१९५ मिलियन डलरमा बिक्याे अमेरिकी अभिनेत्री मुनराेकाे पेन्टिङ – Nepal Press

१९५ मिलियन डलरमा बिक्याे अमेरिकी अभिनेत्री मुनराेकाे पेन्टिङ

न्यूयोर्क । अमेरिकी अभिनेत्री मर्लिन मुनरोको पेन्टिङ १९५ मिलियन डलरमा बिक्री भएको छ । यो पेन्टिङ न्यूयोर्कको लिलामीमा अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको हो ।

पेन्टर एन्डी वारहोलले अभिनेत्री मुनराेको मृत्यु भएको दुई वर्षपछि सन् १९६४ मा यो पेन्टिङ बनाएका थिए । लिलामीबाट प्राप्त रकम अनाथहरूलाई सहयोग गरिनेछ ।

मुनरोको पेन्टिङको नाम ‘शट सेज ब्लू मर्लिन’ हो । यो कलाकृति म्यानहट्टनस्थित क्रिस्टीको मुख्यालयमा चार मिनेटमा १९५ मिलियन डलरमा बिकेकाे हाे । बिक्रीसँगै यो चित्र २० औं शताब्दीको सबैभन्दा महंगो कलाकृतिमा दरिएको छ । तर, चित्र किन्ने व्यक्तिको परिचय भने खुल्न सकेको छैन । लिलामीकर्ताले सोमबार राति यो कलाकृति अज्ञात खरिदकर्ताले किनेको बताए ।

तस्विरको बिक्रीबाट प्राप्त रकम थोमस एण्ड डोरिस अम्मान फाउन्डेसन जुरिचमा पठाइनेछ । यस फाउन्डेसनले पेन्टिङ बिक्रीबाट आएकाे सहयोग रकम अनाथ बालबालिकाकाे स्वास्थ्य सेवा, शिक्षा प्रदान गर्न खर्चनेछ ।

क्रिस्टीका अनुसार बिक्री हुनुअघि यो तस्बिरको मूल्य करिब २० करोड डलर हुने अनुमान गरिएको थियो । योभन्दा अलि कममा बिक्री भए पनि यसले २०औं शताब्दीको अघिल्लो रेकर्ड तोड्ने थियाे ।

यसअघि यो कीर्तिमान पाब्लो पिकासोको ‘वुमन अफ अल्जियर्स’ को नाममा थियो । जुन सन् २०१५ मा १७९.४ मिलियन डलरभन्दा बढीमा बिक्री भएको थियो।

मर्लिन मुनरो को हुन् ?

मर्लिन मुनरोको जन्म सन् १९२६ मा लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो । मर्लिन एक अमेरिकी अभिनेत्री र मोडेल थिइन् । उनले तीनपटक विवाह गरेकी थिइन् । उनको पहिलो विवाह १६ वर्षको उमेरमा भएको थियो।

मुनरोको नाम अमेरिकी राष्ट्रपति जोन अफ केनेडीदेखि गायक फ्रान्क सिनात्रा र बेसबल खेलाडी जो डिम्यागियोसँग जोडिएको छ । उनको सन् १९६२ मा ड्रग ओभरडोजको कारण मृत्यु भएकाे थियो । कतिपयले यसलाई हत्या पनि भनेका छन् । तर, आजसम्म मर्लिनको मृत्यु रहस्यमय बन्दै आएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *