रेशम चौधरीकी पत्नी भन्छिन्– उहाँ जनताको मनमा बस्नुभएको छ, संसदीय चुनावमा म लड्छु – Nepal Press
नेपाल टक

रेशम चौधरीकी पत्नी भन्छिन्– उहाँ जनताको मनमा बस्नुभएको छ, संसदीय चुनावमा म लड्छु

स्थानीय तह निर्वाचन परिणामअनुसार कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको छ । यहाँ गठबन्धन गरेर पनि कुनै पार्टीले तीनभन्दा बढी पालिका जित्न सकेनन् । तर चौधरीको पार्टी नागरिक उन्मुक्तिले एक्लै गठबन्धनलाई समेत पराजित गरी चार पालिका जितेको छ । कैलालीमा १३ स्थानीय तह छन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारलाई दोब्बर मतले हराएका चौधरीको पार्टीले अहिले उनको निर्वाचन क्षेत्रका स्थानीय तहमा एकलौटी जित्न सफल भएको हो ।

निर्वाचन आयोगमा दर्ता भएको पाँच महिना नपुग्दै कैलालीमा ठूलो शक्तिका रूपमा उदाएको पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभामा पनि धेरै सिट जित्ने दाबी गरेको छ ।

२०७२ भदौ ७ गते टीकापुर घटनामा दोषी ठहरिया चौधरी अहिले कारागारमा छन् । उनकी श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष बनेर खोलेको नागरिक उन्मुक्ति पार्टीले रेशमलगायत बन्दीहरूको रिहाइका लागि पहल गर्ने बताएको छ ।

रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यसपटक उनकी श्रीमती निर्वाचनमा होमिने तयारीमा छिन् । स्थानीय तहमा पाएको सफलतालाई नागरिक उन्मुक्ति पार्टीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निरन्तरता दिन सक्ला त ? प्रस्तुत छ, स्थानीय तहको उपलब्धि र आगामी रणनीतिका विषयमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीसँग गरिएको कुराकानी नेपाल टकमा–

स्थानीय तह निर्वाचनको परिणामलाई कसरी लिनुभएको छ ?

हामी धेरै सफल भएका छौं । हाम्रो पार्टी दर्ता भएको चार महिना पनि भएको थिएन । पार्टीको प्रमाणपत्र पाएको तीन महिनाभित्रै स्थानीय तहको निर्वाचनमा होमिनु हाम्रो लागि निकै ठूलो चुनौती थियो । यसका बाबजुत पनि जुन परिणाम आयो, यो हाम्रो उपलब्धी हो ।

कैलाली, कञ्चनपुर मात्रै नभइ अन्य जिल्लामा पनि उम्मेदवारी दिनु भएको थियो । तर, कैलालीका चार पालिमा मात्रै जित्नु भयो । अनि कसरी सफल भन्नुहुन्छ ?

धेरै ठाउँमा जित हासिल गर्छौं भनेर हामी लागेका थियौं । तर, रेशम जीको आफ्नो क्षेत्रमा हामीले जित्न सफल भयौं । त्योसँगै कैलाली क्षेत्र नम्बर ३ को भजनीमा पनि हामीले जित हासिल गरेका छौं ।

बर्दगोरिया, लम्की चुहा, बर्दिया, दाङमा पनि हामीले उम्मेदवारी दिएका थियौं । त्यहाँ पनि मत परिणाम त राम्रै आएको थियो । तर, जितसम्म पुग्न सकेनौं । त्यहाँबाट राम्रो मत आएका कारणले पनि हामी सफल भएको मान्छौं ।

आमनागरिकले हामीलाई गरेको विश्वासकै परिणाम हो यो । जनता जनार्दन हुन् । जनताले हामीलाई नै रोज्नु भयो । त्यहीं भएर पनि हामीले यो उपलब्धी पाएका हौँ ।

कुनै दलसँग चुनावी तालमेल गरेको भए बढी ठाउँमा जितिने रहेछ जस्तो लागेको छ कि छैन ?

त्यस्तो हामीलाई लागेको छैन । हामीले सुरुबाटै एक्लै निर्वाचनमा होमिने भन्दै हिँडिरहेका थियौं । विभिन्न पार्टीहरूले तालमेल गर्ने कुरा गर्दा पनि हामी एक्लै नै अगाडि बढेका थियौं र एक्लै नै सफल पनि भयौं ।

अब जिल्ला समन्वय समिति बनाउनेबारे के सोच्नु भएको छ ?

त्यसका लागि हामीले छलफल गरिरहेका छौं । कुन दलसँग मिलेर जाने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन ।

यसअघि कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरी उम्मेदवार बन्नु भएको थियो । अहिले उहाँ कारागारमा हुनुहुन्छ । अब त्यो क्षेत्रबाट तपाईं प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुहुन्छ ?

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै छ । अबको केही महिनापछि निर्वाचन हुनेछ । त्यसको पनि हामी तयारीमा छौं । र उक्त क्षेत्रमा मेरो उम्मेदवारी हुन्छ ।

स्थानीय तह निर्वाचनको लागि प्रचारमा जाँदा रेशम चौधरीप्रति आमनागरिकको बुझाइ कस्तो पाउनु भयो ?

उहाँ नागरिकको मन मनमा बस्न सफल हुनुभएको छ । अहिले मात्र होइन, २०७४ सालमा पनि यहाँका मतदाताहरूको मनमा बस्न सफल रेशम भएका कारण चुनाव जित्नुभयो ।

अहिले पनि रेशम चौधरीको पार्टी भन्नेबित्तिकै सबै नागरिकहरूले विश्वास गर्नुभएको छ । हामी भर्खरै खुलेका हौं, तर पनि सबै नागरिकहरूले हामीलाई धेरै विश्वास गर्नुभएको छ । यो रेशम जीका लागि आएको मत पनि हो ।

चुनाव जिते उहाँको रिहा हुन्छ भन्ने प्रचारका कारण जितेको भन्ने आरोप छ नि !

होइन, हामीले यो एजेण्डा बनाएका छैनौं । हामी जुन–जुन ठाउँमा भोट माग्न गएका थियौं, उहाँहरूले नै भन्नुहुन्थ्यो– हामीले रेशम चौधरीलाई भोट दिए उहाँ हाम्रो गाउँमा फर्किएर आउनु हुन्छ । हामीले भोट दिएर हाम्रो रेशम चौधरीलाई रिहा गराउन सक्छौं ।

भोट दिएपछि रेशम चौधरी रिहा हुनुहुन्छ भनेर हामीले भनेका थिएनौं ।

उहाँको रिहाइ त यो जनमतबाट सम्भव छैन । थप के पहल गर्नुहुन्छ ?

हाम्रो क्षेत्रबाट उहाँको रिहाइको लागि पहल नगर्ने कुरा छैन । हामी निरन्तर लागिरहेका छौ । अझै पनि लागिरहने छौं ।

रेशम चौधरीको मात्र कुरा पनि होइन, २०७२ सालमा अरू पनि राजबन्दीहरू हुनुहुन्छ, उहाँहरूको पनि रिहाइको कुरा हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न कारागारहरूमा कयौं राजबन्दीहरू राखिएका छन् । उहाँहरूको रिहाइको लागि हामी पहल गर्नेछौं ।

अदालतले दोषी ठहर गरेका चौधरीलगायत नेताहरूको रिहाइ सम्भव होला त ?

सम्भव छ । यो कुनै आपराधिक घटना होइन, राजनैतिक घटना हो । त्यसैले सम्भव छ ।

अहिले चौधरी बाहुल्यता भएको क्षेत्रमा मात्रै तपाईंहरूको पार्टी केन्द्रित छ नि !

होइन, यो पार्टी हरेक क्षेत्रमा अगाडि बढ्छ । अहिले पनि हाम्रो उम्मेदवारी इटहरीबाट पनि भएको थियो । मोरङबाट पनि भएको थियो । रेशम जीको क्षेत्र कैलाली भएको हुँदा मात्रै अरूलाई यस्तो लागेको हो ।

रेशम चौधरीकाे साख जोगाउन तपाईं सफल हुनुहोला त ?

अवश्य पनि त्यो मत पाउँछु । त्यसमा ढुक्क छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर