बिपी साह- जो पराजयमा पनि खुसी मनाइरहेका छन् – Nepal Press

बिपी साह- जो पराजयमा पनि खुसी मनाइरहेका छन्

जनकपुरधाम । चुनाव जितेपछि जोसुकै उम्मेदवार खुसी हुन्छन् । विजयी भएका उम्मेदवारले विजयी जुलुस निकाल्ने परम्परा नै छ हाम्रो समाजमा । तर त्यो परम्परा तोडेर मेयरमा पराजित भएका बिपी साह यति बेला खुसीयाली मनाइरहेका छन् ।

साह जनमत पार्टीबाट धनुषाको सबैला नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनी पराजित भए, दुःखी छैनन । पराजितलाई पनि उनले विजयी ठान्दै उनले सामाजिक संजाल मार्फत खुसीयाली मनाउन आफ्ना समर्थकलाई अपिल नै गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो जनमत पार्टी (जपा) र मेरो लागि पनि यो आम चुनाव पहिलो थियो । जनमत पार्टी वा मैले हार्ने कुनै सिट नै थिएन । १ मत भए पनि हामी जित्ने नै हौँ । र, उम्मेदवारी दिएको हरेक पालिकामा हामीले जित्यौँ । हामीले कुनै सिट गुमाएनौँ। भूमिका मात्र फरक भयौं ।’

सबैलाको कुल सदर मत १९६९६ छ । त्यसको १० प्रतिशतभन्दा बढी मत अर्थात् १९८९ मत साहले पाए । ‘पहिलो प्रयास मै १० प्रतिशतभन्दा बढी मत ल्याउनु ठूलो उपलब्धि हो’, उनको दाबी छ, ‘आउँदो चुनावमा हाम्रा एक जना मतदाताले अर्को एक जना मतदाता मात्र थप्ने हो भने हामी प्रक्रियागत चुनाव सहजै जित्ने छौँ ।’

जितेका उम्मेदवार वा गठबन्धनभन्दा आधा मत एक्लैसँग भएकोले हामी सशक्त प्रतिपक्षीको भूमिकामा उभिनुपर्छ र जसका लागि तयार रहेको उनले उल्लेख गरेका छन् । उनले आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहन पनि आग्रह गरेका छन् ।

सबैलाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव विजयी भएका हुन् । उनी माओवादी नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवका भाइ हुन् ।

पाँच दलीय गठबन्धनका अघोषित उम्मेदवार भए पनि यादव मात्र २१ प्रतिशत मत ल्याएर प्रक्रियागत विजयी भएको भन्दै पराजित उम्मेदवार साहले विजयी सबैमा बधाई ज्ञापन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर