कांग्रेसले कब्जा गरेको भनिएको बुथमा ९९ प्रतिशत मतदानः एमाले भन्छ- गणना गर, कांग्रेस भन्छ- पुनः मतदान – Nepal Press

कांग्रेसले कब्जा गरेको भनिएको बुथमा ९९ प्रतिशत मतदानः एमाले भन्छ- गणना गर, कांग्रेस भन्छ- पुनः मतदान

धनगढी । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा मतगणना सम्पन्न भएर नतिजा पनि सार्वजनिक भइरहेको छ । तर, बाजुराको बुढीगङ्गा नगरपालिकामा मतदान गर्ने कि मतगणना गर्ने भन्ने विवाद अझै निरूपण भएको छैन ।

नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली कांग्रेसले पुनः मतदान गर्न माग राखेको छ । तर, नेकपा एमालेले भने मतदान शान्तिपूर्ण भएको भन्दै मतगणना गर्नुपर्ने बताउँदै आएको छ ।

यस्तो छ विवादको जड

बाजुराको बुढीगंगा नगरपालिका ४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७०९ मतदाता रहेकोमा एक हजार ६९९ मत खसाइएको थियो । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदानस्थल सम्भवतः नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदान स्थलमा दुई वटा मतदान केन्द्र रहेका थिए ।

नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार रङ्गबहादुर खातीको मतदान स्थल पनि यही हो । २०७४ को स्थानीय तहको चुनावमा पनि यो मतदान स्थलमा बाजुरामै सबैभन्दा बढी मत खसेको थियो । यो मतदान स्थलमा विगतदेखि नै कांग्रेसले नियन्त्रणमा लिएर फर्जी मत हाल्दै आएको आरोप लाग्ने गरेको छ । तर, कांग्रेसले भने यो कुराको खण्डन गर्दै आएको छ ।

नेपाली कांग्रेसका बाजुरा सभापति रामसिंह रावलले भने एमालेले अन्य वडामा मतदान केन्द्र कब्जा गरेको आरोप लगाए । ‘२, ३, ५ र ९ मा एमाले कार्यकर्ताहरुले बुथ कब्जा गरेका छन्’, सभापति रावलले भने, ‘अब यी वडाहरूमा पुनः मतदान हुनुपर्छ ।’

ती क्षेत्रमा पुनः मतदान नभएसम्म मतगणना हुन नदिने उनले बताए ।

एमाले नेता कर्ण थापाले भने कांग्रेसले हार हुने डरले पुनः मतदानको अडान राखेको बताए । ‘कांग्रेसले बुथ कब्जा गरेर ९९ प्रतिशत मत खसाएको छ । फेरि पराजित हुने डरले कांग्रेसले अनावश्यक विवाद गरेको छ’, थापाले भने, ‘तत्काल यहाँको मत गणना हुनुपर्छ ।’

समग्र मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मीहरू वडा नम्बर २, ३, ५ र ९ नम्बरका मतदान स्थलबाट अपरान्हतिर मतपेटिकासमेत मतदान स्थलमै छाडेर हिँडेका थिए । कांग्रेस नेताहरूले एमालेले बुथ कब्जा गरेपछि सुरक्षा दिन नसकेर भाग्न बाध्य भएको बताएका छन् । यता एमाले नेताहरूले भने कांग्रेसले सत्ताको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई फिर्ता बोलाएको आरोप लगाएको छ ।

बुढीगंगा नगरपालिकास्थित निर्वाचन कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएका उपसचिव कृष्ण सापकोटाले भने आफू असुरक्षित रहेको र हुलहुज्जत हुनसक्ने भन्दै निर्वाचनमा तोकिएको जिम्मेवारीबाट निर्वाचन आयोगमा राजीनामा पठाएपछि यहाँ थप विवाद भएको थियो ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिद्वारा सर्वदलीय बैठक आयोजना गरिएको भए पनि दलहरूबीच सहमति हुन सकेन । थप अध्ययनका लागि आइतबार निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पुगेको थियो ।

कांग्रेस नै किन भनिरहेको पुनः मतदान ?

कांग्रेसले नियन्त्रणमा लिएर मतदान गरेको आरोप लागेको वडा नं ४ स्थित थुमा मावि मतदान स्थलमा जम्मा १० मत खसेन । ९९ दशमल ४१ मत खस्नुले फर्जी मतदान प्रमाणित हुने बताइएको छ ।

तर, कांग्रेसले नै अहिले पुनः मतदानको विषय उठाएको छ । कांग्रेसको प्रभाव क्षेत्र रहेको यो मतदान केन्द्रमा एमालेको पक्षमा एकतिहाइभन्दा कम मत खस्ने विगतको तथ्यांक छ।

यसअघिको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले कब्जा गरेर एमाले उम्मेदवार पराजित भएको एमालेको आरोप छ ।

कांग्रेसको थुमा मतदान केन्द्र जस्तै एमालेको त्रिशक्ति मावि मतदान केन्द्रमा प्रभाव छ। वडा ९ स्थित यो मतदान केन्द्रमा १ हजार ४८३ मतदाता छन् । वैशाख ३० को मतदानमा १ हजार ३४७ मत खसेको छ।

९० दशमलव ८२ प्रतिशत मतदान पनि अपेक्षित होइन । त्यसबाहेक एमाले प्रभाव रहेको २, ३ र ५ मा पनि धाँधली भएको कांग्रेसको आरोप छ ।
आफूले जम्मा दुई तर एमालेले चार बुथमा बढी मत खसाएको आशंकापछि कांग्रेस केन्द्रले नै पुनः मतदानको माग गरेको छ ।

‘बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा एमालेका कार्यकर्ताहरुले कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेस एक हप्ता ढिलो गरी सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ ।

त्यसअघि एमालेले वैशाख ३० मै वक्तव्य जारी गरेर सरकारले निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको थियो । एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘बाजुराको बुढीगंगामा मतदान जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मी हटाई निर्वाचन बिथोल्न खोजियो ।’

प्रतिवेदन अध्ययन गर्दै आयोग

बुढीगंगा नगरपालिकाको विवाद स्थानीयस्तरमै समाधान नभएपछि निर्वाचन आयोगले स्थलगत अध्ययनका लागि गत आइतबार निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पठायो ।

उक्त टोलीले सदरमुकाम मार्तडी आएर सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रमुख, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे जानकारी लियो । दोस्रो दिन बुढीगंगास्थित स्थलगत अध्ययनसमेत गर्‍यो । उक्त टोलीले अध्ययन प्रतिवेदन आयोगमा बुझाइसकेको बताइएको छ । तर, आयोगले उपयुक्त निर्णय लिन भने अझै सकिरहेको छैन ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन अध्ययन भइरहेको भन्दै अहिल्यै पुनः मतदान गर्ने वा मत गणना गर्ने भन्ने विषयमा निर्णय नभइसकेको बताए ।

‘उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार गरेर आयोगमा बुझाएको छ’, उनले भने, ‘आयोगले अध्ययन गरिरहेको छ । त्यसपछि मात्रै पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपालप्रेससँग कुरा गर्दै बाजुराको सन्दर्भमा आयुक्तको टोलीले तयार पारेको प्रतिवेदन नखोलिएको बताए ।

उनले सम्भवतः सोमबार आयोग बैठकमा पेश हुने र त्यसलाई अध्ययन गरेर साँझसम्म निर्णय गरिने बताए । थपलियाले भने, ‘आयुक्त नै गइसकेपछि त्यहाँ आयोग गएको हो । प्रतिवेदन खोलिएको छैन । भोलि खोल्छौं र निष्कर्ष निकालेरमात्र उठ्छौं । सबैका कुराहरु त्यसमा समेटिएका छन् ।’

बुढीगंगामा कांग्रेसबाट मेयर बनेका रंगबहादुर खातीका भाइ खम्मबहादुर खाती महान्यायाधिवक्ता छन् । यहाँ शक्तिको प्रयोग हुन लागेको भन्दै एमालेले खबरदारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर