गठबन्धन मूलभूतरुपमा सफल भयो, संघीय निर्वाचनमा पनि निरन्तरता दिन्छौं: प्रचण्ड – Nepal Press

गठबन्धन मूलभूतरुपमा सफल भयो, संघीय निर्वाचनमा पनि निरन्तरता दिन्छौं: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।

उनले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै मूलभूतरुपमा गठबन्धन सफल भएको बताएका हुन् ।
उनले भने, ‘हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।’

उनले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताए ।

मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाए।

उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको उल्लेख गरे । अध्यक्ष दाहालले भने, ‘निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।’

उनले मध्यपुरथिमि भक्तपुरको एउटा ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने बताए।

मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो । ‘त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईहरु आउनुभएको छ’, अध्यक्ष दाहालले भने । उनले विजयी जनप्रतिनिधिलाई अब राम्रो काम गर्ने चुनौति रहेकातर्फ सचेत पनि गराए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदन सुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी उत्तरा नेपालले आठ हजार ९८३ मत प्राप्त गर्नुभएको थियो ।

कूल नौ वडा रहेको सो नगरपालिकामा ४१ हजार ८४२ मतदाता थिए । कूल १७ मतदान केन्द्र रहेको मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारले जनपक्षीय काम गर्ने प्रतिबद्धतासमेत जनाएक छन् ।


प्रतिक्रिया

One thought on “गठबन्धन मूलभूतरुपमा सफल भयो, संघीय निर्वाचनमा पनि निरन्तरता दिन्छौं: प्रचण्ड

  1. काँग्रेस र माओवादीले अर्काे साँठगाँठ गरेर समाजवादी र जसपालाई धाेका दिएर , उनीहरूका भाेट लुटेर २/४ सिट बढाउँदैमा गठबन्धन सफल हुन्छ ? लुटन र विदेशीकाे सेवा गर्न बनेकाे हाे याे गठबन्धन । यी विदेशीका दलालहरूलाई अवश्य जनताले सजाय दिनेछन् ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर