सम्पत्तिको स्वघोषणा गराउनुपर्छ, भूमिमा निजी स्वामित्व हटाउनुपर्छः बाबुराम भट्टराई – Nepal Press

सम्पत्तिको स्वघोषणा गराउनुपर्छ, भूमिमा निजी स्वामित्व हटाउनुपर्छः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निजी सम्पत्तिको अभिलेखीकरणका लागि सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै भट्टराईले व्यक्तिगत सम्पत्तिमा एकपटक कर मिनाहा गर्नेगरी सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।

‘एकपटक सबैलाई सम्पत्तिको स्वघोषणा गर्न दिऔं । एकपटकका लागि त्यसमा कर नलगाउँ तर अभिलेखीकरण गरौं । व्यक्तिगत सम्पत्तिलाई अभिलेखीकरण गर्न सकियो भने हाम्रो अर्थतन्त्रलाई सुदृढ बनाउन सकिन्छ’, भट्टराईले भने । सम्पत्ति स्वघोषणाका क्रममा ‘मनी लाउण्डरिङ’ का विशेष व्यवस्थाहरुलाई भने इन्कार गर्न नहुने उनले बताए ।

त्यस्तै भूमिमा निजी स्वामित्वको अन्त्य गर्नुपर्नेसमेत भट्टराईको धारणा छ । भोगाधिकार व्यक्ति रहे पनि भूमिमाथि राज्य वा समुदायको स्वामित्व स्थापना गर्नुपर्नेमा भट्टराईले जोड दिए । ‘भूमिलाई निजी स्वामित्वमा राख्नुको सट्टा राज्य वा समुदायको स्वामित्वमा राखौं । भोगाधिकार व्यक्तिलाई दिन सकिन्छ । तर, स्वामित्व राज्यसँग हुने कानूनी प्रवन्ध गरौं’, भट्टराईले भने ।

शिक्षा र स्वास्थ्यमा निजी लगानी अन्त्य गर्नुपर्ने भन्दै भट्टराईले निजी क्षेत्रलाई लगानीका अन्य अवसर दिनुपर्ने बताए । ‘शिक्षा र स्वास्थ्य राज्यकै दायित्व हुनुपर्‍याे । अहिले लगानी गरेकाहरुलाई क्षतिपूर्ति दिने वा अन्य क्षेत्रमा लगानी हस्तान्तरण गर्ने व्यवस्था गर्न सकिन्छ । सार्वजनिक शिक्षा र स्वास्थ्यमा पूर्ण दायित्व राज्यले लिएमात्रै समाजवादउन्मुख हुन सकिन्छ’, उनले भने ।

गतिहीनता र वैदेशिक परनिर्भरता नै नेपाली अर्थतन्त्र पछाडि पर्नुको मुख्य कारण रहेको भन्दै भट्टराईले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा बल पुग्नेगरी बजेट आउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर