चुनावको ओझेलमा मोदीको भ्रमणः बुद्ध नेपालमा जन्मेको भाषण गरेर फर्किने ! – Nepal Press

चुनावको ओझेलमा मोदीको भ्रमणः बुद्ध नेपालमा जन्मेको भाषण गरेर फर्किने !

काठमाडौं । देश चुनावी माहोलमा रंगिएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी भोलि नेपाल भ्रमणमा आउँदैछन् । र, पहिलोपटक भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले न्यून महत्व पाएको छ ।

नेपालमा भर्खरै चुनाव सकिएर मतगणनाको रौनक चलिरहेकाले मोदीको भ्रमण ओझेलमा परेको हो । अन्यथा सञ्चारमाध्यममा उनी लगातार हेडलाइन बनिरहेका हुन्थे । तर, चुनावी अपडेटमा भ्याइनभ्याइ भिडिरहेका मिडियाहरूले मोदीको भ्रमणको अपडेट गर्न भ्याइरहेका छैनन् ।

त्यसो त मोदीको भ्रमणले धेरै महत्व नपाउनुको अर्को कारण यो राजनीतिक उद्देश्यप्रेरित नहुनु पनि हो । भित्री अभिष्ट राम्ररी प्रकट नभइसकेको भए पनि यो यसलाई धार्मिक यात्रा बताइएको छ । बुद्ध जयन्तीका दिन उनी बुद्धको जन्मस्थल लुम्बिनी आउनु नेपालका लागि सकारात्मक हो ।

विगतमा भारतीय प्रधानमन्त्रीहरू नेपाल आउन बडो सकस मान्थे । मोदीभन्दा पहिलेका प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो १० वर्ष लामो कार्यकालमा एकपटक पनि नेपाल भ्रमण गरेनन् । जबकि नेपालका प्रधानमन्त्रीहरूको पहिले विदेश भ्रमण नै भारतबाट सुरु गर्ने परम्परा बसिसक्यो ।

मोदी प्रधानमन्त्री बनेपछि भने द्वीपक्षीय भ्रमणमा थोरै भए पनि सन्तुलन आएको छ । मोदी स्वयम्ले बाक्लै नेपाल भ्रमण गरिरहेका छन् । प्रधानमन्त्री बनेयता उनी यसअघि चारपटक नेपाल भ्रमणमा आइसके । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेयता चाहिँ उनको यो पहिलो नेपाल भ्रमण हुने छ । उनले चार वर्षपछि नेपालको भ्रमण गर्न लागेका हुन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पनि मोदीलाई दुईपटक भेटिसके । यसपालीको भेट तेस्रो हुनेछ ।

मोदीको नेपाल भ्रमण धेरैको सम्झनामा हुनुपर्छ । प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण उनले नेपालमा गरेका थिए । त्यस क्रममा नेपालको संसदमा उनले गरेको सम्वोधन बहुचर्चित बनेको थियो ।

मोदीले नेपालको संसदमा ‘बुद्धको जन्मस्थल नेपाल हो’, ‘नेपाल सार्वभौम राष्ट्र हो’ भन्दै भाषण गर्दै हाम्रा सांसदहरूले रमाउँदै ताली पिटेको लाजमर्दो दृष्य देखिएको थियो । त्यसको एक हप्तापछि मोदी अर्को देश पुगेर ‘बुद्ध भारतमा जन्मिएको’ भन्न भ्याइसकेका थिए ।

भारतले नेपाललाई बुद्धको जन्मस्थलका रुपमा कहिले पनि खुलेर स्वीकारेको छैन । भारतीयहरू अन्तर्राष्ट्रिय स्तरमा भारतलाई बुद्धको देशका रुपमा प्रचार गर्ने गर्छन् । भारतले आफैं नक्कली कपिलवस्तुसमेत बनाएर विभिन्न देशका बुद्धमार्गीहरूलाई आकर्षण गरिरहेको छ ।

त्यसैले अन्तर्राष्ट्रिय समुदायमा बुद्धको जन्मस्थल भारत नै हो भन्ने भ्रम अहिले पनि यथावत छ । यस सन्दर्भमा मोदीको यो भ्रमण अर्थपूर्ण मान्न सकिन्छ । नेपाल बुद्धभूमिका रूपमा प्रचारित होस् भन्ने नचाहने भारतका प्रधानमन्त्री किन बुद्ध जयन्ती मनाउन लुम्बिनी आउँदैछन् भन्ने रोचक प्रश्न छ ।

लुम्बिनी भ्रमणमा आउनु धार्मिक रुझान भएका मोदीको व्यक्तिगत चाहना देखिन्छ । उनले यसअघि नै नेपालको जनकपुरधाम र मुक्तिनाथजस्ता धार्मिक स्थलको भ्रमण गरिसकेका छन् । लुम्बिनी आउने पनि मोदीको पुरानै योजना हो । यसअघि आउने तयारी गरेर पनि विभिन्न कारणले रोकिएको थियो ।

यो भ्रमणमा कुनै भित्री अभिष्ट लुकेको छ त ? परराष्ट्रका जानकारहरू त्यस्तो ठान्दैनन् ।

भारतको राजदूत रहिसकेका एक विज्ञले भने, ‘हामी हरेकपटक भारतको भ्रमण हुँदा अनावश्यक आशंका गर्छौं । त्यो जरुरी छैन । यो नितान्त धार्मिक भ्रमण हो ।’

उनले थपे, ‘मोदी यदि काठमाडौं पनि आएको भए यहाँ विभिन्न राजनीतिक दलका नेतालाई भेटेर चलखेल पनि गर्न सक्थे होला । तर, उनी लुम्बिनीबाटै फर्किने भएकाले त्यस्तो कुनै सम्भावना छैन ।’

लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच कुनै ठूलो सम्झौताको गुञ्जायस पनि नरहेको उनको भनाइ छ ।

के छ कार्यक्रम ?

मोदीले लुम्बिनीमा ६ घण्टा बिताउने छन् । यो ६ घन्टाका लागि ६ वटा जति कार्यक्रम तय भएका छन् । ती कार्यक्रमहरू खासै महत्वका छैनन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले मोदीलाई मानार्थ पीएचडी उपाधि प्रदान गर्नेछ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग लुम्बिनीमै भेटवार्ता राखिएको छ । उक्त भेटवार्तामा कुनै सन्धि-सम्झौता हुने वा नहुने खुलाइएको छैन । सँधैजस्तो नेपाल सरकार यस मामलामा अपारदर्शी नै छ । मोदी राजधानी काठमाडौं नआइकन लुम्बिनीबाटै भारत फर्किनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेटवार्ताको कार्यक्रम छैन ।

लुम्बिनीमा मोदीले बुद्ध जयन्तीको अवसरमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने छन् । यस सम्बोधनमा उनले ‘नेपाल गौतम बुद्धको देश’ वा ‘बुद्धको जन्मस्थल नेपाल’ भनेर फेरि उद्घोष गर्ने तयारी छ । यो भ्रमणको मुख्य पक्ष पनि यही नै हो ।

पहिलो भ्रमणमा ‘नेपाल बुद्धको देश’ भन्दा मोदीले नेपालीहरूको वाहवाही पाएका थिए । नेपालमा उनको क्रेज ह्वात्तै बढेको थियो । तर, त्यो क्रेज लामो समय टिकेन । २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाएपछि त उनी नेपालीहरूका निम्ति खलनायक नै बन्न पुगे ।

भारतले हरेक पटक आफ्नोतर्फबाट हुने उच्चस्तरीय भ्रमणमा अवाञ्छित रवाफ प्रदर्शन गर्ने गर्छ भने नेपालले गर्छ अनावश्यक चाकडी । मोदीको यो भ्रमणमा पनि त्यस्तै भएको छ । भ्रमण हुनुभन्दा ६ दिन अगाडि नै भारतीय वायूसेनाको बिमान लुम्बिनीमा नवनिर्मित गौतमबुद्ध विमानस्थलमा उत्रियो । उक्त विमानले भारतीय सुरक्षाकर्मीको टोलि र मोदीले प्रयोग गर्ने गाडीसमेत ल्याएको बताइएको छ ।

कुनै पनि विदेशी अतिथिलाई भ्रमणका लागि निम्त्याउँदा उसको सुरक्षाको जिम्मेवारी आतिथ्यता प्रदान गर्ने मुलुकको हुन्छ । सवारीसाधन पनि उसैले व्यवस्थापन गर्नुपर्छ । तर, भारतबाट हुने भ्रमणमा हरेकपटक यस्तो अतिरञ्जित रवाफ प्रदर्शन हुने गरेको छ । भारतबाटै सुरक्षाकर्मी ओसार्नु भनेको नेपालको सुरक्षामा विश्वास नरहेको सन्देश प्रवाह गर्नु हो ।

यता, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा अतिरिक्त उत्साह प्रदर्शन गर्दै मोदी आउनुभन्दा अघिल्लो दिन नै कुदेर लुम्बिनी पुगिसकेका छन् । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा त्यहाँका राज्यमन्त्री स्वागत गर्न बिमानस्थल आउने गर्छन् । तर, भारतका प्रधानमन्त्रीलाई स्वागत गर्न देउवा आफैं काठमाडौंबाट धाएर लुम्बिनी जानु चाकडीकै रूप भएको एक परराष्ट्रविद्ले बताए ।


प्रतिक्रिया

One thought on “चुनावको ओझेलमा मोदीको भ्रमणः बुद्ध नेपालमा जन्मेको भाषण गरेर फर्किने !

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर