ईच्छाकामनाको विकटतालाई विकाससँग जोडेको छु : गीता गुरुङ – Nepal Press

ईच्छाकामनाको विकटतालाई विकाससँग जोडेको छु : गीता गुरुङ

चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिका सुगम जिल्लाको दुर्गम र पहाडी क्षेत्र मानिन्छ ।

यहाँको विकास पछिल्लो पाँच वर्षलाई हेर्दा जनअपेक्षा अनुसार काम भएको पाइन्छ । वि. सं. २०७४ मा भएको स्थानीय तहको निर्वाचन पछि यहाँको विकास र यहाँका बासिन्दाको जीवन शैलीमा नै परिवर्तन आएको देख्न सकिन्छ । बितेको ५ वर्षमा विकटमा विकासको जग हालेको बताउने गुरुङ आफूले गरेका कामको फेहरिस्त यसरी उल्लेख गरेकी छन् ।

पछिल्लो समय यहाँका जनता गाउँपालिकाले गरेको विकाससँग सन्तुष्ट मात्रै छैनन् कि पुनः गाउँपालिका अध्यक्षमा गीता गुरुङ्लाईनै देख्न चाहन्छन् । यो समयमा उहाँ नै पुनः पाँच दलीय गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवारका रूपमा रहनु भएको छ । यो पाँच वर्षमा उहाँले गरेका कामहरू र आउँदो ५ वर्षमा गरिने कामहरू उनकै शब्दमा ।

बि. सं. २०७४ मा भएको स्थानीय तहको निर्वाचन पछि मैले प्रतिबद्धता गरे । त्यस बेला म हरेक जनताको घरमा मतसँगै समस्या मागेर हिँडे । २०७४ को निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्न म हरदम लागे ।

यो पाँच वर्ष म जनताको दुःखसुखमा मात्रै हिँडे । त्यस्तै प्रशासनिक, विकास, सुशासन, भौतिक निर्माण, ऐन कानुन, कार्यक्रम, योजना ल्याएर कार्यान्वयनमा केन्द्रित भए । वडामा गएर त्यहाँका टोल, नागरिक समाज, राजनीतिक दल, हरेक व्यक्तिहरूलाई ‘तपाईँको टोल गाउँ वडामा हिजो यो थियो आज यतिसम्म गर्न सक्यौँ’ भनेर जानकारी गराए ।

हिजोको अवस्था र आजको अवस्थामा धेरै परिवर्तन आएको छ । केही गर्छ नै भनेर जिताउनुभएको हो नि । यहाँ चेपाङ, दलित तथा विपन्न वर्गहरू धेरै रहनुभएको छ । काम गर्न कठिन नै छ भन्ने थियो तर, पदभार ग्रहणपछि म जनताको सेवक हुँ भन्ने मन्त्रलाई मनमा राखेर योजना, कार्यक्रम, चुनावमा जनतासँग गरेको प्रतिबद्धता, जनताको आवश्यकता ठानेर सोही अनुसार कार्यक्रम, योजना, बजेट बनाउन, बजेटको आकार बढाउन, आन्तरिक आय वृद्धिमा निरन्तर लागिरहे र प्रतिफलस्वरुपः जनप्रतिनिधिहरूको सक्रियताले आज घण्टौँ हिँडेर आवतजावत गर्नुपर्ने गाउँ गाउँमा मोटर बाटो पुर्‍याउन सकेका छौँ ।

हरेक टोल सडक सञ्जालबाट जोडिएको छ । एक वडाबाट अर्को वडा जान सडक छ । हरेक ठाउँमा खानेपानीको व्यवस्थापन भएको छ । शिक्षामा तीव्र प्रगति देखिएको छ । कृषिमा व्यवसायीकरण गरिएको छ, आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै सुन्तला खेती लगायतलाई प्रोत्साहन गर्न सकिएको छ । यहाँ रहेका पर्यटकीय क्षेत्रलाई एकीकृत गरी संरक्षण र विकासमा लागिरहेका छौँ । यी लगायतका कार्यहरू हेर्दा आफू जनप्रतिनिधि हुने जुन अवसर पाइयो, चुनौतीपूर्ण ठाउँलाई पनि एउटा परिवर्तन बनाएर लैजान सक्दा आफूलाई अहिले भाग्यमानी नै ठानेको छु ।

किसानले आफ्नो उत्पादन समयमै बजारसम्म ल्याउन सक्ने वातावरण वनेको छ । हिजोको कथा भने जस्तै गरी इच्छाकामनालाई चिनाउनुपर्ने बाध्यता थियो । तर अहिले जनप्रतिनिधि आउनु पूर्व कथा जस्तै भनेर चिनाउनुपर्ने ठाउँहरूलाई सहजै पुगेर आँखाले हेर्न, हातले छोएर अवलोकन गर्न सक्ने बनाएका छौँ । हिजोको विकटतालाई स्थानीय तहको निर्वाचनमा मेरो नेतृत्वमा आएको जनप्रतिनिधिहरूले निकटतामा ल्याएर एकदमै परिवर्तन गरेका छौँ ।

आज धेरै सहजता भएको छ । तर अझै गर्न बाँकी छ । नेपालको संविधान २०७२ ले सृजना गरेको ऐतिहासिक मौका थियो । अवसरलाई स्थापित गराउन म निकै लागिपरेँ । त्यसपछि समाजले पनि बुझ्न थालेकी गीता कुमारी गुरुङले काम गर्न सक्छ । चुनौतीपूर्ण भए पनि त्यसरी आउने प्रश्नलाई मैले एकदम सहर्ष खुसीसाथ स्वीकार गरेर सबै भ्रमलाई चिर्न सफल भएँ । अहिले गाउँपालिकामा कुनै आर्थिक अनियमितता, भ्रष्टाचार भयो भन्ने लगायत कुनै गुनासो आउन दिएको छैन ।

जनप्रतिनिधि भनेको ग्राँसरुटदेखि यहाँको भूगोल, जनता, समुदाय, उनीहरूको चाहना, आवश्यकता सबै पहिचान गर्न सक्ने व्यक्ति हुन्छ । महिला भए पनि आफूले कहिल्यै कमजोर ठानिन । जनताको आवश्यकता र चाहना अनुरूप कामहरू अझै गर्न बाँकी छ । त्यति मात्रै होइन,आफ्नो पनि गाउँपालिकाको समृद्धिका लागि एउटा देखेको सपनाहरू बाँकी छन् । केही अधुरा छन् । पाँच वर्षसम्म अनुभव गरेका, हिँडेर देखेका गाउँहरूको आवश्यकता कतिपय अझै पनि पूरा गर्न नसकेका योजनाहरू बाँकी छन् । ती योजना पूरा गर्न जनताले खोजिरहेका छन् । जनताको सेवक भएर पुनः आउने र उनीहरूको आवश्यकता अनुसार काम गर्न तयार भएकाले पुन अध्यक्षमा आउने अवसरलाई नकार्न सकिँदैन । किन पनि भने म समाजसेवामै समर्पित हुन रुचाउने महिला हुँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर