भरतपुर मतगणनाको रुझान: रेनुलाई जगन्नाथ भारी पर्ने संकेत ! – Nepal Press

भरतपुर मतगणनाको रुझान: रेनुलाई जगन्नाथ भारी पर्ने संकेत !

चितवन । भरतपुर महानगरपालिकाको ३ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारका कारण धक्का लाग्ने देखिएको छ ।

तीन वटा वडाको मतको रुझान हेर्दा गठबन्धनको संयुक्त मत स्वतन्त्र उम्मेदवारले काटेका कारण नेकपा एमालेले लाभ लिएको छ ।

२०७४ को मत परिणामअनुसार भरतपुरको १, २ र ३ नम्बर वडाको अध्यक्षमा कांग्रेस र माओवादीले पाएको संयुक्त मत ५ हजार ७५१ थियो । जबकि एमाले र राप्रपाको मत ती वडामा कुल ४ हजार ८९ मात्रै थियो । अघिल्लो परिणामकै आधारमा गठबन्धन स्पष्ट १ हजार ६६२ मतले अगाडि थियो । यद्यपि कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ हजार ५७२ मत पाउँदा गठबन्धन अग्रता लिनबाट चुकेको छ।

मत परिणाम आएका ३ मध्ये २ वडामा कांग्रेस र एकमा एमालेले अध्यक्ष जितेका छन् । कांग्रेसले विगतमा जितेको वडा नम्बर ३ गुमाएको छ भने एमालेले वडा नम्बर २ गुमाएको छ । कांग्रेसले वडा नम्बर १ जोगाएको छ ।

अहिलेसम्म भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार ८९४ मत ल्याएकी छिन् । विजयले रेनुलाई ५० मतले उछिनेका छन् ।

भरतपुर महानगरका २६ वटा वडाको मतगणना अझै बाँकी छ । स्वतन्त्र उम्मेदवार पौडेलले अहिलेसम्म १३ दशमलव ८७ प्रतिशतको दरले मत ल्याएका छन् । पौडेलको प्रभाव रहने दावी गरिएको ४, ५, ६, ७ र १० नम्बर वडाको मतगणना बाँकी नै छ । माओवादी नेताहरु भने ८, १३, १६, २५, २६ लगायतका वडाबाट ‘कभर’ हुने दावी गर्छन् । भरतपुरमा ६७ दशमलव ५ अर्थात १ लाख २५ हजार बढी मत खसेको छ ।

स्वतन्त्र उम्मेदवार पौडेलले प्राप्त गरेको मत अनुपात कायमै रहे उनले १५ हजार मत कटाउने देखिन्छ । त्यस्तो अवस्थामा गठबन्धन उम्मेदवारलाई जित्न सकस पर्ने देखिन्छ ।


प्रतिक्रिया

One thought on “भरतपुर मतगणनाको रुझान: रेनुलाई जगन्नाथ भारी पर्ने संकेत !

  1. यों उर्दू /फ़ारसी शब्द #रुझान को ठेट नेपाली अर्थ के होला? 😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर