एक खेल बाँकी, उपाधि होडमा म्यान सिटी र लिभरपुलबीच एक अंकको फरक – Nepal Press
इङ्लिस प्रिमियर लिग

एक खेल बाँकी, उपाधि होडमा म्यान सिटी र लिभरपुलबीच एक अंकको फरक

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा २० मध्ये १८ टोलीले एक एक खेल खेल्न बाँकी रहेकाले उपाधि विजेताको टुंगो लाग्न सकेको छैन ।

शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी र दोस्रो स्थानमा रहेको लिभरपुलबीच एक अंकको मात्र फरक छ । साउथह्याम्पटनलाई मंगलबार राति २-१ गोलले हराउँदै लिभरपुलले उपाधि होड कायमै राखेको हो । अन्तिम खेलमा लिभरपुलले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ भने म्यानचेस्टर सिटीले पनि घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्नेछ ।

उल्भ्स ३७ खेलबाट ५१ अंक जोडेर तालिकाको ८ औँ स्थानमा छ । १४ औँ स्थानमा रहेको एस्टन भिल्लाको ३७ खेलबाट ४४ अंक छ । म्यान सिटी पछिल्ला ५ सिजनमा चौथोपटक इङ्लिस प्रिमियर लिग फुटबल जित्ने योजनामा रहेको छ ।

लिभरपुलले सन् २०१९/२० सिजन यो प्रतियोगिता जितेको थियो । त्यतिबेला लिभरपुलले ३० वर्षपछि घरेलु लिगको उपाधि जितेको थियो ।
यो सिजन लिभरपुलले ईएफएल कपको उपाधि पनि जितेको छ र युरोपियन च्याम्पियन्स लिगको पनि फाइनलमा पुगिसकेको छ । म्यानचेस्टर सिटी भने च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो ।

इङ्लिस प्रिमियर लिगबाट आगामी सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने तीन टोलीको टुंगो लागिसकेको छ । म्यान सिटी र लिभरपुलसहित ३६ खेलबाट ७० अंक भएको चेल्सी छनोट भइसकेको छ । ३७ खेलबाट ६६ अंक रहेको आर्सनल र ६८ अंक भएको टोट्टनहाममध्ये एक टोलीले च्याम्पियन्स लिगमा स्थान बनाउनेछ ।

अन्तिम खेलमा आर्सनलले घरेलु मैदानमा एभर्टन र टोट्टनहामले नर्विचको मैदानमा खेल्नेछ । इङ्लिस प्रिमियर लिगका शीर्ष चार टोली च्याम्पियन्स लिगमा छनोट हुन्छन् ।

यो सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको दौडमा लिभरपुलका मोहम्मद सलाह २२ गोलसहित अगाडि छन् । टोट्टनहामका सन हिउङ मिनले २१ गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो १८ गोलसहित तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर