सुनिता डंगोललाई प्रश्नः बालेनले जिते महानगरमा तपाईंसँग ट्युनिङ मिल्ला ? – Nepal Press

सुनिता डंगोललाई प्रश्नः बालेनले जिते महानगरमा तपाईंसँग ट्युनिङ मिल्ला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भए पनि उपमेयर उम्मेदवार सुनिता डंगोललाई बधाईको ओइरो लाग्न थालिसकेको छ । प्रतिस्पर्धी उम्मेदवारसँग भीमकाय अन्तराल कायम हुँदा उनको जित निश्चितप्रायः देखिन्छ ।

एमालेबाट उम्मेदवार बनेकी सुनिताले सुरुदेखि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले भन्दा चारगुणा बढी मत ल्याइरहेकी छन् । पूर्ण रुपमा एकतर्फी देखिएको यो प्रतिस्पर्धामा खासै उत्सुकता बाँकी छैन ।

सुनिता चाहिँ कत्तिको निर्धक्क छिन् ? उनैलाई सोधियो ।

‘अझै बाँकी छ कति काउन्टिङ, तर अहिलेसम्म राम्रो भइरहेको छ । हेर्दै जाउँ’, सुनिताले जवाफ दिइन् ।

जति भोट बढ्दै जान्छ, त्यति जिम्मेवारी थपिएको महसुस हुँदै गएको उनको अनुभव छ । ‘मेरो लागि प्रत्येक भोटले जिम्मेवारी थपिरहेको छ, ममाथि गरिएको आशा र भरोसालाई खेर जान दिनु हुँदैन भन्ने भावना प्रगाढ बनिरहेको छ’, उनले भनिन् ।

सुनिताले सुरुमा काठमाडौंको मेयरमै उम्मेदवारी दिने सोच बनाएकी थिइन् । तर, एमालेले उपमेयर अफर गरेपछि उनले स्वीकारेकी हुन् । यो निर्णय उनका निम्ति निकै फाइदाजनक देखिएको छ । सुनिता आफैले नसोचेको भोट ल्याइरहेकी छिन् ।

उनलाई यति धेरै भोट किन ओइरियो ?

उनको आफ्नै विश्लेषण यस्तो छः

‘यो जनताको माया र आशीर्वाद हो । एमालेजस्तो जनतामाझ स्थापित पार्टीको उम्मेदवार हुन पाउनु नै मेरो लागि सबैभन्दा ठूलो कुरा थियो । यसका अतिरिक्त मैले विगतदेखि गर्दै आएको कामलाई समेत हेरेर मेरो क्षमतामाथि विश्वास गरेर भोट दिनुभएको जस्तो लाग्छ । यो माया र विश्वासप्रति म अत्यन्त अनुगृहीत छु । मलाई प्राप्त भएको प्रत्येक मतको जतन गर्नेछु ।’

यता, मेयरको प्रतिस्पर्धामा भने ठूला दलहरुलाई स्तब्ध तुल्याउँदै स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् । उनी पनि निकट प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर अन्तरले अगाडि छन् । यसर्थ, काठमाडौं महानगरवासीले बालेन र सुनितालाई मेयर र उपमेयरको कुर्सीमा देख्न थालिसके ।

सुनिता भने अहिले त्यसरी अनुमान गरिहाल्नु हतार हुने बताउँछिन् ।

‘मत गणना अहिले पनि सुरुवाती अवस्थामै छ र धेरै मतहरु गन्न बाँकी रहेकाले परिणाम यस्तै होला भनेर ठोकुवा गर्न सकिन्न । अरु सबैलाई जस्तै मलाई पनि उत्सुकता बढिरहेको छ । तर, जे परिणाम आउँछ, त्यसलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ किनकि जनता नै अन्तिम निर्णयकर्ता हुनुहुन्छ’, सुनिताले भनिन् ।

चुनावी अभियानका क्रममा सुनिताले बालेन साहको विषयमा गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । उनले एउटा भाषणमा आफूले चुनाव जितेपछि काठमाडौंमा एमफी थियटर बनाउने र बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् । अब बालेन नै मेयर बन्ने सम्भावना बढेपछि सुनिता के भन्छिन् ?

उनले आफ्नो अभिव्यक्तिको बचाउ गर्दै भनिन्, ‘मेरो भनाइलाई कसले कसरी बुझ्नु भयो, तर मैले त्यस्तो गलत त बोलेको थिइनँ । र्‍याप भनेको नराम्रो कुरा होइन । यो पनि संगीतको एउटा विधा हो । उहाँले यदि मेयर जित्नुभयो भने पनि र्‍याप गाउन छोड्नुपर्छ जस्तो लाग्दैन । भोलि मेयरकै पदमा बसेर पनि एमफी थिएटरमा गाउन सक्नुहुन्छ । अरु देशमा पनि हामीले विभिन्न उच्च ओहदामा रहनुभएका व्यक्तिहरुले आफ्नो विशेष कलाहरु स्टेजमा देखाउनुभएको पाउँछौं । त्यसैले यो नराम्रो हुँदै होइन ।’

उनी थप्छिन्, ‘काठमाडौंमा युवाहरुलाई यस्तो प्लेटफर्म होस्, जहाँ उनीहरुले आफ्नो विभिन्न प्रतिभा प्रष्फुटन गर्न सकून् भन्ने अवधारणा हो । त्यसैले एमफी थिएटरको कुरा गरेको थिएँ । बालेनजीले जिते पनि नजिते पनि त्यहाँ पफर्म गर्न सक्नुहुन्छ । लिडरसिपमा भएको मान्छेले आफ्नो प्रतिभालाई स्टेजमा प्रस्तुत गर्नु भनेको त राम्रो हो । यसले अरुलाई पनि प्रोत्साहन मिल्छ नि होइन र ? यो कुरालाई लिएर कसैले मन दुखाउनु पर्दैन जस्तो लाग्छ । यदि म उपमेयर भएँ पनि आफै पनि स्टेजमा पफर्म गर्नलाई धक मान्ने छैन ।’

यदि बालेन मेयरमा निर्वाचित भएमा उनले यो नतिजालाई कसरी लिनेछिन् ?

सुनिता भन्छिन्, ‘सबैभन्दा पहिले त कुनै पनि निर्णय आफैमा सकारात्मक वा नकारात्मक हुँदैन । त्यसलाई हामीले सकारात्मक बनाउने हो । यो चुनावको रिजल्ट जे आए पनि मैले सही वा गलत भन्न मिल्दैन । यो रिजल्टलाई सही सावित गर्ने हाम्रै हातमा हुन्छ । हामीले टिमवर्क गरेर काठमाडौं बासिन्दाको हितमा काम गर्न प्रयास गर्ने हो ।’

अन्तिममा सुनितालाई सोधियो, ‘बालेन एउटा स्वतन्त्र उम्मेदवार, तर तपाईं एउटा पार्टीको प्रतिनिधि । तपाईंहरुको ट्युनिङ कत्तिको मिल्ला ?’

उनले जवाफ दिइन्, ‘यो विषयमा चाहिँ अहिले नै बोल्नु अलि हतारो हुन्छ जस्तो लाग्छ । हामी सबैले समयलाई नै प्रतीक्षा गर्नुपर्ला । तर, यति चाहिँ भन्छु कि जेसुकै रिजल्ट आए पनि काठमाडौं महानगरवासीले गर्नुभएको विश्वासलाई कदर गर्दै सामूहिक भावनाका साथ काम गर्न म आफ्नोतर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर