जब ‘चोर’ले नै अर्जुन पराजुलीमाथि साहित्य चोरीको बात लगाए… – Nepal Press

जब ‘चोर’ले नै अर्जुन पराजुलीमाथि साहित्य चोरीको बात लगाए…

काठमाडौं । लोककवि अर्जुन पराजुलीले आफ्नो हस्ताक्षरमा हिजो चार पंक्तिको एउटा ‘कविता’ फेसबुकमा पोष्ट गरे । त्यसलगत्तै उनीमाथि ‘प्लेगियारिज्म’को गम्भीर आरोप लाग्यो ।

एक प्रकाशन गृहका संस्थापक भुपेन्द्र खड्काले आफूले ९ वर्षअगाडि लेखेर सामाजिक सञ्जालमा राखेको कविता पराजुलीले चोरेर हालेको दाबी गर्दै स्टाटस लेखे । उनले सन् २०१३ मा हुबही तीनै पंक्ति फेसबुकमा पोष्ट गरेको स्क्रिनसटसमेत देखाएपछि धेरैलाई पत्याउन कर लाग्यो ।

बुढेसकालमा यसरी साहित्य चोरीको बात लागेपछि कवि पराजुली रन्थनिनु स्वभाविक थियो । उनले यो कविता २५ वर्ष अगाडि आफूले नै लेखेर कयौंपटक वाचन पनि गरेको भन्दै बचाउ गरे । त्यसलाई पनि खड्काले स्वीकार गरेनन् । उनले कविता आफैंले लेखेको दाबी गर्दै पराजुलीलाई प्रमाणसहित आउन चुनौती दिए । अन्ततः पराजुली प्रमाणसहित आएका छन् ।

पराजुलीले दुईवटा अकाट्य प्रमाण दिएका छन् । तीनै पंक्ति लक्ष्मीप्रसाद पराजुली नाम गरेका व्यक्तिले सन् २०१० मा अर्जुन पराजुलीलाई क्रेडिट दिँदै सामाजिक सञ्जालमा पोष्ट गरेका रहेछन् । उक्त स्क्रिन सट अर्जुन पराजुलीले सार्वजनिक गरेका छन् । अझ त्योभन्दा पनि अगाडि सन् २०६३ असोजमा ‘जनमत’ नामक साहित्यिक मासिकको पूर्णांक ११५ पनि उक्त पङ्ति छापिएको रहेछ ।

यसरी प्रमाण सार्वजनिक गर्दै पराजुलीले लेखेका छन्, ‘आफ्नो सिर्जना अरूले चोरेर चोरले उल्टै किन चोरिस् भनेर दुनियाँका अगाडि धम्क्याउँदा यस्तो पीडा हुँदोरैछ कि उस्तै मान्छे (म) भए आत्महत्या गरिसक्थ्यो ।’

पराजुलीले प्रमाणहरु सार्वजनिक गरेपछि खड्काले आफ्ना पोष्टहरु फेसबुकबाट हटाएका छन् । तर, आफूले पराजुलीको कविता चोरेको स्वीकारेका छैनन् ।

पोष्टहरु हटाएपछि उनले दिएको स्पष्टीकरण यस्तो छ, ‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु ।’

उनी थप लेख्छन्, ‘मेरो जिज्ञासाचाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नु भएन ? अर्को कुरा आजसम्म प्रिन्टलाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन । मेरा स्टाटस वा रचना मैले जानेबुझेका आफैं सृजना गरेका हुन् । एउटा नमीठो संयोगलाई संयोगकै रूपमा लिइदिन आग्रह गर्दछु ।’

यस विषयमा नेपाल प्रेसले कुरा गर्दा उनले उक्त सिर्जना आफ्नै रहेको दाबी गर्न छोडेनन् ।

‘त्यसबेला चुनावको माहोलमा मैले आफैंले लेखेर पोष्ट गरेको हुँ, कसरी अर्जुन पराजुलीको कवितासँग मिल्न गयो भनेर अचम्भित छु,’ उनले भने ।

आफूले हिन्दी कमिक्सबाट ‘इन्स्पायर’ भएर सो कविता लेखेको उनको दाबी छ ।

‘मैले त्यो बेलासम्म अर्जुन पराजुलीको नाममा त्यो कविता कतै पनि पढेको थिइनँ, चोर्ने कुरै आउँदैन,’ उनले भने ।

यदि तपाईं सही हो भने फेसबुकबाट आफ्नो पोष्टहरु किन डिलिट गर्नुभयो त ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले जवाफ दिए, ‘नानाथरि कमेन्टहरु आउन थाले, सबैलाई जवाफ दिएर साध्ये हुँदैन भनेर हटाएको हुँ ।’


प्रतिक्रिया

One thought on “जब ‘चोर’ले नै अर्जुन पराजुलीमाथि साहित्य चोरीको बात लगाए…

  1. जो चोर उसैको ठूलो स्वर । चोरहरूले श्रष्टाको यसरी मानमर्दन गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *