गगनको चुनाव क्षेत्रमा कांग्रेस निल, बुनपासहित गणना सकिएका सबै वडामा एमालेकाे जित – Nepal Press

गगनको चुनाव क्षेत्रमा कांग्रेस निल, बुनपासहित गणना सकिएका सबै वडामा एमालेकाे जित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुईपटक प्रत्यक्ष र एकपटक समानुपातिक निर्वाचन जितेको काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत एक नगरपालिकाको मतगणना सकिँदा मेयर उपमेयरसहित सो क्षेत्रमा पर्ने सबै वडामा कांग्रेसले पराजय भोग्नुपरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमालेका मिठाराम अधिकारी तथा अनिता लामा फराकिलो मतान्तरले विजयी भएका छन् । गगनको क्षेत्रमा पर्ने बुनपाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्षसहित प्रायः सबै सदस्यसमेत एमालेले नै जितेको छ ।

वडा नम्बर १ बाट एमालेका सुरेन्द्र लामा वडाध्यक्ष जितेका छन् । त्यस्तै २ बाट राजेन्द्र श्रेष्ठ, ८ बाट सुमन तामाङ, ९ बाट सुमित्रा त्रिपाठी पाण्डे १० बाट नवराज भट्टराई, ११ बाट राजु अधिकारी, १२ बाट शम्भु भट्टराई र १३ बाट टिकेशनारायण श्रेष्ठ जितेका छन् ।

त्यस्तै गगनको क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भइसकेका छन् । अब गणना भइरहेका ७, ८ र ३० को परिणाम आउन बाँकी छ । ३० नम्बर वडा गगन आफै मतदाता रहेको ठाउँ हो ।

वडा नम्बर ८ यसअघि कांग्रेसले नै जितेको वडा हो भने ७ नम्बर वडा एमालेले जितेको थियो । एमालेबाट जितेका वडाध्यक्ष शुद्ध डंगोल अहिले नेकपा एसबाट उम्मेदवार छन् ।

बुढानिलकण्ठ नगरपालिका नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्कीको पनि पालिका हो । तर उनी आफै मतदाता रहेको वडा नम्बर ९ मा पनि एमालेले जितेको छ । एमालेबाट सुमित्रा त्रिपाठीले वडाध्यक्ष जित्दा नेकपा एस २०० मतमा सीमित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर