टि–२० लिग घोषणा गर्दै क्यानले भन्योः इपीएल लगायतका अरु फ्रेन्चाइजले अब मान्यता पाउँदैनन् – Nepal Press

टि–२० लिग घोषणा गर्दै क्यानले भन्योः इपीएल लगायतका अरु फ्रेन्चाइजले अब मान्यता पाउँदैनन्

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले कुनै पनि देशमा आईसीसीले मान्यता दिने फ्रेन्चाइज लिग एउटा मात्रै हुने बताएका छन् ।क्यानले असोजमा आफ्नो आधिकारिक ट्वान्टी २० प्रतियोगिता नेपाल टी २० लिग आयोजना गर्ने घोषणा गरेसँगै उनले सो प्रतिक्रिया दिएका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा क्यानलाई आइसीसीले निलम्बन गरेका बेला नेपाली क्रिकेटलाई अगाडी बढाइरहेका फेन्चाइज लिगहरु धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग (इपिएल)को भविष्य के हुन्छ भनेर प्रश्न साधिएको थियो । इपीएलको त नयाँ संस्करणका लागि मिति नै सार्वजनिक भइसकेको छ ।

चन्दले इपीएल आयोजनाका लागि क्यानले कुनै पनि मिति नदिएको बताए । एक देशमा एउटा मात्र आधिकारिक फ्रेन्चाइज लिग हुने उनको भनाइ छ । ‘हामीले इपिएल आयोजनाका लागि समय उपलब्ध गराएका छैनौं । इपिएललगायत अन्य फ्रेन्चाइज लिगले क्यानसँगको समन्वयमा क्षेत्रीय लिगको रुपमा आयोजना गर्न सक्छन्,’ चन्दले भने, ‘तर अहिलेको जस्तो विदेशी खेलाडी अनुबन्ध गरेर छुट्टै लिगका लागि आधिकारिकता दिने भन्ने कुरा हुँदैन । एक देशमा आईसीसीले मान्यता दिने एउटा मात्र आधिकारिक फ्रेन्चाइज लिग हुन्छ ।’

क्यानले बुधबार आफ्नो आधिकारिक ट्वान्टी २० लिग नेपाल टी२० असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने तालिका सार्वजनिक गरेको थियो ।

यस्तै, क्यानले टी–२० लिगका लागि ‘स्ट्रटेजिक एन्ड कमर्सियल’ पार्टनरको रुपमा सेभन थ्री स्पोर्ट्स नामक एक बेटिङ कम्पनीसँग सम्झौता गरेको विषय पनि सार्वजनिक भएको छ । यस विषयमा जवाफ दिँदै क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले सेभन थ्री स्पोर्ट्स बेटिङ कम्पनी नभएको दावी गरे । कमर्सियल पार्टनर बिडिङमार्फत हुनपर्ने भन्ने प्रश्नमा जवाफ दिँदै मल्लले अन्य राष्ट्रमा चलेकै परिपाटी पछ्याएर खुला प्रतिस्पर्धाबिनै भारतीय कम्पनी सेभेन थ्री स्टार कम्पनीलाई छनोट गरेको बताए ।

‘कुनै पनि बोर्डले कमर्सियल पार्टनर भित्र्याउँदा बिडिङमार्फत गरिदैन । यो नेपाल क्रिकेट संघको आफ्नो सम्पत्ति हो,’ मल्लले भने, ‘हामीसँग विभिन्न कम्पनी र मानिसहरु नेपाल टी२० क्रिकेट लिगको कमर्सियल पार्टनर बन्न इच्छुक रहेको भन्दै सम्पर्कमा आउनु भएको थियो । हामीलाई सबैभन्दा आकर्षक प्रस्ताव भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसबाट आयो । हामीले यसबारे क्यानको साधरणसभामा छलफल गरेर त्यहाँबाट पास गरेका हौ । यो संसारभर चलेको परिपाटी हो ।’

कमर्सियल पार्टनरको रुपमा रहेको सेभेन थ्री स्पोट्र्सले क्यानसँग आठ वर्षको सम्झौता गरेको छ । जसअन्तर्गत सेभेन थ्री स्पोटर्सले क्यानलाई कुल ३३ करोड रुपैयाँ दिनेछ । वार्षिक रुपमा भने क्यानले चार करोड १२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

मल्लले सेभेन थ्री स्पोटर्सले सम्झौतापछि नै क्यानको खातामा १५ प्रतिशत रकम जम्मा गरिसकेको र सम्झौताको ४५ दिनभित्र थप १५ प्रतिशत रकम उपलब्ध गराउने जानकारी दिए । प्रतियोगिता सुरु हुनु एक दिनअघि नै बाँकी ७० प्रतिशत रकम उपलब्ध गराउने सहमति भएको पनि जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *