।

नेपाली कांग्रेसले हालसम्म जित हासिल गरेका र अग्रता लिएका स्थानीय तहको संख्याका आधारमा ७ सय ५३ मध्ये कम्तीमा ३ सय २५ स्थानीय तहमा उसको नेतृत्व स्थापित हुने पक्का छ । अघिल्लो निर्वाचनमा २ सय ६५ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसको राजनीतिक ‘वासलात’ फाइदामै देखिन्छ ।

यद्यपि अघिल्लो निर्वाचनमा जितेकामध्ये झण्डै ७० वटा स्थानीय तहको नेतृत्व कांग्रेसले ‘पाँचदलीय गठबन्धन’ हुँदा पनि गुमाएको छ । अन्तर्घातकै कारण ४ सय बढी स्थानीय तहमा प्रमुख जित्ने कांग्रेसको उद्देश्यमा धक्का लागेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनअघि पत्रकार सम्मेलनमा गठबन्धनले ७५ प्रतिशत र कांग्रेस एक्लैले बहुमत पालिका जित्ने दाबी गरेका थिए । मतगणना अन्तिम चरणमा पुग्दा दुवै सम्भावना टरिसकेका छन् । यद्यपि दोस्रो स्थानको नेकपा एमालेसँग फराकिलो अग्रतासहित कांग्रेस पहिलो पार्टी बनेको छ ।

‘निर्वाचन परिणामले हामीलाई पहिलो पार्टी बनाएको छ । अपवादबाहेक चुनावी तालमेल र गठबन्धन सफल भएको मानेका छौं’, प्रवक्ता महतको भनाई छ । यदि कांग्रेसमा अन्तर्घात नभएको भए कांग्रेसले ४ सय बढी पालिका जित्ने महतको भनाइ छ । ‘अन्तर्घात कांग्रेसमा रोगको रुपमा रहेको छ । आफूबाहेक कसैलाई नस्वीकार्ने परिपाटी यसपटक पनि देखियो । यदि हामी आन्तरिकरूपमा एकताबद्ध भएको र अन्तर्घात नभएको अवस्था थियो भने कम्तीमा ४०० पालिका जित्थ्यौ’, महतले भने ।

महतको भनाइ मतपरिणामको तथ्यांकसँग मिल्दो छ । कांग्रेसले विगतमा एकल जितेका झण्डै ७० पालिका यसपटक गुमाएको छ । दार्चुला र पूर्वीरुकुममा त कांग्रेसले एउटै स्थानीय तहको पनि नेतृत्व जित्न सकेन । विगतमा ११ मध्ये ९ पालिका जितेको गोरखामा कांग्रेसले यसपटक २ पालिका मात्रै जित्यो ।

अघिल्लो निर्वाचनमा ८ मध्ये ६ वटा पालिकाको नेतृत्व पाएको नवलपुरमा कांग्रेस यसपटक २ वटामै सीमित रह्यो । त्यसबाहेक सुर्खेत, स्याङ्जा, कैलाली, पाल्पा, चितवन, अर्घाखाँची, बारा, सप्तरी, मोरङ लगायतका जिल्लामा संगठित रुपमै अन्तर्घात भएको कांग्रेसको आन्तरिक आँकलन छ ।

किन हुन्छ अन्तर्घात ?

कांग्रेसमा अन्तर्घात नौलो विषय होइन । २०४८ यताका सबैजसो चुनावमा कांग्रेसभित्र अन्तर्घातका सयौं किस्सा भेटिन्छन् । पार्टीका नेताहरूको आपसी शक्ति टकराव वा पार्टी नेतृत्वको निर्णय नै अन्तर्घातको मुख्य कारण बन्ने गरेको छ ।

‘हार्नेहरू अन्तर्घात भयो भन्छन् तर किन अन्तर्घात भयो भन्दैनन् । आफू वा आफूले चाहेको व्यक्तिले टिकट नपाए हराउनका लागि अन्तर्घात गर्ने चलनै भइसक्यो’, अन्तर्घातको कारणबारे एक कांग्रेस नेता भन्छन् । ती नेता कतिपय सन्दर्भमा गलत व्यक्तिले टिकट पाउँदा पनि अन्तर्घात हुने बताउँछन् ।

‘पालिकाको मात्रै कुरा नगरौं कतिपय वडासम्म अन्तर्घात भएको छ । कतिपय स्थानमा विद्रोहीले जित्ने अवस्था बनेको छ । यसो हुनुमा मुख्य कारण उम्मेदवार छनोटको कमजोरी पनि हो’, ती नेताको भनाइ छ ।

कांग्रेसले अघिल्लो संसदीय निर्वाचनमा अन्तर्घातको आरोपमा केही नेताहरूलाई कारबाही पनि गरेको थियो । विगतमा कारवाही गरेका नेताहरू पनि अहिले कांग्रेस हराउन खुलेरै सक्रिय भएको नेताहरुको बुझाइ छ ।

अन्तर्घातको ओखती के ?

कांग्रेस प्रवक्ता महत अनुशासन नै अन्तर्घातको ओखती भएको बताउँछन् ।

‘पार्टीले निर्णय नगर्दासम्म आफ्नो विचार राख्ने हो तर निर्णय भएपछि सबैले मान्ने हो । यो अनुशासन सबै तहका नेता कार्यकर्ताले पालना गर्नुपर्यो’, महतको भनाइ छ । पार्टीभित्र दण्डहीनताले पनि अन्तर्घातलाई प्रश्रय दिने महतको दावी छ ।

‘अन्तर्घात गर्नेलाई कडा कारवाही गरेर तलसम्मै सन्देश दिनसक्नुपर्छ । अन्तर्घात गर्नेलाई कारबाही गर्न सकेनौं भने यो अझ बढ्छ’, महतले भने ।

उनले स्थानीय निर्वाचनको परिणामबारे पार्टीको तल्लो संरचनाबाट प्रतिवेदन बुझ्ने र केन्द्रीय समितिमा समीक्षा हुने बताए । ‘हामी लगातार छलफल गर्छौं । कमजोरी भएका विषयमा समिक्षा गर्छौं’, महतले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर