चौधरी फाउण्डेसनद्वारा कान्ति बाल अस्पताललाई इमर्जेन्सी वार्ड हस्तान्तरण – Nepal Press

चौधरी फाउण्डेसनद्वारा कान्ति बाल अस्पताललाई इमर्जेन्सी वार्ड हस्तान्तरण

काठमाडौं । चौधरी फाउण्डेसनले २ करोड ५० लाखको इमर्जेन्सी वार्ड निर्माण गरेर कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको छ । ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको हो ।

अस्पतालमा आयोजित एक समारोहका बीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका छन् । चौधरी फाउण्डेसनले १४ शय्याको इमर्जेन्सी वार्ड विस्तार गरी २५ शय्याको निर्माण गरिएको हो ।

चौधरी फाउण्डेसन चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामका लागि खोलेका हुन् । आकस्मिक कक्ष हस्तान्तरणमा बोल्दै फाउण्डेसनका महासचिव सारिकादेवी चौधरीले आफू आमा रहेको र आफ्ना सन्तान बिरामी पर्दा आमाहरुको मन कति पोल्छ भन्नेबारेमा आफूलाई गहिरो अनुभूति रहेको बताइन् । नेपाली बालबालिकाको उपचारमा अहिले विस्तार गरिएको आकस्मिक कक्षले महत्वपूर्ण योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरिन् ।

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा. युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

चौधरी फाउण्डेसनले हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत २ करोड ५० लाख रुपैयाँ हो । फाउण्डेसनले इमर्जेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शय्यासहित २५ शय्या, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमर्जेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, ईसीजी मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामग्री पनि उपलब्ध गराएको छ ।

फाउण्डेसनले इमर्जेन्सी वार्डलाई निःशुल्क वाईफाई जोन पनि बनाएको छ । यसको लागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर