सिद्धबाबालाई सफाइ दिने फैसला उच्च अदालतले उल्टायो, प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश – Nepal Press

सिद्धबाबालाई सफाइ दिने फैसला उच्च अदालतले उल्टायो, प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश

विराटनगर । एक २९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा मुद्दा खेपेका सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्च अदालतले उल्टाइदिएको छ ।

मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला बदर गरेको हो ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार जिल्लामा पेस भएका प्रमाणहरू पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश दिइएको छ ।

इजलासले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न तथा प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको उनले बताए ।

गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । सुनसरी प्रहरीमा उजुरी दिएपछि गत मंसिरको पहिलो साता गिरी विराटनगरस्थित एक निजी अस्पतालमा भर्ना भएका थिए ।

उच्च सरकारी वकिलको कार्यालयले गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश आफूहरूलाई चित्त नबुझेको बताउँदै उनलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न निवेदन दिएको थियो ।

उक्त निवेदनका आधारमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले पुस १८ गते मिसिलसहितको कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको थियो । बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका गिरी र वादी सरकारी वकिलको कार्यालय दुवै जिल्ला अदालतको आदेश कानुनसम्मत नभएको दाबी गर्दै उच्च अदालत विराटनगर पुगेका थिए ।

प्रतिवादी गिरीले पनि पुस २२ गते आफू साधारण तारेखमा बसेर मुद्दाको छिनोफानो होस् भन्दै उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । उनले धरौटी लिने जिल्ला अदालतको आदेश खारेज गर्नुपर्ने माग निवेदनमा गरेका छन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ ले थुनछेक वा तोकिएको धरौटी, जमानत वा ब्याङ्क जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदनका लागि अदालतमा निवेदन दिन सक्ने कानुनी व्यवस्था छ ।

प्रहरीका अनुसार गएको मंसिर ८ गते आफू विरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी भए लगत्तै ४६ वर्षीय गिरी अस्पताल भर्ना भएका थिए ।

नेपाल प्रहरीले गिरीलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष आइसियुबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *