सभागृहको दृष्य : बालेनका समर्थक उमंगमा, एमालेका कार्यकर्ता विरहमा (तस्बिरहरू) – Nepal Press

सभागृहको दृष्य : बालेनका समर्थक उमंगमा, एमालेका कार्यकर्ता विरहमा (तस्बिरहरू)

बिहान सवा दश बजेतिर काठमाडौं महानगर ४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष दिनेश महर्जन १५० को हाराहारीमा आफ्ना समर्थक लिएर राष्ट्रिय सभागृह आइपुगे । २३ सय बढी मतान्तरले निकटतम प्रतिस्पर्धीलाई पछि पारेका महर्जनको अनुहारमा भने त्यस्तो उमंग थिएन ।

महर्जनले ४६०० मत प्राप्त गरेर जीत सुनिश्चित गर्दा उनकै पार्टीबाट मेयरको उम्मेदवार रहेका केशव स्थापितले सो वडाबाट १९२४ मात्र पाए । स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३९५६ मत पाए । आफू निर्वाचित भए पनि आफ्नो पार्टीको मेयर उम्मेदवारले आफूभन्दा आधा कम मत पाएको असन्तुष्टि महर्जनमा प्रष्टै देखिन्थ्यो ।

हामीले मेयरलाई कम र वडाध्यक्षलाई दोब्बरभन्दा बढी मत आउनुको कारणबारे बुझ्दा खोज्दा उनले भने, ‘वडामा मेयरलाई कम मत आउनुको कारण अलिकति गहिरो गरी बुझ्नुपर्नेछ । अहिले मतदाताले नयाँ युवालाई पो खोजेको हो कि लागेको छ ।’

यसपछि महर्जनलाई कार्यकर्ताहरुले अबिरले रंगाइदिए । अनि नारा लगाउँदै सभागृहबाट बाहिरिए । पाँचै वडामा वडाध्यक्ष एमालेले जितेको छ । पाँचै वडाका वडाध्यक्षहरु १५० जति कार्यकर्ता सहित आएर महर्जन जसरी नै अबिर लगाएर नारा घन्काउँदै गएका छन् ।

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मतगणना भइरहेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले झण्डै दोब्बर मतले अग्रता लिइरहेका छन् । कांग्रेसका सृजना सिंह र एमालेका केशव स्थापित साहभन्दा धेरै पछि छन् ।

सुरुवातमा सभागृहमा तामझाम सहित पुगेका एमाले र कांग्रेसका कार्यकर्ता जति–जति साहले मतान्तर बढाउँदै लगे, उतिउति सुस्त हुँदै गए । अहिले त दिउँसोतिर एमाले र कांग्रेसका कार्यकर्ता भेटिनै हम्मेहम्मे पर्छ । भृकुटीमण्डपका चियापसलमा दुईचार कार्यकर्ताहरु उदासिन मुद्रामा गफ गरिरहेका भेटिन्छन् ।

मतगणनाको छैटौं दिन २ बजेतिर पहिलोपटक सभागृहमा पाइला टेकेकी कांग्रेसकी मेयर उम्मेदवार सिंह पनि आफूले जित्नेमा उस्तो ढुक्क देखिइनन् । आफ्ना छोरा र दुईचार जना नजिकका मान्छेसित आइपुगेकी थिइन् उनी । श्रेष्ठ आइपुग्दा सभागृह अगाडि कांग्रेसका कार्यकर्ता कोही थिएनन् । सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘मत परिणामलाई सहजै रुपमा लिएका छौं । अहिले बोलिहाल्दा छिटो हुन्छ । अब हामी छलफल गरेर निष्कर्षमा पुग्छौं । अझैं राम्रो होला कि भनेर विस्वस्त छौं । अहिले त्यति नराम्रो पनि भएको छैन । जित्ने आशा अझैं काँकी छ ।’

श्रेष्ठ महानगरको वडा नम्बर ८ को मतगणनामा अग्रता लिएकै वेला सभागृह आइपुगेकी थिइन् । सभागृह प्रवेश गर्ने वेला म्यादी प्रहरीले ब्याग लैजान नपाउने बताएपछि ब्यागलाई बाहिरै छाडेर भित्र छिरेकी थिइन् ।

अर्का प्रत्याशी स्थापित पहिलो दिन साँझमा झुलुक्क पुगेका थिए । त्यसपछि उनले अहिलेसम्म सभागृह टेकेका छैनन् । श्रेष्ठले भने छैटौं दिन सभागृह टेकिन् ।

राज्यको मर्यादाक्रममा दशौं स्थानमा आइपुग्ने एक्लो महानगर काठमाडौंको मतगणना क्षेत्र सुनसान प्राय छ । एमाले र कांग्रेसका कार्यकर्ता छैनन् । बरु सभागृह अगाडि म्यादी र नेपाल प्रहरीहरुले ढाकेका छन् । पाँच वडा जितेका एमालेका उम्मेदवार आउने, अबिर जात्रा गर्ने र बागाजागा सहित आफ्नो वडा फर्कने वेला बाहेक ठूलो संख्याका कार्यकर्ताहरु देखिँदैनन् ।

उता साहका प्रतिनिधिहरुलाई मतगणना गर्न भ्याइनभ्याइ छ । उनीहरु हातमा कापी र कलम लिएर हरेक मतको टिपोट गरिरहेका हुन्छन् । उनीहरु जति उत्साही भएर एक एक मत टिपोट गरिरहेका हुन्छन्, उत्ति नै निराश भेटिन्छन् कांग्रेसका प्रतिनिधिहरु । हामी उभिएको छेवैमा कांग्रेसका दुई प्रतिनिधि कुरा गरिरहेका थिए । एकले भनिरहेका थिए, ‘एउटा वडा पनि जित्न सकिएको छैन । अब हाम्रो राम्रो पकड भएका वडाहरुमा चाहिँ जितिन्छ कि !’ अर्काले थप्दै थिए, ‘देशभर जिते पनि काठमाडौंमा फेरि हारियो ।’

एमालेका प्रतिनिधिहरु वडा जिते पनि, उपमेयर जित्ने पक्का भए पनि उस्तो उत्साहित छैनन् । उनीहरुको एउटै भनाइ छ, ‘मेयरमा सन्तोषजनक मत आएन । यसपटक ठूलो अन्तर्घात भयो ।’

तर, उनीहरुले आशा मारिसकेका छैनन् । एमालेका एक प्रतिनिधि भन्दै थिए, ‘अब कोर सिटीको आशा छ । तर, अहिलेजस्तै अवस्था भयो भने खत्तम हुन्छ ।’

एमाले र कांग्रेसका प्रतिनिधिहरु एउटा कुरामा चाहिँ विस्वस्त रहेछन्, ‘मान्छेले परिवर्तन चाहिरहेका छन् । त्यसैले कोर सिटीमा पनि फरक नतिजा नआउन सक्छ ।’

मगतणनाको सुरुवाति अवस्थामा एमाले र कांग्रेसका कार्यकर्ता पंक्तिमा यस्तो सन्नाटा थिएन । उनीहरु आफ्नो पार्टीले विस्तारै लिड लिने कुरामा विस्वस्त थिए । तर, जसै साहले लगातार अग्रताको ग्राफ बढाउँदै लगे, उनीहरुमा निराशाको ग्राफ पनि उकालो चढ्यो ।

सुरुवाती चरणमा अग्रता लिँदै गएपछि साहका समर्थकहरु उत्साहित भएर रातरातभर त्यहाँ बसे । नारा लगाउने, गीत गाउने नियमित कर्म भइदिएको थियो । तर, सार्वजनिक बिदा सकिएपछि भने उनीहरु कलेज जाने, अफिस जाने भएकाले दिउँसो चार पाँच बजेपछि केही संख्यामा जम्मा हुन्छन् । माइकिङ गर्छन् र नारा लगाउँछन् । पहिलाजस्तो ठूलो भिड नभए पनि उनीहरु नियमित आइरहेका छन् ।

बीचमा उपमेयरकी उम्मेदवार सुनिता डंगोल आए पनि मिडियासित कुराकानी गरेकी थिइनन् । भित्र गणनस्थलमा नेकपा एसका उपमेयर रामेश्वर श्रेष्ठको प्रतिनिधि मात्रै छन् । न बाहिर उनका समर्थक भेटिन्छन्, न रामेश्वर श्रेष्ठ नै भेटिन्छन् । साह, सिंह, स्थापितका प्रतिनिधिले पनि मेयरका शीर्ष ३ जनाको मात्रै मत संख्या टिप्छन् । उपमेयरको प्रायले मत संख्या नै टिप्दैनन् ।

एमाले, कांग्रेसका प्रतिनिधि भन्छन्, ‘वडाध्यक्षदेखि सदस्यसम्म प्यानलै कांग्रेस अथवा एमालेको उम्मेदवारमा आउँछ, तर अन्तमा मेयरमा भने लौरोमा छाप हुन्छ ।’

सभागृहमै भेटिएका वडा नम्बर १ का एमालेका एक प्रतिनिधिले भने, ‘हामीले कोसिस गरेकै हौं, मतदातालाई कन्भिन्स गरेकै हौं । राम्रो बोलिचाली भएन भने मान्छेले राम्रो मान्दैन । हाम्रो मत नआउनुमा हाम्रो उम्मेदवारको बोलिचाली पनि हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर