नेपाल आउनुअघि मोदीले भने- यात्राको उद्देश्य हाम्रो सम्बन्धको उत्सव मनाउनु – Nepal Press

नेपाल आउनुअघि मोदीले भने- यात्राको उद्देश्य हाम्रो सम्बन्धको उत्सव मनाउनु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि लुम्बिनी आउँदै छन् । उनी लुम्बिनीमा ६ घण्टा बिताएर भोलि नै स्वदेश फर्कने छन् ।

‘नेपालसँग हाम्रो सम्बन्ध अद्वितीय छ । भारत र नेपालबीच सभ्यता तथा जनताहरूबीचको आपसी सम्पर्कले दुई देशको घनिष्ट सम्बन्धलाई स्थायित्व प्रदान गरेको छ,’ भ्रमणको पूर्वसन्धन्यामा मोदीले वक्तव्यमा भनेका छन्, ‘मेरो यात्राको उद्देश्य समयसँगै मजबुत भएको यस सम्बन्धको उत्सव मनाउनु र यसलाई अझ प्रगाढ बनाउनु रहेको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिने विभिन्न कार्यक्रममा मोदी सहभागी हुनेछन् ।

‘म बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरमा पूजा-अर्चना गर्नको लागि उत्सुक छु । लाखौं भारतीयले जस्तै भगवान बुद्धको पवित्र जन्मस्थलमा श्रद्धा अर्पण गर्ने अवसर पाउँदा सम्मानित महसुस गरेको छु,’ मोदीले भनेका छन् ।

वक्तव्यमा उनले गत महिना प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणको पनि स्मरण गरेका छन् । प्रधानमन्त्री देउवासँग भेट्न आफू उत्सुक रहेको उल्लेख गरेका छन् ।

यस्तो छ भ्रमणको तयारी

मोदीको ११ सदस्यीय भ्रमण टोलीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तवलगायत हुनेछन् ।

प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौंस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ ।

भोलि नै दुवै देशबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

मोदी लुम्बिनी आउने भएपछि केही दिनअघिबाट लुम्बिनीमा उच्च सुरक्षा सर्तकर्ता अपनाइएको छ । तीन तहको उनको सुरक्षा घेरामा भारतीय सुरक्षा अधिकारीले पहिलो र दोस्रो सुरक्षा हेर्नेछन् ।

यसका लागि केही दिनअघि नै भारतीय सुरक्षाकर्मी लुम्बिनी आइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर