पाण्डेविरुद्ध बलात्कारको मुद्दा कि मानव बेचबिखनको ? यस्तो छ कानूनी व्यवस्था – Nepal Press

पाण्डेविरुद्ध बलात्कारको मुद्दा कि मानव बेचबिखनको ? यस्तो छ कानूनी व्यवस्था

काठमाडौं । बलात्कार आरोपमा पक्राउ गरिएका सुन्दरी प्रतियोगिताका आयोजक मनोज पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अन्तर्गत मुद्दा चलाउने गरी अनुसन्धान गर्ने तयारी प्रहरीले गरिरहेको छ । उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई शनिबार पक्राउ गरेको थियो ।

पाण्डेविरुद्ध सोमबार अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाउने तयारीमा छ प्रहरी । त्यसअघि कुन कसुरमा म्याद लिने भन्ने विषयमा छानबिन समितिले छलफल गरिरहेको स्रोतले बतायो । समिति संयोजकसमेत रहेका उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरसहितको टोली कानूनी परामर्शमा रहेको छ ।

८ वर्षअघि भएको घटनामा ‘पीडित’ युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेका थिइन् । त्यसपछि आरोपीलाई पक्राउ गरी कारबाही गर्न आवाज उठिरहेको छ । तर बलात्कारमा घटना भएको एक वर्षभित्र अदालतमा मुद्दा पेश गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेका कारण यो प्रकरणमा कसरी अगाडि बढ्ने भन्नेमा प्रहरी स्पष्ट हुन सकेको छैन । अहिले बलात्कार र मानव बेचबिखन तथा ओसारपसार ऐनमध्ये एकमा मुद्दा चलाउने विषयमा छलफल भइरहेको बताइन्छ ।

के हो मानव बेचबिखन तथा ओसारपसार ?

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ ले मानव बेचबिखन र ओसारपसार हुने अवस्थाबारे उल्लेख गरेको छ । दफा ४ को उपदफा १ मा कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै पनि प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन मानेको छ ।

त्यस्तै सोही दफाको उपदफा २ मा भनिएको छ, ‘किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेश लैजानेसहित वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाईफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाजी गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजान वा अरु कसैलाई दिने कामलाई मानव ओसारपसार मानिने छ ।’

पहिलोपटक बलात्कार भएको भनिएको दिनमा पाण्डेले पीडित युवतीलाई पैसा दिएको आधारमा वेश्यागमनमा जोड्न सकिने कानुनी सुझाव पनि प्राप्त भएको अधिकारीहरु बताउँछन् । त्यस्तो अवस्थामा आरोपी दोषी भएको अवस्थामा एक महिनादेखि ३ महिनासम्म कैद र दुई हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ ।

मानव बेचबिखन तथा ओसारपसारमा २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवानासम्मका सजाय छन् । बढी सजाय हुने अन्य अवस्थालाई कसरी टेक्न सकिन्छ भन्नेबारे पनि छलफल भइरहेको एक अधिकारीले बताए । त्यसबाहेक बलात्कारमै मुद्दा चलाउन सकिने विषयमा पनि छलफल भइरहेको ती अधिकारीको भनाइ छ ।

‘पीडितले जहिले उजुरी गरे पनि ऊ पीडित नै हुन्छ । एक वर्षभित्र नगर्दा ऊ पीडित नहुने भन्ने हुँदैन । यसै तर्कलाई टेकेर एकपटक प्रयास गरौं भन्ने विषयमा पनि छलफल भइरहेको छ’, ती अधिकारी भन्छन् ।

प्रमाण जुटाउने भार अभियुक्तलाई

मानव बेचबिखन तथा ओसारपसारका मुद्दामा प्रमाण जुटाउने भार अभियुक्तलाई रहने कानुनी व्यवस्था रहेको छ । पीडितले आफूलाई पीडित सावित गर्ने र आरोपीमाथिको आरोप पुष्टि गर्नेभन्दा आरोपीले आफूलाई निर्दोष ठहर गर्नुपर्ने हुन्छ ।

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ को दफा ९ मा प्रमाणको भारबारे लेखिएको छ– प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्‍याउनु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर