गठबन्धनबाट हामीलाई नियोजित असहयोग भयो, अब नयाँ ढंगबाट जानुपर्छः गरिमा शाह – Nepal Press

गठबन्धनबाट हामीलाई नियोजित असहयोग भयो, अब नयाँ ढंगबाट जानुपर्छः गरिमा शाह

स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ५२ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठुलो दल बनेको एकीकृत समाजवादीले स्थानीय तहमा भने प्रभाव देखाउन सकेको छैन ।

सुदूरपश्चिमका ६८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा ३२ कांग्रेस, २३ एमाले र १२ पालिका माओवादीले जितेका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिमका २० पालिकाको नतिजा आइसकेको छैन ।

गठबन्धनबाट एकीकृत समाजवादीले प्राप्त गरेका पालिकामा उसले हार बेहोर्नुपरेको छ । गठबन्धन गरेका दलहरू भित्रैबाट पूर्ण सहयोग नहुँदा आफ्ना उम्मेदवारहरू पराजित भएको सो पार्टीका नेताहरूले बताइरहेका छन् । पाँच दलीय गठबन्धन भनिए पनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच मात्र गठबन्धन भएको थियो । तर, अनपेक्षित नतिजा आएपछि अहिले एकीकृत समाजवादीका नेताहरू रुष्ट भएका छन् ।

यसै विषयको सेरोफेरोमा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहसँग गरिएको कुराकानी प्रस्तुत छ नेपाल टकमा :

स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसलाई तपाईँहरूले कसरी लिनुभएको छ ?

सोचेको भन्दा केही फरक ढंगबाट मत परिणाम आएको छ । गठबन्धनमा इमानदारिता देखिएन । हाम्रो शक्तिको आडमा आफू माथि पुग्ने तर, हामीलाई कुनै साथ सहयोग नगरेको अवस्था देखियो । यसले गठबन्धन के हुने भन्ने विषयमा हामीले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । जुन कुरामा इमानदारिता हुँदैन त्यो कुरालाई अगाडी बढाइरहन आवश्यक हुँदैन ।

हामी सानो शक्ति भए पनि गठबन्धनमा इमानदारिता देखायौँ । तर, हामीलाई नियोजित ढंगले तल झार्ने काम गठबन्धन भित्रका शक्तिहरूले गर्नुभयो । यसले गर्दा मत परिणाम हाम्रो लागि अप्रत्याशित छ ।

नियोजित ढंगले तल झार्ने काम कसले गर्‍यो ?

यो त प्रस्ट देखिएको छ नि । बझाङमा तीन दलीय गठबन्धन भएको थियो । थलरा र तल्कोटमा त हाकाहाकी देखियो नि । थलरामा स्वतन्त्र उठाइयो । उहाँलाई बसाएको भए यो परिणाम आउने थिएन । तल्कोटमा पनि त्यो अवस्था देखियो । जुन शक्तिसँग गठबन्धन गरेका थियौँ, त्यो शक्तिले हामीलाई सहयोग नगरेको अवस्था हो ।

माधव कुमार नेपालले पनि गठबन्धनको विषयमा सोच्नु पर्ने बेला आएको छ भन्नु भयो । तपाईँको आशय पनि त्यही छ । कतै यो निर्वाचनपछि गठबन्धन टुट्ने त होइन ?

यस्तो किन भयो ? यसको समीक्षा हुन्छ र हुनु पनि पर्छ । गठबन्धनले गरेको निर्णय नमान्ने हो भने यो गठबन्धनमा बसिरहनुको औचित्य त छैन । कसरी अगाडि बढ्ने भन्नेबारे हामी मसिनो गरी छलफल गर्छौँ र नयाँ ढंगबाट अगाडी बढ्नु पर्छ भन्ने लाग्छ मलाई ।

यसअघिको स्थानीय तहमा पनि स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा फरक–फरक दलहरूसँग तालमेल भएको थियो । अब पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तपाइहरूको दलको तालमेल फरक दलसँग हुन सक्छ ?

यो राजनीति हो । मैले सधैँ भन्ने गरेको छु, राजनीतिको बाटो सिधा हुँदैन । यहाँ दुई र दुई चार हुँदैन । तलमाथि हुन सक्छ । त्यस कारणले गर्दा भोलि एजेन्डा मिल्ने कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा आउँदैनन् भन्ने त छैन नि ।

राष्ट्रिय आवश्यकताको लागि गठबन्धन बनेको हो तर, अहिलेको गठबन्धनमा इमानदारिता देखिएन । जुन राजनैतिक उचाइबाट दलहरूले सोच्नु पर्ने थियो र काम गर्नु पर्ने थियो त्यो हुन सकेन ।

कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा आउने तपाइले सङ्केत गर्दा आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा एमालेसँग पनि तालमेल हुन सक्छ ?

लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षका लागि लागिपरेका हामी भोलि त्यसरी पनि मिल्न सक्ने कुरा हुन सक्छ । तर, प्रतिबद्धता हुनुपर्छ । गणतन्त्र, संविधानको पालना र संघीयताप्रति प्रतिबद्धता हुनु पर्छ ।

यो मत परिणामले यो गठबन्धन यही ढंगले अगाडी बढ्न सक्दैन भन्ने तपाईँहरूको दलको ठहर हो ?

एकदमै न्यून ठाउँमा इमानदारिता देखिएको छ । तर, बहुमत ठाउँमा त्यो इमानदारिता देखिएन । वडादेखि प्रमुखसम्म सेटिङ गरेको प्रस्ट हुन्छ ।

गठबन्धनमा रहेका राजनैतिक दलहरू सच्चिएनन् भने गठबन्धनको कुनै औचित्य छैन जस्तो लाग्छ । हामी त सरकारमा छौँ । सरकारमा भएका मान्छेहरूले सोच्नु पर्ने बेला भएन ?

स्थानीय तह निर्वाचनको मत परिणामले संघीय सरकारलाई नेकपा एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिन सक्नेसम्मको अवस्था सृजना हुन सक्छ त ?

अब अहिले नै समर्थन फिर्ता लिने कुरा त म भन्न सक्दिनँ । तर, हामी सहयात्री भइरहने कि नहुने भन्ने कुरा अलि घनिभूत रूपमा समीक्षा हुन आवश्यक छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा तपाईँहरूको पार्टी सबैभन्दा ठुलो हैसियतमा छ । गठबन्धनका दलहरूबाट इमानदारिता होस् भन्दै आचारसंहिता लाग्नुभन्दा एक दिन पहिले आफ्नै मन्त्री हटाएर कांग्रेसलाई सरकारमा सहभागी गराउनु भएको थियो । अहिले इमानदारिता देखिएन भन्नुहुन्छ । अब प्रदेश सरकार पनि हेरफेरको सम्भावना छ ?

हामी एक्लै सरकार बनाउन सक्दैनौँ । हामीलाई पनि कुनै न कुनै राजनैतिक दलले समर्थन गर्नुपर्छ । त्यस कारणले गर्दा अहिले सुदूरपश्चिम प्रदेशमा रहेका दलहरू कसरी अगाडी बढ्छन् त्यसमा भर पर्छ । सरकार सञ्चालनको विषयमा कुन दलहरूसँग हाम्रो कुरा मिल्छ त्यो अहिले नै भन्दा अलि हतार हुन्छ कि ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर