भरतपुरमा एमालेमै अन्तर्घात, १ भोट रेणुलाई अरु सूर्यलाई ! – Nepal Press

भरतपुरमा एमालेमै अन्तर्घात, १ भोट रेणुलाई अरु सूर्यलाई !

काठमाडौं । स्थानीय निर्वाचनका दौरान सबैभन्दा चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मेयरमा गठबन्धनकी माओवादी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै जाँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको तनाव बढ्दो छ ।

गठबन्धनभित्रको असन्तुष्टी र कांग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारीबाट लाभ लिने एमालेको आँकलन फेल खाएको छ । बरु एमालेले आफ्नै मत जोगाउन नसकेको प्रारम्भिक मतपरिणामबाट पुष्टी हुन्छ । स्वतन्त्र उम्मेदवार पौडेलले कांग्रेसको मत काटेपनि अधिकांश वडामा रेणुले नै एमालेको मत तानेको देखिन्छ ।

जारी मतगणनाको प्रारम्भिक रुझान एमालेले अपेक्षा गरे अनुरूप छैन । कतिपयले एमालेभित्र अन्तर्घात भएको अनुमान गरेका छन् । एमाले विभाजनका एमाले ‘नेकपा एस’ मा लाग्ने आँकलन गरिएका भरतपुरका प्रभावशाली नेताहरू एमालेमै रहेका थिए । राजनीतिकरूपमा सँगै भएपनि एमालेको परम्परागत गुट र संघर्षको प्रभाव परिणाममा परेको देखिन्छ ।

‘एमालेकै कार्यकर्ताहरूले रेणुलाई मत दिएको स्पष्ट भइसक्यो । रेणुले मन जितेर मत दिएको हो वा एमालेभित्रै अन्तर्घात भएको हो अहिले नै म बोल्न मिल्दैन’, भरतपुरका एक एमाले नेताले भने । ती नेताका अनुसार केही वडाहरूमा एक भोट हँसिया-हतौडामा हालेर बाँकी भोट सूर्यमा हालेको मतपत्र धेरै भेटिएका छन् ।

विगतमा एमालेले अग्रता लिएको वडा नम्बर १ देखि ५ सम्ममा अहिले एमालेको मत घटेको देखिन्छ । एमालेले जितेको वडा नम्बर ३ मा वडा अध्यक्षमा एमालेले १ हजार ६ सय ६६ मत पाएको छ । जबकी सो वडाबाट मेयरमा एमालेले १ हजार २९ मत मात्रै प्राप्त गर्‍यो । वडा अध्यक्षले भन्दा मेयरमा ६ सय २९ मत कम पाएपनि एमालेले वडा नम्बर ३ मा ५३ मतले अग्रता लिएको छ ।

वडा अध्यक्षमा पराजित भएका वडाहरूमा पनि एमालेका मेयरले भन्दा वडा अध्यक्षका उम्मेदवारले बढी मत ल्याएका छन् । यसको अर्थ एमालेको वडा अध्यक्षलाई मत दिएकाले नै मेयरमा गठबन्धनलाई मत दिएका छन् । वडा नम्बर १ मा अध्यक्षमा १ हजार ३ सय १३ मत पाउँदा मेयरमा एमालेले १ हजार ८७ मत मात्रै प्राप्त गरेको छ । एमालेलाई वडा अध्यक्षमा मत दिएका मध्ये सो वडाबाट २ सय २६ जनाले मेयरमा विजय सुवेदीलाई मत दिएनन् ।

वडा नम्बर २ मा मेयरमा सुवेदीले १ हजार ८ सय २८ मत ल्याए । जबकी वडा अध्यक्षमा एमाले उम्मेदवारले विजयको भन्दा २ सय ३० बढी अर्थात २ हजार ५८ मत ल्याएका छन् । वडा नम्बर ४ मा मात्रै मेयरमा सुवेदीले वडा अध्यक्षको भन्दा बढी मत ल्याएका छन् । त्यो वडामा अध्यक्षमा एमालेले १ हजार ६ सय ३३ मत पाउँदा मेयरमा सुवेदीले १ हजार ७ सय ४४ मत ल्याएका छन् ।

वडा नम्बर ५ मा मेयरमा सुवेदीले व्यहारेको क्षति अझ बढी छ । यही वडाबाट रेणुले आफ्नो अग्रता बढाउन क्रम सुरू भएको थियो । वडा अध्यक्षमा एमालेले १ हजार ९ सय ५१ मत पाएको वडा नम्बर ५ मा मेयरमा एमालेले १ हजार ४ सय ९ मत मात्रै ल्याएका छन् ।

समग्रमा मतगणना सम्पन्न भएका ५ वटा वडामा वडा अध्यक्षका लागि एमाले उम्मेदवारहरूले कुल ८ हजार ६ सय २१ मत ल्याएका छन् । जबकी मेयरमा ती ५ वडाबाट सुवेदीलाई ७ हजार ९७ मत मात्रै प्राप्त भएको छ । यसरी ५ वडाको परिणाममा एमालेबाटै सुवेदीलाई १ हजार ५ सय २४ मत प्राप्त नभएको देखिन्छ ।

एमालेले २०७४ मा जितेका मध्ये वडा नम्बर २, ४ र ५ को नेतृत्व गुमाइसकेको छ । हालसम्म जित्नै नसकेको वडा नम्बर ३ मा भने एमालेले वडा अध्यक्ष र महिला सदस्य जितेको छ ।

गणना जारी रहेको वडा नम्बर ६ मा रेणुले अग्रता बढाउने क्रम बढ्दो छ । अघिल्लो निर्वाचनमै सो वडामा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो नम्बरमा रहेका थिए । एमालेले बढी मतको अपेक्षा गरेका वडा नम्बर १०, ११ , १२ , २२, २३ र २४ हुन् । एमाले बलियो रहेका ती वडामा संयुक्त मतमा भने गठबन्धन नै अगाडि हुने देखिन्छ ।


प्रतिक्रिया

One thought on “भरतपुरमा एमालेमै अन्तर्घात, १ भोट रेणुलाई अरु सूर्यलाई !

  1. प्रचण्डेका पैसा एमालेका लठैतहरूले लुडाए हाेलान नि त !

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर