ज्योतिषशास्त्रअनुसार साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हाले बालेनले (भिडिओ) – Nepal Press

ज्योतिषशास्त्रअनुसार साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हाले बालेनले (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले ज्योतिष शास्त्र अनुसार साइत हेरेर भोट हालेका छन् ।

उनले हेरेको साइत अनुसार ११ बजेर ३ मिनेटमा भोट खसाएको बताए ।

बालेनले काठमाडौंको वडा नम्बर ९ स्थित गैरिगाँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट भोट खसाएका हुन् ।

भोट खसाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफ्नो जित निश्चित रहेको दावी गरे ।

बालेनले आफू ज्योतिषशास्त्रमा विश्वास राख्ने भएकाले साइत हेरेर मतदान गरेको स्वीकार गरे ।

उनले भने, ‘ज्योतिष शास्त्र पनि विज्ञान हो । म यसमा विश्वास गर्छु । म इन्जिनियरसँगै एस्ट्रोलोजीको पनि विद्यार्थी भएकाले साइत हेरेर ११ बजेर ३ मिनेटमा भोट हालेको हुँ ।’

बालेनले पार्टी नहेरि उम्मेदवार हेरेर भोट खसाएको जानकारी दिए ।

‘सबै उम्मेदवारहरु हेरेर फरक फरक चिन्हमा मत खसाएकाले अलिकति टाइम लाग्यो’ उनले भने ।

उनले यसअघि एकपटक मात्रै मतदान गरेको अनुभव रहेको बताए । यसपालीको मतदानमा धेरै फरक अनुभव संगालेको उनको भनाइ छ ।

‘म रातारात उम्मेदवार बनेको होइन । ग्राजुयल्ली भएको हो । हरेक दिन नयाँ नयाँ अनुभव भइरहेको छ । रमाइलो पनि लागेको छ । सबै बुथमा गइरहेका छौं,’ उनले भने ।

ज्योतिष शास्त्र अनुसार तपाईं हार्नुहुन्छ कि जित्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्न उनले जवाफ दिए–शतप्रतिशत जित्छु ।

तस्बिरहरू : गाैरव पाैडेल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर