भरतपुरमा प्रचण्डसहित मन्त्रीहरुको दलबल, गठवन्धनको उम्मेदवारी खारेज गर्न एमालेको माग (भिडिओ) – Nepal Press

भरतपुरमा प्रचण्डसहित मन्त्रीहरुको दलबल, गठवन्धनको उम्मेदवारी खारेज गर्न एमालेको माग (भिडिओ)

काठमाडौं । स्थानीय चुनावको अघिल्लो दिन भरतपुर महानगरपालिकामा सत्ता गठवन्धनको व्यापक चहलपहल देखिएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ३ जना मन्त्रीहरु भरतपुरमा मतदाता प्रभावित बनाउने गरी घुमफिर गरिरहेका छन् ।

सिंगै देशको ध्यान तानेको भरतपुरको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाल भिड्दैछिन् । सत्ता गठवन्धनकी उम्मेदवार भएकाले उनको बलियो दावेदारी छ । तर, यहाँ कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

छोरीलाई चुनाव जिताउन लागिपरेका प्रचण्ड हिजो भरतपुर आएका हुन् । उनले भोलि यहीँबाट मतदान पनि गर्दैछन् । आज गाडीमा सवार भएर उनी महानगरका विभिन्न स्थानमा पुगेका छन् । यस्तै मन्त्रीहरु किसान श्रेष्ठ, उमा रेग्मी र उमेश श्रेष्ठ पनि भरपुरमा छन् । प्रचण्ड र मन्त्रीहरुले मौन अवधिमा मतदाताहरुलाई प्रभावित बनाउन चलखेल गरिरहेको एमालेले आरोप लगाएको छ ।

एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरपुर र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
‘राज्यको उच्च तहमा रहेका व्यक्तिहरुबाट नै यस प्रकारका कार्य हुनुले निर्वाचन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मौन अवधिको समयमा प्रचण्ड र मन्त्रीहरुले निर्वाचन आचारसंहिताको परवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग जर्दै आम मतदाताको घर-घरमा पुगेको एमालेको आरोप छ । मन्त्रीद्वय किसान श्रेष्ठ र उमेश श्रेष्ठले आर्थिक चलखेल समेत गरेको सूचना आएको भन्दै विज्ञप्तिमा आवश्यक छानविनका लागि माग गरिएको छ ।


प्रतिक्रिया

One thought on “भरतपुरमा प्रचण्डसहित मन्त्रीहरुको दलबल, गठवन्धनको उम्मेदवारी खारेज गर्न एमालेको माग (भिडिओ)

  1. सचेत जनता जिन्दावाद। विवेकको प्रयोग गरौँ। अराजकता र अपृय केही नहोस। जय नेकपा एमाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर