आइतबारको बिदा आजदेखि लागूः यसै वर्ष १२९ दिन छुट्टी (सूचीसहित) – Nepal Press

आइतबारको बिदा आजदेखि लागूः यसै वर्ष १२९ दिन छुट्टी (सूचीसहित)

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ ।

सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष ९१ दिन त सार्वजनिक बिदा रहेको छ । यसमाथि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएपछि छुट्टीको दिन बढेको छ । ३६५ दिनमध्ये यस वर्ष ४४ दिन आइतबार परेको छ ।

सार्वजनिक बिदा परेको दिन घटाउँदा यसवर्ष ४८ दिन शनिबारको बिदा हुनेछ । सार्वजनिक बिदा परेको दिन घटाउँदा ४४ दिन आइतबारको बिदा र थप ३७ दिन सार्वजनिक बिदा हुनेछ ।

बैशाखमा ५ शनिबार र बाँकी सार्वजनिक बिदा गरेर ८ दिन बिदा गइसकेको छ । सार्वजनिक बिदामा १ गते नयाँ वर्ष, १८ गते मजदुर दिवस र २० गते इद पर्व रहेका थिए ।

हप्ताको दुई दिन बिदा लागू भएसँगै जेठको सुरुवातीमै लगातार दुई दिन बिदा भएको छ । जसमा जेठ १ गते आइतबार नयाँ लागू भएको आइतबारे बिदा र २ गते बुद्ध जयन्तीको बिदा रहेको छ ।

जेठमा चार दिन शनिबार र पाँच दिन आइतबार रहेका छन् । १५ गते आइतबार परे पनि गणतन्त्र दिवसको पनि बिदा परेको छ । यसले एक दिन भए पनि बिदा कटौती भएको छ ।

त्यस्तै असारमा शनिबार र आइतबार नौ दिन परेका छन् । असारमा अरु कुनै पनि पर्व र सार्वजनिक बिदा परेका छैनन् । साउनमा शनिबार र आइतबार नौ दिन र २७ गते जनै पूर्णिमा गरेर १० दिन सार्वजनिक बिदा हुनेछन् ।

भदौमा शनिबार र आइतबार आठ दिन र दुई दिन सार्वजनिक बिदा परेका छन् । भदौमा ३ देखि ५ गतेसम्म लगातार तीन दिन बिदा रहेको छ । ३ गते शुक्रबार श्रीकृष्णजन्माष्टमी, ४ गते शनिबार र ५ गते आइतबार परेको छ । त्यस्तै १४ गते हरितालिका तीजको बिदा हुनेछ । १८ गते गौरा पर्वसँगै शनिबार परेकाले एक दिन बिदा कटौती भयो ।

दसैं परेकाे असोजमा १८ दिन बिदा

असोजमा १८ दिन बिदा परेको छ । जसमा आइतबार र शनिबार १० दिन परेका छन् । बाँकी ७ दिन दसैं र र एक दिन ३ गते संविधान दिवसको बिदा हुनेछ । महिनाको सुरुमै तीन दिन लगातार बिदा हुनेछ । १ गते शनिबार, २ गते आइतबार र ३ गते संविधान दिवस परेको छ ।

बीचमा पनि ८, ९ र १० गते तीन बिदा हुनेछ । जसमा ८ गते शनिबार, ९ गते आइतबार र १० गते दसैंको घटस्थापना परेको छ । असोजको १६ गते फूलपाती परेको छ । तर, १५ गते शनिबार भएकाले १५ देखि नै दसैंको बिदा सुरु हुनेछ । त्यस्तै दसैंलगत्तै २२ र २३ गते शनिबार र आइतबार परेका छन् । जसले असोजमा लगातार ९ दिन बिदा हुनेछ ।

असोजपछि कात्तिकमा सबैभन्दा बढी १३ दिन बिदा हुनेछ । जसमा शनिबार र आइतबार आठ दिन र पाँच दिन तिहारको बिदा रहेको छ । कात्तिक ७ गते सोमबार लक्ष्मी पूजा परेको छ । यसअघि ५ गते शनिबार र ६ गते आइतबार परेका छन् । तिहार बिदाको भोलिपल्ट १२ गते शनिबार र १३ गते आइतबार एवं छठ पर्व परेको छ । यसबाट एक दिन बिदा लम्बिन पाएन ।

मंसिरमा शनिबार र आइतबार ८ दिन परेका छन् । मंसिर २२ गते उधौली पर्व अर्थात योमरी पुन्हि एवं धान्य पूर्णिमाका बिदा हुनेछ । पुसमा शनिबार र आइतबार ९ दिन बिदा हुनेछ । माघमा ९ दिन शनिबार र आइतबारको बिदा हुँदा एक दिन बसन्त पञ्चमीको बिदा थपिनेछ । १ गते माघे संक्रान्तिसँगै आइतबार परेकाले एक दिन बिदा बचेको छ ।

फागुनमा शनिबार र आइतबारको ८ दिन बिदा हुनेछ । एक दिन ग्याल्पो लोछार, दुई दिन फागु पर्व र एक दिन नारी दिवस गरेर फागुनमा ११ दिन बिदा हुनेछ । फागुन ६ गते महाशिवरात्री पर्व परेको छ । तर, उक्त दिन शनिबार परेको छ । प्रजातन्त्र दिवस मनाइने फागुन ७ आइतबार पर्दा दुई दिन बिदा जोगिएको छ ।

यस्तै चैतमा शनिबार र आइतबार आठ दिन तथा एक दिन घोडे जात्रा गरेर ९ दिन बिदा हुनेछ ।


प्रतिक्रिया

2 thoughts on “आइतबारको बिदा आजदेखि लागूः यसै वर्ष १२९ दिन छुट्टी (सूचीसहित)

Leave a Reply to prem pun Cancel reply

Your email address will not be published. Required fields are marked *