प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, १८ प्रतिशत मात्र उत्तीर्ण (कुन प्रदेशमा कति ?) – Nepal Press

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, १८ प्रतिशत मात्र उत्तीर्ण (कुन प्रदेशमा कति ?)

आगामी असार १३ गते विषयगत परीक्षा सञ्चालन हुने

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह (तृतीय श्रेणी) शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले चैत १९ गते १३ हजार २ सय ९७ रिक्त पदका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा एक लाख दुई हजार ६ सय ५८ सहभागी मध्ये १८ प्रतिशत अर्थात् १९ हजार तीन सय ८५ जना मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश एकमा २१ हजार चार सय ६६ जना सहभागीमध्ये १९ प्रतिशत अर्थात् चार हजार दुई सय ४७ जना, मधेस प्रदेशमा १० हजार एक सय नौ जना सहभागी मध्ये सबैभन्दा कम नौ प्रतिशत अर्थात् नौ सय ५२ जना, बागमती प्रदेशमा १७ हजार दुई सय २३ जनामध्ये २१ प्रतिशत अर्थात् तीन हजार सात सय ८९ जना उत्तीर्ण भएका छन् ।

यस्तै गण्डकी प्रदेश १५ हजार सात सय ९७ सहभागीमध्ये सबैभन्दा धेरै २२ प्रतिशत अर्थात् तीन हजार ६ सय ६ जना, लुम्बिनी प्रदेशमा १६ हजार नौ सय ९६ जना मध्ये २० प्रतिशत अर्थात् तीन हजार चार सय ६८ जना, कर्णाली प्रदेशमा आठ हजार दुई सय २१ जनामध्ये १४ प्रतिशत अर्थात् एक हजार एक सय ९१ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार आठ सय ४६ जनामध्ये १६ प्रतिशत अर्थात् दुई हजार एक सय ३२ जना उत्तीर्ण भएका छन् ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले अगामी जेठ ६ गतेसम्म दुई सय ५० रुपैयाँ शुल्क तिरेर आवेदन दिन सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार प्राथमिक तह (तृतीय श्रेणी) को विषयगत परीक्षा असार १३ गते सञ्चालन हुनेछ । परीक्षा बिहान आठ बजेदेखि सञ्चालन हुनेछ ।

जसमा प्रदेश एकको मोरङमा, मधेस प्रदेशको धनुषामा, बागमती प्रदेशको मकवानपुरमा, गण्डकी प्रदेशको कास्कीमा, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा सञ्चालन हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर