ढकारी गाउँपालिका : ‘एक वडा, एक एम्बुलेन्स’ संचालन गर्ने नेकपा (एकीकृत समाजवादी)को प्रतिवद्धता – Nepal Press

ढकारी गाउँपालिका : ‘एक वडा, एक एम्बुलेन्स’ संचालन गर्ने नेकपा (एकीकृत समाजवादी)को प्रतिवद्धता

अछाम । नेकपा (एकीकृत समाजवादी) ढकारी गाउँपालिकाका उम्मेदवारले जितेको पहिलो वर्षमै ‘एक वडा, एक एम्बुलेन्स’ कार्यक्रम संचालन गर्ने महत्वाकांक्षी योजना अघि सारेका छन् । त्यस कार्यक्रममार्फत प्रत्येक वडामा एउटा–एउटा एम्बुलेन्स सञ्चालन गरिने छ ।

वडा नम्बर ६ ढुंगाचाल्नाका वडाध्यक्षका उम्मेदवर प्रकाश थापाका अनुसार निर्वाचनको पहिलो वर्षमै वडा नम्बर ६ मा एम्बुलेन्स सेवा सुरु गरिसक्ने योजना छ । त्यसपछि क्रमिक रुपमा सम्पूर्ण वडामा जतिसक्दो छिटो एम्बुलेन्स सेवा सुरु गरेर सुत्केरी, बृद्धबृद्धा तथा अन्य सबै खालका बिरामीलाई तत्काल उपचारको पहुचमा पुग्ने वातावरण तयार गरिने उनले बताए ।

अहिले गाउँपालिकाका प्रत्येक वडा र यहाँका टोलमा सर्वसुलभ उपचार सेवा नहुँदा बिशेषगरी सुत्केरी र दिर्घरोगीले बढी सास्ती भोग्नु परेकाले आफुहरुले जितेको पहिलो वर्षबाटै प्रत्येक वडासम्म औषधी उपचारको अवस्था मजबुत बनाउनुका साथै चौबिसै घण्टा एम्बुलेन्स सेवा संचालन गर्ने गरी बचन दिएर मतदातासँग भोट मागिरहेको वडाध्यक्षका उम्मेदवार थापाले बताए । वितेको पाँच वर्षमा एम्बुलेन्स त परको कुरा वडाका टोलबाट बिरामी बोक्न स्ट्रेचरसमेत उपलब्ध नहुँदा सर्वसाधारणहले सास्ती भोगिरहेका उनको भनाई छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सुरु गरिएको जेष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता लिन बैंकमा कुर्नुपर्ने बाध्यताको अन्त्य गरि सम्बन्धित व्यक्तिलाई घरमै पुर्याउने ब्यवस्था मिलाउने नेकपा (एकीकृत समाजवादी)का तर्फबाट ढकारी गाउँपालिकाका अध्यक्षका उम्मेदवार शेरबहादुर बुढाले बताए । उनले ‘एक वडा, एक एम्बुलेन्स’ सँगै ‘एक वडा, एक उद्यम’ कार्यक्रम संचालन गरि स्वदेशमा रहेका र विदेशबाट फर्किएका युवालाई उद्यमशील बनाउन सिपमुलक तालिम दिई उद्यम संचालनका लागि अनुदान रकम उपलब्ध गराउने घोषणासमेत गरेका छन् ।

महिला सशक्तीकरणका लागि उधमशिलतामा जोड दिँदै ‘समान काम, समान ज्याला’ को व्यवस्था गरिने बुढाको प्यानलले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ । सुत्केरी महिला, अन्य बिरामी तथा दुर्घटनामा परि घाइते भएकालाई उपलब्ध एम्बुलेन्समा कुनै समस्या आए तत्काल गाउँपालिका अध्यक्ष चढ्ने गाडीलाईसमेत एम्बुलेन्सका रुपमा प्रयोग गरिने बताउँदै उनले गरिव तथा न्यून आय भएका नागरिकलाई प्रत्येक वडामा संचालन गरिने एम्बुलेन्सको भाडामा छुट गरिने बताए ।

अर्को गरिने नयाँ कार्यक्रममा ‘देउडा, न्याउले खेल जस्ता कला संस्कृतिका बिषय र कोल, जातो, ढिकी, मुसल, जस्ता हराउदै गएका परम्परागत सम्पतिलाई संरक्षण हुनेगरी संग्रहालय तथा पर्यटकीय स्थल र घरबारी बगैचा,’ समाजवादीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ । किसानलाई तरकारी तथा फलफुल, खाद्यान्न बाली, दुधजन्य, मासु तथा माछा पालनमा अनुदान दिएर त्यसलाई समयमा, सहज र सुहलियत भाडादरमा बजार पुर्याउन गाउँपालिकामा कृषि यातायात सेवाको व्यवस्था गर्ने अध्यक्षका उम्मेदवार बुढाले बताए । उनले उत्पादित वस्तुको उचित मूल्य र बजारीकरणको ग्यारेन्टी गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

‘एक वडा, एक कृषि, एक उधम’ कार्यक्रम अन्तर्गत पकेट क्षेत्रका रुपमा प्रत्येक वडामा आधुनिक, प्रविधियुक्त कृषि उधम र किसानलाई अनुदानमा कृषि औजार, उन्नत बीउ विजन तथा पशुपंक्षी, प्राङगारिक–जैविक मल, जलवायु परिवर्तनमैत्री कृषि प्रणाली र अर्गानिक खेतीको विकास गर्नुको साथै कृषि बिमा कार्यक्रम संचालन गरिने छ,’ बुढाको प्यानलले जारी गरेको प्रतिवद्धता पत्रमा भनिएको छ ।

त्यसैगरि अति विपन्न दलित, जेष्ठ नागरिक, सबै खाले दिर्घरोगी, अपाङ्गता तथा गरिव परिवारलाई निःशुल्क औषधी उपचार र हरेक वडामा हरेक महिना स्वास्थ्य परिक्षणसँगै औषधि प्रदान गर्ने योजना पनि नेकपा (एकीकृत समाजवादी) ढकारीले अघि सारेको छ । आफ्नो पार्टीले जिते अहिले सुचारु रहेका राम्रा योजनालाई निरन्तरता दिदै नयाँ र उपलब्धीमुलक कार्यक्रम सुरु गरिने उक्त पार्टीको प्रतिवद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर