विद्यार्थीको हातमा अझै पुस्तक नपुगेकोमा मुद्रण उद्योग महासंघको आपत्ति – Nepal Press

विद्यार्थीको हातमा अझै पुस्तक नपुगेकोमा मुद्रण उद्योग महासंघको आपत्ति

जनक शिक्षा गैरजिम्मेवार भएको आरोप

काठमाडौं । सरकारले पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति दिएमा निजी क्षेत्रले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउने मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले दाबी गरेको छ ।

महासंघले निजी क्षेत्रसँग सहकार्य गरेर कम्तीमा कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति दिएमा निजी क्षेत्रले १५ दिनमै देशैभरि पाठ्यपुस्तक विद्यार्थीको हात-हातमा पुर्‍याउने दाबी गरेको हो ।

महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारले सरकारी संस्था जोगाउने बहानामा ९० लाख विद्यार्थीको भविष्यमाथि भएको खेलवाड गरेको आरोप लगाएको छ ।

शैक्षिक शत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि सरकारी स्वामित्वको जनक शिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक पुर्‍याउन नसकेको भन्दै आलोचना भएको थियो ।

जनक शिक्षाले अझैपनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण शैक्षिक शत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुर्‍याउन नसकेकाले विद्यार्थीको पठनपाठनमा गम्भीर असर परेको भन्दै महासंघका अध्यक्ष खोमकान्त रेग्मीले बताए ।

यसअघि सरकारी स्वामित्वको मुद्रण संस्था जनकशिक्षा सामाग्री केन्द्रले सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै छपाइ तथा वितरण गर्न नसकेपछि २०६४ सालबाट कक्षा १ देखि कक्षा ८ सम्मका सामुदयिकविद्यालयका पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो ।

समयमै पुस्तक नछापिएको देख्दादेख्दै पनि निजी क्षेत्रलाई खुम्च्याएर शैक्षिक शत्र २०७८ मा कक्षा १ देखि ४ सम्म र २०७९ को लागि १ देखि ३ सम्म मात्र छपाइ तथा वितरणाको अनुमति दिएकोले यो भयावह अवस्था आएको महासंघको भनाइ छ ।

निजीले पाएको जिम्मेवारी अनुसार कक्षा १ देखि कक्षा ३ सम्मका पाठ्यपुस्तक देशभरि वितरण भइरहेको महासंघको दावी छ ।

पुस्तक छपाइको लागि निजी क्षेत्रले गरेको अरवौँ रुपैयाँको छपाइ मेसिन कामको अभावका कारण खाली  रहेकाे तर निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाइमा कक्षा थप गराउन शिक्षा मन्त्रालयमा र माताहातका निकायहरुलाई कयौँ पटक अनुरोध गर्दा समेत सुनुवाइ नभएको अध्यक्ष रेग्मीले गुनासो गरे ।

महासंघको अनुरोध सुनुवाइ नभएकाले अझै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना देखिदैन र विद्यार्थीले पाठ्यपुस्तकबिना नै परिक्षामा सामेल हुने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *