गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको शिष्टाचार भेट – Nepal Press

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा आइतबार भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ ।

भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्य एवम् दुई देशबीचको विकास साझेदारीको ६० वर्ष लामो सम्बन्धबारे छलफल भएको थियो ।

गृहमन्त्री खाणले भूकम्पछिको पुनर्निर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

भेटमा गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको उपमन्त्री जियासँग बताए । उनले विश्वमा स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पु¥याएको योगदानको प्रशंसासमेत गरे ।

मन्त्री खाणले मानव अधिकार प्रवर्द्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रुपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायको लागि उदाहरण बनेको बताए । नेपालको तर्फबाट भूटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे ।

त्यस्तै सन् १९८९ भन्दा अघि नेपाल आएका तिब्बती शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको र नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको गृहमन्त्री खाणले उपमन्त्री जियालाई जानकारी गराएका थिए । उनले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणको लागि अनुरोधसमेत गरे ।

उपमन्त्री जियाले आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमण कार्यसूचीमा राख्ने बताइन् ।

अमेरिकी सहयोग नियोग (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद व्यक्त गरेकी थिइन् ।

उनले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी दिइन् ।

भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताको सह्राना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर