भरतपुरको वडा नम्बर ३ , कांग्रेसको गढ कसरी भत्कियो ? – Nepal Press

भरतपुरको वडा नम्बर ३ , कांग्रेसको गढ कसरी भत्कियो ?

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा नेपाली कांग्रेसवृत्तमा ३ नम्बर वडाको नतिजा सर्वाधिक चासोको विषय बनेको छ । कांग्रेसको गढका रुपमा चिनिएको सो वडामा एमालेले फराकिलो अन्तरले वडा अध्यक्ष जितेपछि कांग्रेसका कार्यकर्ताहरु हारको कारण खोजिरहेका छन् । टिकट वितरणमा बढेको विवाद सही ढंगले समाधान नभएकै कारण सो वडामा अधिकांश कांग्रेस कार्यकर्ताले अध्यक्षमा एमाले उम्मेदवारलाई मत दिएको देखिन्छ ।

नारायणगढको आनन्दमार्ग, संगमरोड, बेलचोक, बार्‍हघरे, न्यूरोड, कमलनगरलगायतका टोल पर्ने वडा नम्बर ३ मा अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले क्लीन स्वीप गरेको थियो । एक्लै प्रतिस्पर्धा गर्दा अघिल्लो निर्वाचनमा कांग्रेसका चन्द्रमित्र पण्डित ६९२ मतको अन्तरले विजयी भएका थिए ।

यसपटक एमालेका विकास थापाले वडाध्यक्षमा ६१७ मतान्तरले जित हासिल गरे । कांग्रेसका क्षेत्रीय सभापति भरत लामिछानेले वडा अध्यक्षमा १ हजार ४९ मत ल्याउँदा विकासले १ हजार ६६६ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा वडा सदस्यमा भरतले विकासलाई जितेका थिए तर यसपटक भने विकासले भरतलाई पराजित गरे ।

चितवनमै कांग्रेसको सुरक्षित वडामध्ये पर्ने सो वडा कांग्रेसको आन्तरिक विवादकै कारण एमालेले जित्न सफल भएको हो । कांग्रेसको वडा समितिले सभापति तारामित्र पण्डितलाई वडा अध्यक्षका लागि एकल सिफारिस गरेको थियो । यद्यपि क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले क्षेत्रीय सभापति भरत लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गर्यो । वडा र क्षेत्रबीच टकराव बढेपछि कांग्रेसको वडा सभापति रहेका पण्डितले पनि अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए ।

पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभाका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका बेला सो वडाको विवाद सुल्झाउन प्रयत्न गरेका थिए । मतदानअघि पण्डितले उम्मेदवारी फिर्ता लिए पनि परिणाममा त्यसले फरक पारेन । हारको मुख्य कारण अन्तर्घात भएको क्षेत्रीय समितिका नेताहरु बताउँछन् । वडाका कार्यकर्ताहरु भने उम्मेदवार छनोटमै कमजोरी भएकाले अन्तर्घात स्वाभाविक रहेको बताउँछन् ।

‘पार्टीको तर्फबाट उम्मेदवार भइसकेपछि विवादको पछाडि नलागी जिताउनुपर्थ्यो । तर, केही नेताहरुले आन्तरिक रुपमा कांग्रेसको उम्मेदवार हराउन लागेको देखियो,’ क्षेत्रीय समितिका एक सदस्यले नेपाल प्रेससँग भने ।

बेलचोकका एक क्रियाशील सदस्य भने उम्मेदवार छनोट नै हारको कारण रहेको बताउँछन् । ‘वडा समितिको निर्णयविपरीत क्षेत्रीय सभापति आफैले आफैलाई टिकट दिनुभयो । वडाका सबै टोलको प्रतिनिधित्व पनि देखिएन । एमाले उम्मेदवार भए पनि विकासजी हाम्रै टोलको हुनुभयो । त्यसैले पार्टी होइन साथी हेर्यौं’, उनले भने ।

निर्वाचन परिणाम आएलगत्तै कांग्रेसका पराजित उम्मेदवार लामिछानेले विजयी एमाले उम्मेदवार थापालाई खादा लगाएर अंकमाल गरेका छन् । दुवैले वडाको विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर