क्यानको लिगसँगै अन्य टी-२० क्रिकेट फ्रेन्चाइजहरुको भविष्य अन्योलमा, के भन्छन् आयोजक ? – Nepal Press

क्यानको लिगसँगै अन्य टी-२० क्रिकेट फ्रेन्चाइजहरुको भविष्य अन्योलमा, के भन्छन् आयोजक ?

काठमाडौं । आईसीसीको प्रतिबन्धका बीच नेपाली क्रिकेटको कुनै घरेलु संरचना नहुँदा खेलाडीहरूलाई व्यस्त राख्न विभिन्न टी–२० फ्रेन्चाइजहरुले महत्त्वपूर्ण भूमिका खेले । तर, अहिले आएर यी फ्रेन्चाइजहरुकै भविष्य अन्योलमा परेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अब एभरेस्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता फ्रेन्चाइज लिगले मान्यता नपाउने बताएका छन् । क्यानले आफैँ घरेलु फ्रेन्चाइज प्रतियोगिताका रूपमा नेपाल टी–२० आयोजना गर्ने भएपछि अन्य फ्रेन्चाइज प्रतियोगिताले मान्यता नपाउने अध्यक्ष चन्दको भनाई छ ।

‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल–आईसीसीको विधानमै बोर्डले आयोजना गर्नेबाहेक अन्य फ्रेन्चाइज लिगले मान्यता नपाउने उल्लेख छ । अब हामी आफैले गर्ने भएपछि ईपीएल, पीपीएल र डीपीएलले मान्यता पाउँदैनन्,’ उनले आज आयोजित पत्रकार सम्मेलनमा भने ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल विदेशी खेलाडी ल्याएर अन्य फ्रेन्चाइज प्रतियोगिता गर्न नपाइने बताउँछन् । स्वदेशी खेलाडीलाई मात्र राखेर क्षेत्रीय प्रतियोगिताका रूपमा आयोजना गर्न सकिने उनको तर्क छ ।

क्यानको पछिल्लो भनाइप्रति ईपीएल आयोजक जोहरा स्पोर्टसका प्रमुख आमिर अख्तरले आश्चर्यता व्यक्त गरे।
‘हुन त मैले आईसीसीको नियम हेरेको छैन । तर पीपीएल, डीपीएल र ईपीएल तीनवटैलाई आईसीसीले मान्यता दिएको थियो । यदि मिल्दैनथ्यो भने उसले कसरी दियो ?’ आमिर भन्छन् ।

क्यान निलम्बनमा रहेको अवस्थामा सिधै आईसीसीसँग मान्यता लिने गरेको र निलम्बन फुकुवा भएपछि क्यानबाटै मान्यता लिएर प्रतियोगिता आयोजना गर्ने गरेको उनले जानकारी दिए ।

‘सबैभन्दा ठूलो कुरा खेलाडीको हित हो । खेलाडीको व्यवसायीकतामा सहयोगको कुरा हो,’ उनले भने ।

उनले नोभेम्बर १२ बाट ईपीएल सुरु गर्न क्यानसँग अनुमति मागे पनि अहिलेसम्म जवाफ नपाएको सुनाए । नेपालमा फ्रेन्चाइज क्रिकेट सुरुवात अख्तरले नै गरेका हुन् ।

पीपीएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रमुख छुम्बी लामाले आफू ताप्लेजुङमा रहेकाले त्यसबारे जानकारी नभएको बताए । यस विषयमा पछि बुझेर प्रतिक्रिया दिने उनको भनाइ छ ।

डीपीएल आयोजक प्रमुख सुवास शाहीले भने फ्रेन्चाइज लिग गर्ने क्यानको निर्णय स्वागतयोग्य रहेको तर हाल सञ्चालनमा रहेका फ्रेन्चाइज लिगहरूका लागि पनि विकल्प दिनुपर्ने धारणा राखे ।

‘क्षेत्रीयस्तरमा पनि प्रतियोगिताहरू गर्न सकिन्छ । जस्तो भारतमा आईपीएल आयोजना भए पनि विभिन्न क्षेत्रीयस्तरका प्रतियोगिताहरू भइरहेका हुन्छन्,’ शाहीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर