गठबन्धनमा हेपिएको नेकपा एस- मधेसका चारपालिकामा एक्लै जित निकाल्न सफल – Nepal Press

गठबन्धनमा हेपिएको नेकपा एस- मधेसका चारपालिकामा एक्लै जित निकाल्न सफल

काठमाडौं । एमाले विभाजनबाट जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टी स्थापनापछिको पहिलो निर्वाचनमै निकै कमजोर देखिएको छ ।

देशभरका ७५३ स्थानीय तहमा भएको निर्वाचनका हालसम्म जम्मा १२ स्थानीय तहको नेतृत्व मात्रै जितेको छ । गणना जारी रहँदा ७ वटामा अग्रता लिइरहेको छ । उपाध्यक्ष/उपमेयरमा १२ मा जित निकाल्दा ५ मा अग्रता कायम छ ।

पालिका जितेकामध्ये नेकपा एस दुईवटामा निर्विरोध निर्वाचित भएको हो । डोल्पाको काईके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना निर्विरोध भए । जहाँ कांग्रेसका तर्फबाट निमा बुढालाई निर्विरोध निर्वाचित गरिएको छ । यहाँ कांग्रेस, एमाले र नेकपा एसको दलीय सहमतिका आधारमा निर्विरोध निर्वाचन गरिएको हो ।

यस्तै डोल्पाकै छार्का तामसोङ गाउँपालिकामा पनि कांग्रेस, एमालेसँगकै सहमतिमा नेतृत्व नेकपा एसले पाएको छ । यहाँको उपाध्यक्ष भने एमालेलाई दिइएको छ । डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्ष पनि निर्विरोध नेकपा एसले पाएको छ ।

नेकपा एसले एक्लै भने अहिलेसम्म चार स्थानीय तहमा मात्रै विजयी भएको छ । रौतहटको गौर नगरपालिका, राजदेवी नगरपालिका, सप्तरीको शम्भुनाथ नगरपालिका र सिरहाको सखुवान्कारकट्टी गाउँपालिका छन् । यीमध्ये रौतहटका गौर र राजदेवी र सप्तरीको शम्भुनाथमा मेयर र उपमेयर दुवै जितेको छ भने सिराहाको सखुवान्कारकट्टी गाउँपालिकामा अध्यक्षमात्रै जितेको छ ।

गौर नगरपालिकामा मेयरमा शम्भु साहले ६ हजार ३८१ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ३ हजार ७५५ मत, कांग्रेसका मोहनकुमार यादवले ३ हजार २११ मत पाएका छन् ।

उपमेयरमा पनि नेकपा एसकै शैलकुमारी साहले ४ हजार ८०९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शाहजान खातुनले ३ हजार ६८५ मत ल्याउँदा लोसपाकी उषा झाले २ हजार ५६० मत पाइन् ।

यस्तै राजदेवी नगरपालिकामा नेकपा एसका भिखारीप्रसाद यादवले ६ हजार ९९९ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका धिरेन्द्रकुमार सिंहले ३ हजार ७१७ र एमालेका अंशु सिंहले १ हजार ३९७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एसकी राजकुमारी देवीले ६ हजार १६४ मत ल्याएर विजयी हुँदा कांग्रेसकी अर्चनाकुमारी यादवले ३ हजार ४९ लोसपाकी बबिता सिंहले १ हजार ५३५ मत प्राप्त गरेकी छन् ।

यस्तै सप्तरीको सम्भुनाथ नगरपालिकाको मेयरमा नेकपा एसका जितेन्द्रप्रसाद गुप्ता कलवारले ५ हजार ३९२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्दकुमार चौधरीले ४ हजार १४३ र जनता समाजवादी पार्टीका विनोदकुमार चौधरी २ हजार ८३५ मत ल्याएका छन् ।

उपमेयरमा नेकपा एसकै अनिताकुमारी चौधरीले ४ हजार ९९८ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वीहरू कांग्रेसकी जलपनाकुमारी सरदारले ४ हजार २७१, जसपाकी सूर्यकलाकुमारी मण्डलले २ हजार ४५५ मत ल्याएकी छन् ।

सिराहाको सखुवान्कारकट्टी गाउँपालिकाको अध्यक्षमा केदारनाथ यादवले ३ हजार ४०७ मत सहित विजयी कांग्रेसका शत्रुघनप्रसाद साहले ३ हजार ३८१ मत प्राप्त गर्दा जसपाका प्रयागराज यादवले १ हजार ८०४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने कांग्रेसकी ३ हजार ४६२ मत ल्याएर विजयी भइन् । उनलाई पछ्याएकी नेकपा एसकी प्रमिला यादव ३ हजार २२६ मत मात्रै पाएकी छन् ।

यसबाहेक नेतृत्व जितेका बाँकी तहहरूमा उदयपुरको उदपुरगढी गाउँपालिका, दोलखाको तामाकोशी गाउँपालिका, काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका, धादिङको धुनिबेशी नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकामा सत्तारूढ गठबन्धनका कांग्रेस र माओवादी केन्द्रसँगको तीनदलीय गठबन्धनमा नेकपा एसले जित निकालेको हो ।

यसबाहेक सल्यानको कपुरकोट गाउँपालिकामा भने माओवादी केन्द्रसँगको दुईदलीय तालमेलमा मात्रै नेतृत्व जितेको छ ।
अग्रता लिइरहेका ७ स्थानीय तहमा पनि सबैजसोमा तालमेलबाट मात्रै सम्भव भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर