युरोपका ठूला लिगमा एक खेल बाँकीः को छन् सर्वाधिक गोलकर्ता, कसले जित्ला युरोपियन गोल्डेन बुट ? – Nepal Press

युरोपका ठूला लिगमा एक खेल बाँकीः को छन् सर्वाधिक गोलकर्ता, कसले जित्ला युरोपियन गोल्डेन बुट ?

लन्डन । युरोपका शीर्ष पाँच घरेलु लिग फुटबलमध्ये यो सिजन जर्मनीको बुन्डेस लिगाको खेल सकिसकेको छ । इङ्ल्यान्डको इङ्लिस प्रिमियर लिग, इटालीको सिरि ए, स्पेनको ला लिगा र फ्रान्सको लिग वानमा भने एक-एक चरणको खेल बाँकी छ।

यस पटक युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने युरोपियन गोल्डेन बुट बुन्डेस लिगा क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले जित्ने लगभग पक्का भइसकेको छ ।

लेवान्डोस्कीले यो सिजन घरेलु लिगमा लेवान्डोस्कीले ३५ गोल गरेका छन् । ३४ खेलमा उनले ३ असिस्ट पनि गरेका छन् । बायर लेभरकुसेनका प्याट्रिक सिक २४ गोलसहित बुन्डेस लिगाको दोस्रो सर्वाधिक गोलकर्ता बने ।

पछिल्ला लगातार २ सिजन फिफा वर्ष खेलाडी अवार्ड जितेका लेवान्डोस्कीले अघिल्लो सिजन पनि युरोपियन गोल्डेन बुट जितेका थिए । उनले गत सिजन २९ लिग खेलमा ४१ गोल गरेका थिए ।

यो सिजन इङ्लिस प्रिमियर लिगमा लिभरपुलका मोहम्मद सलाह २२ गोलसहित सर्वाधिक गोलकर्ता रहेका छन् । उनको नाममा १३ असिस्ट पनि रहेको छ । दोस्रो स्थानमा रहेको टोट्टनहामका सन हियुङ मिनको नाममा २१ गोल र ७ असिस्ट रहेको छ । सलाह यसअघि सन् २०१७/१८ सिजन पनि इङ्लिस प्रिमियर लिगको सर्वाधिक गोलकर्ता रहेका थिए ।

स्पेनिस ला लिगामा रियल म्याड्रिडका करिम बेन्जेमा २७ गोलसहित शीर्ष स्थानमा रहेका छन् । उनले १२ असिस्ट गरेका छन् । १८ गोल र ६ असिस्ट गरेका सेल्टा भिगोका इयागो आसपास दोस्रोमा छन् । बेन्जेमा पहिलोपटक ला लिगा सिजनको सर्वाधिक गोलकर्ता बन्ने तयारीमा छन् ।

अघिल्ला लगातार पाँच सिजन लियोनल मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए । उनी यो सिजन फ्रेन्च लिग वान क्लब पीएसजीमा आबद्ध छन् । यो सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनलमा समेत पुर्‍याइसकेका बेन्जेमा बेलोन डीअर र फिफा वर्ष खेलाडीका बलिया दावेदार हुन् ।

इटालियन सिरि एमा लाजियोका सिरो इम्मोबिल २७ गोलसहित शीर्ष स्थानमा छन् । उनले २ गोलमा असिस्ट पनि गरेका छन् । २४ गोल र ३ असिस्टसहित युभेन्ट्सका डुसान भ्लाओभिच दोस्रो स्थानमा रहेका छन् । इटालियन फुटबलर इम्मोबिलले सन् २०१९/२० सिजन युरोपियन गोल्डेन बुट जितेका थिए ।

फ्रेन्च लिग- लिग वानमा पेरिस सेन्ट जर्मनका केलियन एमबाप्पे २५ गोलसहित शीर्ष स्थानमा छन् । उनको नाममा १७ असिस्ट पनि रहेको छ । दोस्रो स्थानमा रहेका मोनाकोका विस्साम बेन येदरको २४ गोल र ५ असिस्ट छ । एमबाप्पे अघिल्ला दुई सिजन पनि लिग वानको सर्वाधिक गोलकर्ता रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर