गठबन्धन उम्मेदवारलाई कांग्रेसको कम भोट जाँदा उपमेयरमा एमालेलाई बोनस ! – Nepal Press

गठबन्धन उम्मेदवारलाई कांग्रेसको कम भोट जाँदा उपमेयरमा एमालेलाई बोनस !

इटहरी । २०७४ सालको चुनावमा नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा ठूलो मतान्तरका साथ मेयर र उपमेयर जितेको थियो । यसपटक कांग्रेस गठबन्धन गरेर चुनावमा होमिएको छ ।

प्रदेश १ को राजधानी एवं एकमात्र महानगर विराटनगरमा गठबन्धनबीचबाट एमालेको इन्ट्री हुने सम्भावनाबारे कमैले सोचेका होलान् । तर, सोचेभन्दा उल्टो हुने स्थिति आएको छ ।

मेयरमा कांग्रेसका नागेश कोइराला एमालेका प्रतिस्पर्धी सागर थापाभन्दा फराकिलो अन्तरले अग्रता लिइरहेका छन् । तर, उपमेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार एवं जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई पछि पार्दै एमालेकी शिल्पा कार्कीले अग्रता लिएकी छन् ।

जारी मतगणनाअनुसार कांग्रेसका नागेशले २५८३ र थापाले १९९० मत पाएका छन् । उपमेयरमा शिल्पाले १२९२ मत पाउँदा सत्ता गठबन्धनका अमरेन्द्रले ८८७ मत ल्याएका छन् । यहाँ गठबन्धनका मेयर र उपमेयरको मतान्तर १७ सय हाराहारी छ ।

एक्लाएक्लै लड्दा पनि हारेको एमालेले सत्तारुढ पाँच दलले गठबन्धन गर्दा विराटनगरको उपमेयर जित्ने सम्भावना बढाउनु राजनीतिक बोनस पाउनु हो ।

काठमाडौं उपत्यकाको ललितपुर महानगरको गणित पनि उस्तै छ । यहाँ पनि अघिल्लो चुनावमा मेयर र उपमेयर दुवैमा कांग्रेस एक्लैले जितेको थियो । यसपटक सत्तारुढ दलहरुको गठबन्धनमा चुनावमा जाँदा कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिइरहेका छन् ।

उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले पछ्याइरहेका छन् । तर, उपमेयर उम्मेदवारमा गठबन्धनबाट माओवादीका बाबुराजा बज्राचार्य एमालेका मन्जली शाक्य बज्राचार्यभन्दा धेरै पछाडि छन् ।

जारी मत गणनाअनुसार मेयरमा चिरिबाबुले ८७७ मत ल्याउँदा व्यन्जनकारले ४०२ मत पाएका छन् । उपमेयरमा बाबुराजाले २६७ मत ल्याउँदा मन्जलीले ४४४ पाएकी छन् । मत संख्याअनुसार गठबन्धनका मेयर र उपमेयरको मतमा धेरै अन्तर देखिएको छ ।

ललितपुरमा पनि एमालेले एक्लै लड्दा जित्न नसकेको उपमेयर गठबन्धनलाई पछि पार्दै जित्ने सम्भावना देखाएको छ ।

हेटौंडा, बुटवल र इटहरी: कांग्रेस अगाडि, गठबन्धन घटक पछाडि

तीन उपमहानगरहरु इटहरी, हेटौंडा र बुटवलको दृश्य पनि रोचक छ । एमालेले सेटै जितेको इटहरीमा अहिलेसम्मको मतगणनाअनुसार कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पौडेल अगाडि छन् । उनले एमालेका याम सुब्बाभन्दा पाँच सय बढी मतान्तरले अगाडि छन् । उपमेयरमा कांग्रेससँगको तालमेलमा नेकपा एसका केशव विष्ट एमालेकी संगीता चौधरीभन्दा चार सय बढी मतले पछाडि छन् ।

जारी मतगणनाअनुसार मेयरमा पौडेलले २५४१ मत पाएका छन् । सुब्बाको १९६० आएको छ । उपमेयरमा विष्टको १६३२ मत हुँदा चौधरीको २१०७ पुगेको छ । यहाँ गठबन्धनमा मेयरले पाएको मतभन्दा उपमेयरको मत ८ सय कम हो ।

हेटौंडाको मेयरमा गठबन्धनबाट नेकपा एसकी मीनाकुमारी लामा केही मतले अगाडि छिन् । उनलाई एमालेका अनन्तप्रसाद पौडेलले पछ्याइरहेका छन् । तर, उपमेयरमा कांग्रेसका राजेश बानिया एमालेकी सुमित्रा काफ्लेभन्दा धेरै अगाडि छन् ।

मेयरमा लामाले १९६५ मत पाउँदा पौडेलले १८८३ ल्याएका छन् । उपमेयरमा बानियाले २९७१ मत ल्याउँदा काफ्लेले २३९९ पाएकी छिन् । यहाँ पनि गठबन्धनका मेयर र उपमेयरको मतान्तर एक हजारभन्दा धेरै छ ।

बुटबलको मेयरमा गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डेयले एमालेका बाबुराम भट्टराईभन्दा दोब्बर बढी मत ल्याएका छन् । जारी मत गणनाअनुसार पाण्डेयले २२१४ मत ल्याउँदा भट्टराईले १३१२ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट नेकपा एसका चीनबहादुर गुरुङले भन्दा धेरै मत एमालेकी सावित्रीदेवी अर्यालले ल्याएकी छिन् । गुरुङको १२८१ मत आउँदा अर्यालको १४८२ मत आएको छ । बुटबलमा गठबन्धनका मेयर र उपमेयरको मत अन्तर झन्डै एक हजार छ ।

अपवादमा धरान : गठबन्धनको कांग्रेसभन्दा माओवादीको बढी मत

प्रदेश १ को विराटनगर महानगर र इटहरी उपमहानगरको भन्दा भिन्न मतको ट्रेन्ड देखिएको छ अर्को उपमहानगर धरानमा । धरानको मेयरमा कांग्रेसका किशोर राईले भन्दा धेरै मत उपमेयरमा गठबन्धनबाट माओवादीका आइन्द्रविक्रम बेघाको आएको छ ।

जारी मतगणनाअनुसार धरानको मेयरमा किशोर राईले १४८९ मत ल्याएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०२८ मतसहित पछ्याइरहेका छन् । एमालेकी मञ्जु भन्डारी ७८९ मतसहित तेस्रो स्थानमा छिन् ।

उपमेयरमा गठबन्धनबाट माओवादीका बेघाले १६०३ मत ल्याउँदा एमालेका पदम लिम्बूले ९३४ मत पाएका छन् । धरानमा माओवादी र कांग्रेसको गठबन्धन रहेको छ । जहाँ गठबन्धनका मेयरले भन्दा उपमेयरले झन्डै दुई सय बढी मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर