इङ्लिस प्रिमियर लिग र सिरिएको उपाधि विजेता टुंगो आज, यस्तो छ समीकरण – Nepal Press

इङ्लिस प्रिमियर लिग र सिरिएको उपाधि विजेता टुंगो आज, यस्तो छ समीकरण

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबल र इटालियन सिरिएको यो सिजन उपाधि विजेताको टुंगो आइतबार लाग्दै छ । इङ्लिस प्रिमियर लिगमा पहिलो र दोस्रो टोलीबीच एक अंकको फरक छ भने सिरिएमा २ अंकको फरक छ ।

इङ्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्दैछ । अर्को खेलमा दोस्रो स्थानको लिभरपुलले घरेलु मैदानमै उल्भ्ससँग भिड्नेछ । ३७ खेलपछि म्यान सिटीको ९० र लिभरपुलको ८९ अंक छ । म्यान सिटीले जित हात पारेको अवस्थामा उपाधि जित्नेछ । बराबरी वा हारको अवस्थामा लिभरपुलको नतिजा कुर्नुपर्ने हुन्छ । लिभरपुलले जितेरमात्र पुग्दैन, म्यान सिटीको नतिजा पनि हेर्नु पर्नेछ ।

म्यान सिटीले ११ खेलयता घरेलु लिगमा हार व्यहोरेको छैन । यसबीचमा ८ जित र ३ बराबरीको नतिजा निकालेको छ । उसले अन्तिम पटक टोट्टनहामसँग हार व्यहोरेको थियो घरेलु लिगमा । त्यसयता सबै प्रतियोगितामा गरेर म्यान सिटीले १९ खेलमा ५ बराबरी, २ हार र १२ जित हात पारेको छ । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल म्याड्रिड र एफए कपको सेमिफाइनलमा लिभरपुलसँग पराजित भएको थियो ।

म्यान सिटीले एस्टन भिल्लासँग खेलेका पछिल्ला ८ खेल सबै जितेको छ । सन् २०१३ को सेप्टेम्बरयता एस्टन भिल्लाले म्यान सिटीलाई हराउन सकेको छैन । म्यान सिटी घरेलु लिगका पछिल्ला पाँच सिजनमा चौथोपटक उपाधि विजेता बन्ने प्रयासमा छ । ३७ खेलबाट ४५ अंक जोड्दै १४औं स्थानमा रहेको एस्टन भिल्लाले भने पछिल्ला तीन लिग खेलयता जित हात पार्न सकेको छैन ।

लिभरपुलले सबै प्रतियोगितामा गरेर १७ खेलयता हार व्यहोरेको छैन । घरेलु लिगमा गत डिसेम्बरयता हार व्यहोरेको छैन । यसबीचमा सबै प्रतियोगितामा खेलेका ३३ खेलमा लिभरपुलले केवल एउटामात्र हार व्यहोरेको छ भने ५ बराबरीको नतिजा निकालेको छ । लिरभपुलले उल्भ्ससँग खेलेका पछिल्ला लगातार ६ खेल जितेको छ । उल्भ्सले अन्तिमपटक सन् २०१९ को जनवरीमा लिभरपुललाई हराएको थियो । उल्भ्स अहिले अंक तालिकामा ३७ खेलबाट ५१ अंक जोडेर आठौँ स्थानमा छ ।

उल्भ्सले पछिल्ला ६ खेलयता जित हात पार्न सकेको छैन । यसबीचमा उसले ५ हार र एक बराबरीको नतिजा निकालेको छ । लिभरपुलले अन्तिमपटक सन् २०१९(२० सिजन घरेलु लिगको उपाधि जितेको थियो । इटालियन सिरिए फुटबलको यो सिजन ३७ खेलबाट ८३ अंक जोड्दै एसी मिलान शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३७ खेलबाट ८१ अंक छ ।

अन्तिम खेलमा आइतबार एसी मिलानले सस्सुओलो र इन्टर मिलानले साम्पडोरियासँग खेल्दैछन् । जित हात पारेको अवस्थामा एसी मिलानले उपाधि जित्नेछ भने अन्य अवस्थामा इन्टर मिलानको नतिजा कुर्नु पर्नेछ ।

इन्टर मिलानलाई भने आफ्नो खेल जितेरमात्र पुग्दैन । इन्टर मिलान गत संस्करणको विजेता हो। एसी मिलान भने सन् २०१०र११ पछि पहिलोपटक घरेलु लिग जित्ने प्रयासमा छ। एसी मिलानले १५ खेलयता घरेलु लिगमा हार व्यहोरेको छैन । सबै प्रतियोगितामा गरेर पछिल्ला १८ खेलमा ११ जित, ६ बराबरी र एक हार व्यहोरेको छ ।

सस्सुओलोले पछिल्ला ६ लिग खेलमा ३ हार, एक जित र एक बराबरीको नतिजा निकालेको छ । अघिल्लो खेलमा बोलोग्नालाई हराएको सस्सुओलो ३७ खेलबाट ५० अंक जोडेर तालिकाको ११औं स्थानमा छ । सस्सुओलोले एसी मिलानसँगका पछिल्ला दुई खेल लगातार जितेको छ । यता इन्टर मिलानले पनि पछिल्ला चार खेल लगातार जितेको छ। त्यसअघि बोलोग्नासँग पराजित भएको थियो, घरेलु लिगमा ।

इन्टरले सबै प्रतियोगितामा गरेर पछिल्ला १६ खेलमा ११ जित, ४ बराबरी र एक हारको नतिजा निकालेको छ । ३७ खेलबाट ३६ अंक जोड्दै १५औं स्थानमा रहेको साम्पडोरिया र इन्टरबीच भएका पछिल्ला तीन खेलमा दुवै टोलीले एक एक खेल जितेका छन् भने पछिल्लो खेल बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *