‘मास फ्रस्टेसन’ ले जन्माएका बालेन – Nepal Press

‘मास फ्रस्टेसन’ ले जन्माएका बालेन

काठमाडौं । स्थानीय चुनावको इपिसेन्टर मानिएको भरतपुर महानगरभन्दा काठमाडौं महानगरको प्रारम्भिक चुनावी मतगणनाले देशकै ध्यानाकर्षित गरिरहेको छ । पलपलमा आउने प्रारम्भिक मत परिणामले सामाजिक सञ्जालदेखि मिडियाको मुख्य समाचारसम्म छपक्कै छोपिएको छ । अहिलेसम्म उल्लेख्य अन्तरका साथ स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि बढिरहेका छन् भने उनलाई एमालेका केशव स्थापित र कांग्रेसकी सृजना सिंहले पछ्याइरहेका छन् ।

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द कैजरिवालले एकपटक भनेका थिए, ‘मलाई प्रत्यक्ष राजनीतिमा आउनु थिएन । अन्ना हजारेसँग भ्रष्टाचारविरोधी अभियान चलाएर बसिरहेको थिएँ । तर, राजनीतिक पार्टीका नेताहरुले भने कि त्यस्तो सुधार नै चाहन्छौ भने राजनीतिमा आऊ, अनि थाहा पाउनेछौं । र, म प्रत्यक्ष राजनीतिमा आउन बाध्य भएँ ।’

केजरिवाल जसरी आए, बालेन्द्र त्यसरी आएका होइनन् । तर, दुवैको सुरुवाती गैरदलीय यात्रा भने उस्तै छ । राजनीतिक पार्टीले मात्रै विचार, सिद्धान्त बोकिहिँड्छ भनेर नमान्ने जमातले बालेन्द्रलाई साथ दिइरहेका छन् । राजनीतिक फ्रस्टेसनमा बाँचिरहेका नागरिकहरुको ठूलो समर्थन पाएका छन् । बालेन्द्रको सुरुवाती अग्रता र उनको लोकप्रियतालाई हेर्दा राजनीतिक पार्टीबाट फ्रस्टेड भएका युवा पुस्ताको जमात कति ठूलो छ, प्रस्ट देखिन्छ ।

अघिल्लो स्थानीय चुनावमा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार र साझा पार्टीका किशोर थापाले १८ हजार मत ल्याएका थिए । यो बीचमा यी दुई पार्टी एक भए, बीचमा क्षतविक्षत भए । राजनीतिक पार्टीभन्दा फरक विचार राख्ने जमातको नेतृत्व गरेको यो पार्टी अहिले छिन्नभिन्न अवस्थामा छ । तर, जुन जमातको समर्थनले दर्शना र थापाले हजारौं भोेट पाएका थिए, त्यो जमात अहिले पनि छ । जो अझैसम्म राजनीतिक पार्टीको विकल्प खोजिरहेका छन् भनेर बालेन्द्रले पुष्टि गरिरहेका छन् ।

राजनीतिक विश्लेषक शंकर तिवारीको भनाइमा पनि मुलुकमा गणतन्त्र आइसकेपछि राजनीतिक पार्टीहरुसँग जनताको जुन अपेक्षा थियो, त्यो पूरा भएन । त्यसैको प्रत्युत्तरस्वरुप बालेनले लिएको प्रारम्भिक अग्रतामार्फत् जनताले आफूलाई अभिव्यक्त गरेको बताउँछन् तिवारी ।

उनका अनुसार जनतामा सुषुप्त रहेको राजनीतिक फ्रस्टेसन बालेनले प्राप्त गरेको भोटमा देखिएको हो । तिवारी थप्छन्, ‘हिजो पञ्चायतकालमा नानीमैयाँ दाहालले जितेदेखि नै काठमाडौंमा स्वतन्त्र मत छ भन्ने हुन्छ । यसपटक बालेनले आफ्नो ¥यापरको छविलाई मत परिणाममा बदल्न सफल भए । यसको अर्को कारण भनेको कांग्रेसले परिवारिक पृष्ठभूमिबाट उम्मेदवार छान्नु र एमालेले विवादित व्यक्तिलाई उम्मेदवार बनाउनु पनि हो ।’

बालेनले काठमाडौंको १२ वडाका कोर नेवार बस्तीमा पनि यही मात्रामा मत ल्याउने आँकलन गरिएको छ । भलै उक्त क्षेत्रको मतगणना हुन बाँकी छ । तर, त्यहाँ पनि बालेन अब्बल निस्किने विश्लेषणहरु गरिएका छन् । तर, बालेनको पक्षमा जस्तो परिणाम आए पनि जनता विकल्पको खोजीमा छन् भनेर उनले पुष्टि गरिदिएका छन् ।

अहिले बालेनले प्राप्त गरेको मत हिजो विवेकशील साझा पार्टीले खनेको जगका कारण हो भन्ने दाबी यदाकदा सुन्नमा आइरहेकै हुन्छन् । छिन्नभिन्न भएर पनि विवेकशील, साझाहरु वैकल्पिक शक्तिको पैरवी गरेर थाकेका छैनन् । तर, वैकल्पिक शक्तिको उदय हुनुपर्ने चाहिँ कसरी हो ? राजनीतिक विश्लेषक गौतम राई भन्छन्, ‘बैकल्पिक शक्तिको उदय व्यक्तिमा केन्द्रित भएर हुन्छ कि मुद्दामा केन्द्रित भएर हुन्छ, त्यसले असर गर्छ । व्यक्तिको मात्रै उदय भयो भने त्यसले मुद्दालाई चैट पार्छ र त्यसअनुसार जनमत बटुल्छ । आजको राजनीतिक पार्टीहरुको नेतृत्वकै कार्यशैलीमा वैकल्पिक शक्ति खोज्न थालियो भने त्यो सम्भव हुँदैन ।’

हरेक दश वर्षमा नयाँ पुस्ता आउँछ । भनिन्छ, त्यही पुस्ताले समाजलाई ताजा दिशा प्रदान गर्न सक्छ । त्यही पुस्ताले नै विकल्प खोजेर हिँड्छ । एमाले र कांग्रेसबाट आजित भएको पुस्ताले माओवादी रोज्यो । माओवादीपछि अर्को विकल्पको खोजी नयाँ पुस्ताले गरिरहेको राईको विश्लेषण छ । भन्छन्, ‘हाम्रा राजनीतिक पार्टीका गतिविधिले आजित थिए जनता । त्यसमा उज्ज्वल थापाले एउटा ढुंगो हाने । त्यसले तरंग ल्यायो । अनि बालेन साह त्यही तरंगमा ठोक्किएका हुन् ।’

युवा पुस्ताको ठूलो जमातले बालेनलाई समर्थन गर्नुमा राजनीतिक फ्रस्टेसनलाई नै कारक देख्छन् विश्लेषकहरु । राजनीतिक पार्टी हुनुको पछाडि विचार, सिद्धान्त हुन्छन् । तर, त्यहाँबाट पार्टी डिरेल भएपछि हरेक वर्ष निस्किने पुस्तालाई ओरियन्ट गर्न नसकेको बताउँछन् राई । भन्छन्, ‘त्यसपछि विचारविहीन मान्छेको झुण्डमात्रै बाँकी रह्यो । जुन झुण्डमा जसले पनि सजिलै आफ्नो स्वार्थको अण्डा कोरल्न सक्छ । राजनीतिक पार्टीहरु सिद्धान्त र मूल्यबाट चुकेपछि यस्तो परिणाम प्राप्त हुन्छ ।’

बालेनले अहिले लिइरहेको अग्रता हेर्दा उनले जित्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन । एजेन्डाहरु मिडियामा आएपछि सामाजिक सञ्जालमा लोकप्रिय बनेका बालेन मत परिणाममा पनि बलियो देखिएका छन् । तर, एक्लै भिडिरहेका उनलाई ३२ वडाबाट आउने जनप्रतिनिधिलाई समेटेर लैजान उत्तिकै चुनौती छँदैछ । एकातिर चुनौतीकै चुनौतीका चाङमा छन् बालेन, अर्कातिर उनका समर्थक चर्को नारा लगाइरहेका छन् । ती समर्थकहरुले विवेकसम्मत र वैचारिक नेतृत्व चाहेका हुन् या साउथ फिल्मको रजनीकान्त या ७०–८० को दशकको बलिउड अभिनेता अमिताभ बच्चन चाहेका हुन् ? आज घोर समर्थन गरेर भोलि विरोधमा उत्रिनुपर्ने अवस्था आउन पनि सक्छ ।

तर, बालेनले जस्तो युवाले पाएको यो समर्थन र हौसलालाई आकार दिनसक्नुपर्ने विश्लेषक राई बताउँछन् । भन्छन्, ‘अहिले जनताले युवा उम्मेदवारलाई रुचाएको देखिन्छ । तर, पार्टीहरुमा पनि युवा छन्, उनीहरु किन सक्षम भएनन् ? किनभने पार्टीहरुले युवाहरुलाई राजनीतिमा सक्षम होइन, दासगिरीका लागि सक्षम बनाए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर