अर्घाखाँचीमा टोपबहादुरको ‘चमत्कार’, कमजोर भनिएको एमालेलाई यसरी उठाए – Nepal Press

अर्घाखाँचीमा टोपबहादुरको ‘चमत्कार’, कमजोर भनिएको एमालेलाई यसरी उठाए

कांग्रेस-माओवादीका नेतैनेता भएको ठाउँमा पनि एमाले विजयी

रुपन्देही । टोपबहादुर रायमाझी नेपाली राजनीतिमा सधैं चर्चामा आउने नाम हो । विद्यार्थी राजनीतिमा अखिल छैटौंको अध्यक्ष हुँदा होस् वा माओवादीको भूमिगत राजनीतिमा पश्चिम क्षेत्रको कमाण्डर हुँदा अथवा खुल्ला राजनीतिमा आएपछि निरन्तर माओवादीको शीर्ष नेतृत्वमा र नेकपाकालपछि एमालेमा रहेका उनी सधैं चर्चामा छन् ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ सालको पहिलो संविधानसभामा उनी एमाले कांग्रेसको बलियो क्षेत्र मानिएको अर्घाखाँचीमा विजयी भएर एकाएक चर्चामा आए । सांसद बनेपछि पटक–पटक शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएका उनी जिल्लाको विकासका लागि निकै बजेट पारेर चर्चामा आए । निर्वाचनको चतुर खेलाडी मानिने उनी २०७० सालमा भएको दोस्रो संविधानसभामा लुम्बिनीभर माओवादी पराजित हुँदा उनी मात्रै विजयी भएर चर्चामा आएका थिए ।

त्यो समयमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले निर्वाचनमा धाँधली गरेर हराइएको र देशभर मतगणना बहिस्कार गर्न निर्देशन दिँदा उनले आफ्नो क्षेत्रका जनताको निर्णय मान्ने भन्दै मतगणना नरोक्ने घोषणा गरे र निर्वाचन पनि जिते ।

त्यसपछि २०७४ मा भएको संसदीय निर्वाचनमा पनि जिल्लाबाट निर्वाचन जितेर उनले ‘ह्याट्रिक’ गरेका थिए ।

माओवादीको युद्धकालमा सधै बाबुराम भट्टराईको दाहिने हात बनेका रायमाझीले नयाँ पार्टी बनाउने घोषणा गर्दा अध्यक्ष प्रचण्डकै साथमा रहेर सबैलाई आश्चर्यमा पारेका थिए ।

माओवादी र एमाले एकताका लागि दोस्रो पुस्ताबाट पटक–पटक दवाव सृजना गर्ने उनी माओवादी रहँदा पनि एमाले प्रवेश गर्न लागेको भनेर चर्चामा आइरहन्थे । नेकपाकालमा दशकौं सँगै राजनीति गरेका माओवादीका अध्यक्ष प्रचण्डको साथ छोडेर एमालेका अध्यक्ष केपी ओलीका पक्षमा खुलेर बोल्न थालेपछि उनको चर्चा फेरि चुलिएको थियो । पछिल्लो समय एमालेमा पुराना नेताभन्दा खरो शैलीमा नेता प्रचण्डसहित माओवादीको आलोचना गरेर उनी सधै चर्चामा रहिरहे ।

नेकपा एमालेको दशौं महाधिवेशनबाट सचिवमा निर्वाचित रायमाझी केपी ओलीका विश्वासपात्र मात्रै बनेका छैनन् आफ्नो जिल्लामा उनले एमालेलाई जिताएर पावर देखाएका छन् ।

उनकै अगुवाइमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेससँगको माओवादी गठबन्धन गरेको बेला जिल्लामा एमालेलाई एक पालिकामा सीमित गराएका रायमाझीले अहिले एमालेलाई पहिलो स्थानमा पुराएर आफ्नो चर्चा पुनः थपेका छन् ।

पाँचदलीय गठबन्धनले जिल्लाका सबै पालिका र ६१ वडामा एमालेलाई क्लिनसीप पार्ने लिखित प्रतिवद्धतासहित मैदानमा आएको समयमा रायमाझीले आफ्नै अगुवाइमा जिल्लामा आश्चर्यजनक नतिजा निकाल्न सफल भएका छन् ।

उनको यो रणनीतिक योजना एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चेतनारायण आचार्य तथा जिल्ला अध्यक्ष पिताम्बर भुसालले साथ दिएका कारण सफल भएको स्थानीय कार्यकर्ताको विश्लेषण छ । ‘तीन महिनादेखि रायमाझी हरेक पालिकाका वडावडामा पुगेर कार्यकर्ता तथा स्थानीयको मन जित्न खोजेका थिए, माओवादीबाट एमालेमा आएका कारण उनलाई नतिजा आफ्नो पक्षमा पार्ने दबाब थियो, बलियो गठबन्धनलाई कमजोर बनाएर आफ्नो शक्ति देखाए र जिल्ला नेतृत्वको भरपुर साथ लिनसके, कार्यकर्ता परिचालन गर्नसके, कांग्रेसभित्रको द्वन्द्वमा खेल्नसके’, स्थानीय प्रकाश बन्जाडे विश्लेषण गर्छन् ।

कहाँ–कहाँ कसले जित्यो जिल्लामा ?

यसअघि गठबन्धनले जितेको सदरमुकामको सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनको तर्फबाट कांग्रेसकी शान्ता भण्डारीलाई १ हजार ८ सय १ मतान्तरले पराजित गरे । श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याएर सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भए । भण्डारीले ९ हजार ३ सय ३४ मत ल्याइन् ।

उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले गठबन्धनको तर्फबाट माओवादीका राजेन्द्र भुसाललाई ४ सय ७८ मतान्तरले पराजित गरिन् । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याएर विजयी भइन् । भुसालले ९ हजार १ सय ६८ मत ल्याए ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ नगर प्रमुखमा उम्मेदवार थिए । त्यतिबेला कांग्रेस–माओवादीको चुनावी तालमेलमा कांग्रेसका कमलप्रसाद भुसालसँग ११ सय ३ मतान्तरले श्रेष्ठ पराजित भएका थिए । दोस्रो पटकमा श्रेष्ठ फराकिलो मतान्तरले विजयी भए ।

निर्वाचित श्रेष्ठको पार्टी एमालेले नगरको १२ वटा वडामध्ये वडा २, ६, ७ र ९ वडा अध्यक्षमा जित हासिल गरेको छ । माओवादीले वडा १० र कांग्रेसले वडा १, ३, ४, ५, ८, ११ र १२ वडा अध्यक्ष जितेको छ ।

सन्धिखर्क नेकपा (एमाले)का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घर भएको नगरपालिका हो । रायमाझीसँगै कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय संसदीय दलकी सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, माओवादी केन्द्रका नेता डिलाराम आचार्यको जन्मघर यही‌ हो । सबै नेताको घर ९ नम्बर वडामा पर्छ । उक्त वडा पनि एमालेले जितेको छ ।

एमालेले पाणिनि, मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकामा दुवै पद जितेको हो । भूमिकास्थान नगरपालिकाको उपाध्यक्ष र छत्रदेव गाउँपालिकामा पनि उपाध्यक्ष पद जितेको छ । यी दुवै पालिकाको प्रमुखमा थोरै मतले मात्र एमालेका उम्मेदार पराजित भएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा ४ पालिकामध्ये पाणिनिमा अध्यक्ष, छत्रदेवमा दुवै पद, शितगंगा र सन्धिखर्क नगरमा प्रमुख र भूमिकास्थान नगरमा उपप्रमुख पद जितेको कांग्रेसले यसपालि शितगंगा नगरपालिकाको अध्यक्ष, छत्रदेव गाउँपालिकाको अध्यक्ष पद मात्रै जितेको छ ।

भूमिकास्थान नगरप्रमुखमा राजमो र माओवादीले जितेको छ । २०७४ मा एमालेले मालारानी गाउँपालिकाका दुवै पद र पाणिनिको उपाध्यक्ष पद जितेको थियो । एमालेबाट पाणिनिको उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम केही महिनाअघि कांग्रेसमा प्रवेश गरेकी थिइन । कांग्रेसले उनै गौतमलाई पुनः उपाध्यक्ष पदमा उम्मेदवार बनाएको थियो । एमालेकी नर्मदा पौडेलसँग पराजित भइन् ।


प्रतिक्रिया

2 thoughts on “अर्घाखाँचीमा टोपबहादुरको ‘चमत्कार’, कमजोर भनिएको एमालेलाई यसरी उठाए

  1. सलुट टोप बहादुर रायमाझी ज्यू तपाईं को यो कार्य लाई साथै विजयी हरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।🙏💕🙏💯✅🌹🌹✊✊🤝🤝🙏🙏

  2. टोपबहादुर रायमाझी लाखौंलाख सलाम नेता त यस्तो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर