केन्द्रीय सदस्य भएका अधिकांश वडामा एमालेका उम्मेदवार पराजित, कार्यकर्ता रुष्ट – Nepal Press

केन्द्रीय सदस्य भएका अधिकांश वडामा एमालेका उम्मेदवार पराजित, कार्यकर्ता रुष्ट

सुर्खेत । दैलेख एमालेको ‘राम्रो जिल्ला’ मध्येमा पर्छ । तर यहाँ यसपालिको स्थानीय तह निर्वाचन परिणाम एमालेको पक्षमा आएन ।

यसपालिको चुनावमा एमालेले पहिले जितेका दुई पालिकाबाहेक सबै गुमाएको छ । २०७४ सालमा एमालेले नारायण, चामुण्डा विन्द्रासैनी, आठबीस नगरपालिका, महावु, भैरवी, भगवतीमाई र ठाँटीकाँध गाउँपालिकामा जितेको थियो । यसपटक भने आठबीस नगरपालिका र नारायण नगरपालिकाबाहेक सबै पालिकामा एमाले पराजित भयो ।

एमालेले काँग्रेसको गढ भनिएको डुंगेश्वर र गुराँस गाउँपालिकामा यसपटक विजय प्राप्त गरेको छ ।

र रोचक के छ भने यहाँका केन्द्रीय नेताको वडामा भने एमाले पराजित भएको छ । केन्द्रमा यो जिल्लाबाट धर्मराज रेग्मी, सूर्यकुमारी श्रेष्ठ, मिनासिंह रखाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विष्णु रिजाल र प्रदेश अध्यक्ष विनोद कुमार शाह प्रतिनिधित्व गर्छन् ।
एमालेबाट पोलिटब्यूरो सदस्य तथा दैलेख इन्चार्ज रहेका लक्ष्मीप्रसाद पोखरेल दुल्लु नगरपालिकाका हुन् । उनको नगरपालिकामा एमाले पराजित भएको छ । २०७४ सालको निर्वाचनमा उपप्रमुख सहितबहुमत वडा जितेको एमालेले यो पालिका प्रमुख जित्न सकेन । जिल्लाको इन्चार्ज रहेका पोखरेलले वडाअध्यक्ष जिताउन सफल भए पनि पालिका जिताउन नसकेको भन्दै आरोप खेपिरहेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीको पालिका भगवतीमाई गाउँपालिकामा एमाले क्लीनस्वीप भएको छ । यहाँ एमालेले २०७४ सालमा पालिका जिते पनि यसपटक वडा अध्यक्षसमेत जित्न सकेन ।

सात वडा रहेको भगवतीमाई गाउँपालिकामा एमाले तेस्रो भएपछि रेग्मीले पनि आरोप खेपिरहेका छन् ।

एमाले केन्द्रीय सदस्य मिनासिंह रखालको नारायण नगरपालिका वडा नम्बर ९ पनि एमाले पराजित भएको छ ।

सूर्यकुमारी श्रेष्ठ पनि एमालेका केन्द्रीय सदस्य हुन् । उनी नारायण नगरपालिका वडा नम्बर १ की हुन् । उनको वडामा जहिल्यै एमाले जित्दै आएको थियो । तर यसपालि भने यहाँ एमाले पराजित भएको छ ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा नम्बर ६ मा पनि एमाले पराजित भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् सांसद राजबहादुर बुढा, एमालेका मेयर उम्मेदवार सूर्यबहादुर शाहीले समेत प्रतिनिधित्व गर्ने वडामा नेता धेरै हुँदा पराजय भोग्नु परेको आरोप कार्यकर्ताले लगाएका छन् ।

दुल्लु नगरपालिका– ११ प्रदेशसभा सदस्य शुशील थापाको वडा हो । यो वडा तत्कालीन कालभैरव गाविस थियो । यहाँ सधैं एमालेले जित्ने गरेको भए पनि यसपटक यो वडा पनि एमालेले गुमाएको छ ।

यो नगरपालिकाको मेयर पदमा उठेका रुद्र शाहीले समेत आफ्नो वडामा कांग्रेसको भन्दा ५५ मत कम ल्याए, वडा गुमाए ।
कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले ठाँटीकाँध गाउँपालिकामा आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको टिकट दिलाए । शाह त पारजित भइन् नै, उनको वडा नम्बर एक समेत कांग्रेस जित्यो ।

अहिले उनको वडासमेत जिताउन नसक्ने नेता भनेर आलोचना भइरहेको छ । यहीं पालिकाको वडा नम्बर ६ मा सभामुख राजबहादुर शाहीले समेत वडा जिताउन सकेनन् ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजाल र जिल्ला इन्चार्ज पोखरेलले मात्रै आफ्नो वडा जिताउन सफल भए । रिजालले भैरवी गाउँपालिकाको वडा नम्बर ५ जिताए । यो वडामा एमालेले पहिलोपटक जित हात पारेको हो । २०७४ सालमा पोखरेलको दुल्लु नगरपालिकाको वडा नम्बर ५ मा एमालेले हारेका थियो । तर यसपटक भने जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर