जुगलको मतगणनामा पुनः समस्या, ९७ मतले चुनाव जितेपनि घोषणा गर्न आनाकानी – Nepal Press

जुगलको मतगणनामा पुनः समस्या, ९७ मतले चुनाव जितेपनि घोषणा गर्न आनाकानी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ को मतगणनाको क्रममा एमाले उम्मेदवार चन्द्रकाजी लामाले प्रत्याशी भन्दा १ मत बढी ल्याएर चुनाव जिते । तर प्रत्याशी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रताप लामा सहित माओवादीले मतगणनामा धाँधली भएको आरोप लगाएर पुनः मतगणना गर्नुपर्ने माग राखे । माओवादी र कांग्रेसले पुनः मतगणना गर्नुपर्ने राखे पनि एमालेले एक मत ले विजयी भएकोले घोषणाको माग राखेको छ ।

दुवै पक्षबिच विवाद भएपछि जुगल गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत चण्डीप्रसाद ढकालले कांग्रेस र माओवादीको माग अनुसार नै पुनः मतगणना गरे । पुनः मतगणना गर्दा सुरुमा १ मतले मात्रै चुनावका एमाले उम्मेदवार लामाले पुनः मतगणना गर्दा ९ मत बढी पाए ।

एमालेले जुगलको निर्वाचन अधिकृतलाई बरखास्त गर्न माग गरे पनि मागमा सुनुवाई भएन । मतगणना जारी रह्यो । मतगणनाको क्रममा सोमबार पुनः अर्को घटना भएपछि एमालेले आफूहरूलाई संस्थागत रूपमा नै निर्वाचन अधिकृत लगायतको टिमले हराउन भूमिका खेलेको आरोप लगाएको छ ।

जुगल ४ मा एमाले वडाध्यक्षको उम्मेदवार प्रेम तामाङले माओवादी केन्द्रका उम्मेदवार यमबहादुर श्रेष्ठले भन्दा ९७ बढी मत ल्याएर चुनाव जिते तर माओवादी केन्द्रले परिणाम घोषणा गर्न दिएको छैन ।

मत परिणाम सिटमा कुल मत १६०२ लेखेको र खसेको मत १५८२ लेखेको पाएपछि माओवादीले २२ मत फर्जी हालेको भन्दै लफडा गरेको एमाले नेता होमनारायण श्रेष्ठले बताए ।

उनले भने, ‘हामीलाई संस्थागत रूपमा नै प्रमुख निर्वाचन अधिकृत र यहाँ खटिएर आएको निर्वाचन अधिकृतले असहयोग गरे । जनताले अस्वीकार गरे पनि जबर्जस्ती गरेर जित्न खोज्नु गलत हो ।

मत परिणाम सिटमा १६०२ मत गन्दा भनिएको र प्राप्त मत जोड्दा कम देखिएको भन्दै माओवादीले विरोध सुरु गरेको थियो । मतदान सम्पन्न हुँदा १५८२ मत झरेको लेखिए पनि कर्मचारीहरूले १६०२ मत गन्दा भनेर लेखेपछि माओवादीले त्यही विषयमा लफडा सुरु गरेको श्रेष्ठले जानकारी दिए ।

जुगल गाउँपालिकाका निर्वाचन अधिकृत चण्डीप्रसाद कोइराला भने सम्बन्धित मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले गलत विवरण दिँदा समस्या भएको बताउँछन् ।

उनले भने, ‘हामीलाई पनि त्यही विवरण दिएको छ । अब अर्धकट्टी हेरेर वास्तविकता पत्ता लगाउँछौ ।’

बलेफीमा पनि समस्या

बलेफी गाउँपालिका २ मा कांग्रेस र माओवादी उम्मेदवारको बराबरी मत आएपछि गोला प्रथाबाट छिनोफानो गरियो ।

गोला प्रथामा कांग्रेस उम्मेदवार विजयी भए । बलेफी गाउँपालिका ७ मा भने एमाले उम्मेदवार तेजबहादुर पराजुलीले १ मतले चुनाव जिते पनि माओवादीको विरोधपछि मत परिणाम सार्वजनिक हुन सकेको छैन ।

बलेफीका निर्वाचन अधिकृतले सुरुदेखि नै सत्तापक्षको पक्षपोषण गरेर निर्वाचनमा आफूहरूलाई असहयोग गरेको एमालेको आरोप छ ।

बलेफी गाउँपालिकाका निर्वाचन अधिकृत रोशनशंकर घिमिरेसँग भने समर्पक हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर