छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो, तत्काल सार्वजनिक नगर्दा १० खेलाडी बेचैन – Nepal Press

छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो, तत्काल सार्वजनिक नगर्दा १० खेलाडी बेचैन

काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० जना खेलाडी निस्किएको घटना छानबिन गर्न गठित समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । तर, तत्काल एन्फाले प्रतिवेदन सार्वजनिक नगर्दा टिम बाहिर रहेका खेलाडीहरु व्यग्र बनेका छन् ।

समिति संयोजक भिक्टरजङ राणाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएको केही मिनेटमै बन्द प्रशिक्षणबाट निकालिएका १० खेलाडीहरु सातदोबाटोस्थित एन्फा भवन पुगेका थिए । हतास हुँदै त्यहाँ पुगेका उनीहरु त्यतिबेला निराश भए, जब प्रतिवेदनमा के छ भनेर सार्वजनिक नगरिएको बुझे ।

‘टिम भोलि नै उड्दैछ भन्ने सुनिन्छ । प्रतिवेदन चाहिँ पछि सार्वजनिक गरेर के काम ?’, एक खेलाडी भन्दै थिए । अफगानिस्तानसँग मैत्रीपूर्ण खेलका लागि नेपाली टिम उडेपछि प्रतिवेदन सार्वजनिक गर्नुको अर्थ नहुने उनको भनाइ थियो ।

प्रतिवेदन तत्काल सार्वजनिक गरेर दोषीलाई तत्काल कारबाही हुनुपर्ने खेलाडीहरुको भनाइ छ । ‘विवादमा रहेका प्रशिक्षकलाई विदेश उडाउने अनि हामी १० खेलाडी टिम बाहिरै रहनुपर्ने अर्को दुर्भाग्य हो’, ती खेलाडीको गुनासो थियो ।

त्यसअघि छानबिन समितिका संयोजक राणाले एन्फा महासचिव तुलाधरलाई प्रतिवेदन बुझाउँदै आफूहरुले देखेको र पाएको कुराहरुलाई प्रतिवेदनमा समेटेर सुझाव दिएको बताए । ‘हामीले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भनेर लेखेका छौं’, उनले भने । तर प्रतिवेदनमा के सुझाव छ भन्नेबारे उनले केही खुलाएनन् ।

२२ जनासँग एक–एक घण्टाको दरले भिडियो अन्तर्वार्ता गरेर घटनाको छानबिन गरिएको राणाको भनाइ थियो ।

एन्फा महासचिव तुलाधरले छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए । ‘त्यसका लागि कार्यसमिति बैठक बस्नुपर्ने हो या सम्बन्धित समितिलाई पठाउनुपर्ने हो भन्ने पनि हेर्नुपर्ने हुन्छ’, २८ पृष्ठ लामो प्रतिवेदन बुझ्दै तुलाधरले भने ।

छानबिन समितिमा पूर्वजर्नेल राणाको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका दीपक थापा र पूर्वफुटबलर विदुर विष्ट सदस्य थिए ।

विनाकारण रोहित चन्दलाई बन्द प्रशिक्षणबाट प्रशिक्षकले हटाएको भन्दै कुरा गर्न पुगेका अन्य ९ खेलाडीलाई पनि बन्द शिविर छाड्न निर्देशन दिएपछि आफूहरु बाहिरिएको असन्तुष्ट खेलाडीहरुको दावी छ ।

प्रतिवेदन बुझाउँदै राणाले समितिका अर्का सदस्य विष्टमाथि भएको एउटा कारबाहीको घटना सम्झिए । ‘कृष्ण थापा र विदुर सन् १९८० को एसियन गेम्समा बन्द प्रशिक्षणबाट दुई दिन बेपत्ता भएका थिए । माफी माग्दा टिममा सामेल हुन पाउने भनियो । थापाले माफी मागे तर विदुरले माफी मागेनन् र टिम बाहिर भएका थिए’, राणाले सम्झिएको उक्त घटनाको अर्थ सामान्य देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *