भृकुटीमण्डपमा जेठ ९ सम्म जुत्ता चप्पल मेला – Nepal Press

भृकुटीमण्डपमा जेठ ९ सम्म जुत्ता चप्पल मेला

काठमाडौं । भृकुटीमण्डपमा जुत्ता चप्पल मेला जेठ ९ गतेसम्म चल्ने भएको छ । सस्तो, आरामदायी र टिकाउ भएको कारण पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलका ग्राहकहरूको रोजाइमा पर्न थालेको छ ।

गत बैशाख १५ गतेदेखि भृकुटीमण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड नै लाग्ने गरेको छ । स्थानीय तह निर्वाचनले केही दिन प्रभावित बनाएको व्यापार मेलामा चुनाव सकिएलगत्तै ग्राहकहरू बढ्न थालेका छन् ।

मेलामा भेटिएका ग्राहक अनिल खड्का र निराजन भण्डारीले नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएको कारण नै आफूहरूलाई मन पर्ने बताए । नेपालमै सबै वर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ता चप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाइ छ ।

सामान्य दिनमा दैनिक १५ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब १ लाख २५ हजारभन्दा बढी ग्राहकहरू आइसकेको फुटवेयर म्यानुफ्याक्चर्स एसाेसियसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताए ।

आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने र स्टक क्लियरिङ गर्ने उद्देश्यले मेलामा सहभागी भएको बीएफ डियर हिलका डाइरेक्टर सुजन उपाध्यायले ग्राहकहरूले समर सुज, स्कुल सुज, स्पाेर्ट्स सुज रुचाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर