सोमबार रातीदेखि अवरुद्ध रुपन्देहीको तिलोत्तमा मतगणना सुरु भएन – Nepal Press

सोमबार रातीदेखि अवरुद्ध रुपन्देहीको तिलोत्तमा मतगणना सुरु भएन

रुपन्देही । मतगणनाका विषयमा कर्मचारीले गरेको गल्तीलाई लिएर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार रातीदेखि अवरुद्ध मतगणनाको काम सुचारु हुन सकेको छैन ।

वडा नं १ र १७ को मतगणना भएर घोषणा भइसकेको र वडा नं २ र १६ को मतगणनाका विषयमा नेपाली कांग्रेसले गणक कर्मचारीले गलत तथ्याङ्क टिकेको भन्दै विरोध गरेपछि सोही रातीबाट मतगणना रोकिएको हो ।

कांग्रेसका प्रतिनिधिले कर्मचारीले गलत गरेको भन्दै सुरुवातबाट नै पुनः मतगणनाको माग गर्दै आएका छन् भने एमालेले निर्वाचन आयोगबाटै घोषणा भइसकेको वडामा पुनः गणनाको माग गरेर बिथोल्न खोजेको जनाउँदै आएको छ ।

निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले गणनाका विषयमा भएका कमजोरी कर्मचारीले सच्चाउनेसहितको प्रतिबद्धता गरे पनि दलहरू आपसी टकराबले सहमतिमा आउन नसकेका हुन् ।

बुधवार अपराह्न एमाले र गठबन्धन दलबीच आपसी सहमतिमा निर्वाचन आयोगको निर्णय मान्ने सहमति भए पनि अझै गणना सुरु हुन सकेको छैन ।

कांग्रेसका प्रतिनिधिले मेयर वासुदेव घिमिरेले कर्मचारी सेटिङ गरेको आरोप लगाएका छन् भने एमालेका प्रतिनिधिले गृहमन्त्री बालकृष्ण खाडको बलमा प्रशासन लगाएर गणना प्रभावित गराएको आरोप लगाउँदै आएका छन् ।

यहाँबाट गठबन्धनको नेतृत्व गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति तथा गृहमन्त्री बालकृष्ण खाडका भाइ रामकृष्ण खाड र एमालेको तर्फबाट मोहन चापागाईँ प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर