आन्दोलनमा हर्क साम्पाङलाई कुटेको कांग्रेस चुनावमा साम्पाङकै ‘लौरो’बाट कुटियो ! – Nepal Press
ब्लग

आन्दोलनमा हर्क साम्पाङलाई कुटेको कांग्रेस चुनावमा साम्पाङकै ‘लौरो’बाट कुटियो !

इटहरी । मतदान सकिएपछि प्रारम्भिक नतिजा आउँदै थियो । धरानमा धेरैले नपत्याएका हर्क साम्पाङले राम्रो मत ल्याउन थाले । त्यही समयमा इटहरीमा भएको एक बसाइमा उद्योग वाणिज्य संघ इटहरी अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी २ का महाधिवेशन प्रतिनिधि भीम पौडेलले भनिहाले, ‘हाम्रो कुटाइ खाएको मान्छे हो ।’ त्यहाँ रहेका कतिपय युवा नेताहरुले त्यसको अर्थ बुझेनन् ।

जोसुकैले सजिलोसँग बुझ्न नसकिने त्यो प्रसंग स्वयं हर्क साम्पाङले भने राम्रोसँग बुझेका छन् । धरानका धेरै पत्रकारदेखि जानकारहरुले बुझेका छन् ।

कांग्रेसले हर्क साम्पाङ कुटेको प्रसंग धरानको अव्यवस्थित खोला दोहनसँग जोडिएको छ । खोला दोहन गरेर खोलाका गिटी बालुवा लाने ठेकेदार थिए भीम पौडेल । खोलाकै ठेकेदारीले उनको कमाइधमाई राम्रो छ । उनको राजनीति बलियो भएको छ । मोरङ र सुनसरीमात्रै हैन प्रदेश १ का धेरै खोला उत्खनन्मा सक्रियहरुले सहजै चिन्ने नाम भीम पौडेल नै हो ।

उनै पौडेल जोडिएको प्रकरणमा हर्क साम्पाङ कुटिएका थिए । नेपाली कांग्रेसका नेता तथा धराने मेयर तिलक राईको आडबलमा स्थानीयको खबरदारीका बाबजुद धरानमा खोला दोहन भएको थियो । स्थानीयको कुरा कसैले सुनेन । वनरक्षकहरु दोहोन रोक्न पुगे । धरानका नगर प्रहरीले खेदेर पठाए । धरानको प्रहरी मूकदर्शक बन्यो ।

नागरिकस्तरमा व्यापक माग भयो, ‘दोहोन रोक्न हर्क साम्पाङको समूह लाग्नुपर्‍यो ।’ बस्तीलाई असर गर्ने गरी भइरहेको सर्दु खोला दोहन रोक्न साम्पाङको समूह पुग्यो । प्रहरी र गुण्डाहरुले साम्पाङको समूहमाथि हमला गरे । २०७८ जेठ २६ गते दिउँसो पौने २ बजे भएको हमलामा साम्पाङको समूहका राजेश खिम्दुङलाई गहिरो चोट लाग्यो ।

सुरक्षाकर्मी र गुण्डाको दोहोरो मारमा परेका साम्पाङ समूहले आफै पीडित हुँदा पनि पीडक भएको जस्तो गरियो । उल्टै उनीहरुविरुद्ध मुद्दा लगाइयो । साम्पाङ समूहका ७ जना पक्राउ परे । साम्पाङविरुद्ध पनि मुद्दा लगाइयो । झूटो मुद्दाको मारमा परेका साम्पाङ धेरै दिन भूमिगत बसे । अवस्था सामान्य भएपछि मात्रै उनी सार्वजनिक भए ।

चुनावअगाडि पङ्क्तिकारसँग धरानमा कुरा गर्दा साम्पाङले २०७८ जेठ २६ को घटनामा तीनजनाको मिलेमतो भएको बताएका थिए । धरानका मेयर तिलक राई, धरानका तत्कालीन डीएसपी ज्ञानेन्द्र बस्नेत र खोला ठेकेदार भीम पौडेल । तिलक राई खोला दोहनमा मात्रै होइन सखुवा काठ काटेको विषयमा पनि विवादित मेयर हुन् ।

धरानमा एमाले किल्ला भत्काएर २०७६ को चुनावमा कांग्रेसको शीर उठाएका तिलकले सखुवाको रुख काटेर कांग्रेसको शीर गिराउने काम गरे । २०७७ भदौ १३ मा को १ ज ६४० नम्बरको स्कोर्पियोमा मान्छे पठाएर तिलक राईले धरान २० भालुडुंगा सामुदायिक वनको रुख कटाएका थिए । त्यसको असर धरान कांग्रेसमा धेरै प¥यो । प्राइम टीभीसँगको एक सार्वजनिक कार्यक्रममा मेयर उम्मेदवार किशोर राईले खुलेरै भने, ‘म मेयर भएपछि तिलक राईको छानबिन हुन्छ ।’

हर्क साम्पाङको अभियानको बाधक कांग्रेसमात्रै हैन । धरानमा एमालेका मेयर तारा सुब्बादेखि कार्यबाहक मेयर मञ्जु भण्डारीको नेतृत्व हुँदा पनि साम्पाङ समूहलाई उपेक्षा गरिएको थियो । आफूले पटकपटक ज्ञापनपत्र बुझाउन जाँदा प्रहरी लगाएर मेयर र उपमेयर गायब भएको साम्पाङले चुनाव अगाडि सुनाएका थिए ।

धरानको खानेपानी संकटको आवाज बुलन्द गर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज ओकल्ने, खोला दोहनको विरोध गर्नेदेखि सूचनाको हक र भ्रष्टाचारविरोधी आन्दोलनमा सक्रिय साम्पाङले अहिले सबै दलहरुलाई सरप्राइज दिएका छन् । जितको दाबी गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसलाई सहजै जित नहुने देखाइसकेका छन् । एमालेलाई त घरी दोस्रो र घरी तेस्रोमा पार्न साम्पाङको जनमतले काम गरिसकेको छ । राप्रापा प्रतिस्पर्धामा आएकै छैन ।

धरानका सबै दलहरुले सडकका आधारभूत मुद्दा बिर्सेर सत्तामा कुनै न कुनै रुपमा जोडिएपछिको रिक्ततामा हर्क साम्पाङ देखिनेगरी आएका थिए । उनको आगमनमा मुद्दा जायज भए पनि कतिपय अराजकता पनि नदेखिएका हैनन् । उनले आन्दोलनको क्रममा धरानको खानेपानीको पाइप तोडफोड गरे, आक्रोश पोखे । तर, उनका जायज मुद्दामा भन्दा अराजकतालाई स्थानीय मिडियादेखि सत्ताले मुख्य भाष्य बनायो । त्यही भाष्यकै असर काठमाडौंका बालेन साहदेखि धनगढीका गोपी हमाल हाराहारीको स्तरमा मिडियामा सकारात्मक चर्चा हर्क साम्पाङको हुन पाएन ।

मिडिया र सत्ता भाष्यमा राम्रो नदेखाइए पनि हर्क साम्पाङलाई धराने मतपत्रहरुले साथ दिइरहेका छन् । मिडियाले आफ्नो अभियानमा साथ नदिएकोमा उनले एकताका मोबाइलको लाइट दिउँसै बालेर धरानमा ‘गैरदलीय पत्रकार’ खोजेको भन्दै हिँडेका थिए ।

साम्पाङले मेयरको रुपमा जित्छन् वा हार्छन्, त्यो अन्तिम नजिताले भन्छ । अहिले यसै भन्न सकिन्न । तर, धरानको सडकको खास आवाजको रुपमा भने साम्पाङकोे स्वरले जितिसकेको छ । अहिलेसम्मको चुनावी गणितले उनले सबैभन्दा धेरै तनाव कांग्रेसलाई दिएका छन् । शतप्रतिशत जित्ने आत्मबलले चुनावमा होमिएका कांग्रेस नेतृत्वको गठबन्धन मेयर उम्मेदवारलाई आच्छु आच्छु पार्नुमा साम्पाङको नागरिक आन्दोलनको जराले काम गरेको छ ।

यति चैं सहजै भन्न सकिन्छ – सडकमा आन्दोलन गर्दा साम्पाङलाई कांग्रेस नेतृत्वले राज्य र गुन्डा लगाएर कुट्यो । अहिले चुनावी आन्दोलनमा कांग्रेसलाई साम्पाङको ‘लौरो’ चिन्हले कुटिरहेको छ ।


प्रतिक्रिया

3 thoughts on “आन्दोलनमा हर्क साम्पाङलाई कुटेको कांग्रेस चुनावमा साम्पाङकै ‘लौरो’बाट कुटियो !

  1. सडकमा आन्दोलन गर्दा साम्पाङलाई कांग्रेस नेतृत्वले राज्य र गुन्डा लगाएर कुट्यो । अहिले चुनावी आन्दोलनमा कांग्रेसलाई साम्पाङको ‘लौरो’ चिन्हले कुटिरहेको छ ।यो पन्च लाइन गजवको छ।बिराट जि।धन्यबाद!

  2. “हिजाे जस्ले राज्य र गुण्डा लगाएर कुट्याे,अाज उसैलाई साम्पाङकाे लौराे चिन्हले कुटिरहेछ”समय बलवान् छ।

Leave a Reply to Sushma Dahal Cancel reply

Your email address will not be published. Required fields are marked *